कविता : छारकाप्रो
शनिबार, २८ साउन २०७९, ०६ : २२
ऊ यस्तो राम्रो कलाकार
ऊ उस्तो राम्रो कलाकार
वाह, वाह, क्या माझिएको अभिनय
प्रशंसा गर्नेहरुको भीडमा म पनि थिएँ
नाटक उसले मञ्चन गरिरह्यो
दर्शकलाई नित्य मनोरञ्जन दिइरह्यो
दर्शक घटेनन्, बरु दिनदिनै बढिरहे
सम्मोहन जालमा परेझैं मानिस
उसको कलामा मन्त्रमुग्ध भैरहे
बोली नै मीठो उसको
वचन र भाषण झनै मीठो
चिनीभन्दा गुलियो बनेर
ऊ सबैको स्वादमा बस्न सफल भयो
समयको गतिमा पनि
बोली र अभिनयमा पनि कुनै फरक आएन
तर व्यवहार फेरिन थाल्यो
उसका रहरहरु झ्याँगिन थाले
पेट फुलेर दमाहा बन्न लाग्यो
बंगला, गाडी, पैसा र शक्ति
अब, यी शव्द नै उसलाई
सानो लाग्न थाल्यो
अब उसले आफूलाई
राजनीतिकै केन्द्र ठान्न थाल्यो
विगतका वाचा, विचार
र, कसमहरु बिर्सिन थाल्यो ।
तरहरा, सुनसरी