नवलपरासीको जनता उमावि मतदान केन्द्रमा मतदाता भोट नै हाल्न गएनन्, २ भोट मात्रै खस्यो
नवलपरासी– नवलपरासीको सरावल गाउँपालिकाको बडा नम्बर ६ स्थित जनतामावि मतदान केन्द्रमा जम्मा दुई जनाले मात्रै मतदान गरेका छन् ।
सो मतदान केन्द्रमा ५ सय २ मतदाता रहेको भएपनि दिउँसो पौने २ बजेसम्म जम्मा दुई जनाले मात्रै मत खसालेको निर्वाचन अधिकृत लीलाधर शर्माले जानकारी दिए ।
साविकको हुजहवा गाविस बडा नम्बर दुईका उनीहरुले गाविसका अरु वडालाई सरावल गाउँपालिका बडा नम्बर ७ मा राखेर आफूहरुलाई भने बडा नम्बर ६ मा राखेको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए । सोहि असन्तुष्टिको कारण उनीहरु मत खसाल्न नगएको नवलपरासीका पत्रकार हुसेन अन्सारीले बताए ।
बडा नम्बर ६ मा जम्मा ३४६५ मतदाता रहेका छन् भने जनता उमावि मतदान केन्द्रमा जम्मा २ भोट मात्रै खसेको हो । ५०२ मध्ये ४४१ जनाले मतदाता परिचय पत्र लगेको भएपनि असन्तुष्टिका कारण भोट हाल्न नगएको हुन् । मतदान अधिकृत शर्माले समय अझैं बाँकी रहेकाले स्थानीय भोट हाल्न आउने विश्वास व्यक्त गरे । यद्यपी बडा नम्बर ६ अन्तर्गतका अरु मतदान केन्द्रमा भने उल्लेख्य मतदाता मत खसाल्न पुगेका छन् ।
बडा नम्बर ६ बाट एमालेका रघुराज केवट, कांग्रेस छोटेलाल गुप्ता, माओवादी पारसनाथ गुप्तालगायतको उम्मेदवारी परेको छ ।