फेरि चुनाव आउँदै छ
टाउको भन्दा भारी सिंगरुपी ऋण बोकेर
देख्नेलाई देखाऊन् सुन्नेलाई सुनाऊन्
विकास अनि योजनाको दरबन्दी खुल्ला गर्दै
आआफ्नै मान्छेको
स्वार्थपूर्ति गर्न र गराउन
मेला लगाइँदै छ चुनावको
रंगीन घोषणापत्र भरी
बहुरुपी रंगीविरंगी सपनाको खाका कोर्दै
सुन्दर सपनाको राजमार्गहरुमा
काल्पनिक कोरा विकासको
मर्सिडिच र पजेरो मोटरगाडी गुडाउँदै
एक हुल ठिटाहरु
वाद र तन्त्रको नारा लाउँदै
गल्ली र टोल टोलमा रुमल्नेछ
अर्को हुल ठिटाहरुको लर्को
मन दुखाई दुखाई
मुटु र कलेजोको छेउमा
रहरले गाँसेको पिरतीको
चोखोमाया जतनले साँचेर
अरुको देशको सस्तो श्रमबजारहरुमा
खोरमा पालेको भेंडा र बाख्रासरि
विक्री हुन
तँछाड मछाड गर्दै
हवाई अड्डाको बाटो हुँदै
चिलगाडीमा चीलजस्तै उडेर
टाढा टाढा जाँदैछ
एक झोला कोरा सपनाहरूको
आशाको तरेलीमा डुबेर
फेरि चुनाव आउँदैछ ।
थुप्रै खोरको खसी र पोल्ट्रीको भालेले
आफ्ना प्रियजनको पर्वाह नगरी
मन दुखाई दुखाई
चुनावको नाउँमा
बेखुसीले जीवन बलिदान दिनेवाला छ
डिस्टिलरीको साहु महाजन
मनग्गे मुनाफा हुने कुराको ग्यारेन्टीले
खुशीले गदगद हुने नै छ ।
पार्किङ्गमा धेरै दिनदेखि थन्किएको
दुई पांग्रे र चार पांग्रे मोटर गाडीहरु
यो पार्टी र त्यो पार्टीको झण्डा फहराउँदै
लेकबेशी सहरबजार मज्जाले हुँइकिनेछ
चुनाव पछाडि सतप्रतिसत
अन्जान अपरिचित हुने
पदाधिकारीहरु
गाउँघरको दैलोदैलोमा
शिर झुकाउँदै खोक्रो आशा बाँड्दै
गज्जबको रौनक छाउनेवाला छ
पन्चेबाजा र ब्याण्डबाजाको साथ
बस्ती गाउँ अनि सहरहरुका
गल्ली र गल्छेडाहरुमा
नक्कली मुकुण्डो लाएको
नक्कली मान्छेहरु
नक्कली कुरा गरेर
फेरि एक पटक झुक्याउने छ ।
पाँचखाल, काभ्रे