सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘संगीत संगत’को पहिलो श्रृंखलामा डेढ दर्जन नारीको संयुक्त वृन्दवादन

बिहीबार, ०२ भदौ २०७९, १८ : ४१
बिहीबार, ०२ भदौ २०७९

राजधानीमा शास्त्रीय सङ्गीतको मासिक शृङ्खला ‘प्रज्ञा पाठशाला सङ्गीत सङ्गत’ सुरु गरिएको छ । प्रत्येक महिना आयोजना गर्नेगरी सुरू भएको यस कार्यक्रमको पहिलो श्रृङ्खला मंगलबार थापागाउँस्थित पाठशाला नेपालको मदनकृष्ण श्रेष्ठ नाट्यशालामा सम्पन्न भयो । 

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा पाठशाला नेपालसँगको सहकार्यमा आयोजित कार्यक्रमको शुभारम्भ गर्दै प्रतिष्ठानको शास्त्रीय तथा परम्परागत सङ्गीत विभाग प्रमुख प्राज्ञ धीरेन्द्र प्रेमर्षिले भने, ‘शास्त्रीय सङ्गीतज्ञहरूमा आफ्नो ज्ञान र अभ्यासका माध्यमबाट समग्र नेपाली सङ्गीतलाई आलोकित एवम् उत्कृष्ट बनाउने उत्कट चाहना छ । यसकै परिणामस्वरूप स्रोतसाधनको नगण्य उपलब्धतामा पनि यस क्षेत्रमा ‘सङ्गीत सङ्गत’ जस्तो केही उदाहरणीय कार्य गर्न सकिएको छ ।’

सो अवसरमा पाठशाला नेपालका अध्यक्ष तथा कवि अर्जुन पराजुलीले मनमस्तिष्कलाई आनन्दको अटल गहिराइमा पुर्याउने शास्त्रीय सङ्गीत सम्बन्धि कार्यक्रममा सहकार्य गर्न पाएकोमा प्रसन्नता व्यक्त गरे । नेपाल शास्त्रीय सङ्गीत समाजका महासचिव गोकुल लिम्बूले शास्त्रीय सङ्गीतबारे पूर्वाधार तयारीसम्बन्धि काममा प्रतिष्ठानले गरेका कार्यहरूको जगमा उभिएर भविष्यमा महत्त्वपूर्ण कार्यहरू गर्न सकिने विश्वास व्यक्त गरे ।

पहिलो कार्यक्रमको भव्यता डेढ दर्जन नारी सङ्गीतकर्मी तथा सङ्गीतज्ञहरूद्वारा सामूहिक रूपमा प्रस्तुत वृन्दवादन रहेको थियो । यसमा १२ वर्षीया नूर श्रेष्ठको इसराजवादनदेखि ७२ वर्षीया वीणा केसी प्रधानको गायन सम्मको प्रस्तुति रहेको थियो । राग मधुवन्तीबाट सुरू भई हिमाल, पहाड, काठमाडौँ उपत्यका र तराईको मिथिला क्षेत्रका लोकधुन हुँदै राग भैरवीबाट सम्पन्न भएको लोकशास्त्रीय आर्केस्ट्रामा यी दुई कलाकारका साथै सरिता मिश्र, सीता भण्डारी र मञ्जु सुनारले तबला वादन थियो ।

त्यस्तै, सुशीला अमात्य, वीना श्रेष्ठ, पद्मा तुलाधर, अमृतहीरा योगी, डा अञ्जु उप्रेती र कृति बनियाँले सितारवादन, रूपा न्यौपानेले सरोदवादन, रोशनी क्षेत्रीले बेला वादन, यजु आचार्य र रोजिना डङ्गोलले बाँसुरीवादन तथा कल्पना पराजुली र मोना पोखरेलले तानपुरावादन गरेका थिए। कार्यक्रमको दोस्रो प्रस्तुतिमा अच्युतराम भण्डारी सङ्गीत प्रतिष्ठानका कलाकारहरूबाट वृन्दवादन गरिएको थियो । वरिष्ठ तबलावादक अच्युतराम भण्डारी स्वयं सहभागी भएको प्रस्तुतिमा उनका भाइ परशुराम भण्डारीले सारङ्गीमा, अर्का भाइ डा निरञ्जन भण्डारीले बाँसुरीमा र भाञ्जा रामकुमार अर्यालले सितारमा सङ्गत गरेका थिए । भण्डारीलाई उनकी छोरी तथा प्रतिष्ठानकी अध्यक्ष सीता भण्डारीले तबलामा साथ दिएकी थिइन् ।

वाद्यवादनको प्रस्तुतिपछि कवि एवं पाठशाला नेपालका संस्थापक डा रामप्रसाद ज्ञवालीले करिब एक घन्टाको प्रस्तुत सुनेर आफू मन्त्रमुग्ध भएको तथा मनमा भएका सारा विकार फालिएको अनुभूति भएको विचार राखे । कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन) ले प्रतिष्ठान शास्त्रीय सङ्गीतज्ञ तथा यससँग सम्बद्ध संस्थाको सहयोग लिएर नेपालमै सङ्गीतसम्बन्धि उच्चस्तरको औपचारिक प्रशिक्षण दिलाउने अभियानमा लागेको जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप