जुन राम्रो कि म ?
शनिबार, २८ साउन २०७९, ०८ : ०२
जुनेली रातमा
एकपटक जुनलाई हेरें
एकपटक उनलाई हेरें
जुन गम्भीर भयो
उनी चकित भइन्
मैले हेरिरहे
जुन मुस्कुरायो
उनी पनि मुस्कुराइन्
मलाई त
जुन भन्दा
उनै राम्रो लाग्यो ।
हेर्दाहेर्दै
बादल आयो
पखेटा फिजायो
जुनलाई गाली गर्दै
घुम्टो ओडायो
निस्पट्ट अँध्यारो बनायो
मसँग रिसायो
अनि,
पानी बर्सायो
मलाई रुझायो
उनी पनि रुझिन्
झगडा गर्दै
बादल फाट्यो
टाढा गयो
जुनले चिहायो
उनले पनि चिहाइन्
एकपटक जुनलाई हेरे
एकपटक उनलाई हेरे
मलाई त
जुन भन्दा
रुझेकी उनै मन पर्यो ।
रात ढल्दै गयो
तारा झर्दै गए
जुन टाढा हुँदै थियो
उनी नजिक हुँदै थिइन्
जुनले हात हल्लायो
उनी सामुन्ने आइन्
साउती लगाइन्
छेउमै बसिन्
अङ्गालोमा कसिन्
अनि सोधिन्
भन त
जुन राम्रो कि म ?
मलाई त
जुनभन्दा
उनै राम्रो लाग्यो ।
उनै राम्रो लाग्यो ।।