मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

दाहाल यज्ञनिधि पुरस्कारद्वारा महावीर पुन सम्मानित

आइतबार, ०५ भदौ २०७९, ११ : १३
आइतबार, ०५ भदौ २०७९

दाहाल यज्ञनिधि पुरस्कार राष्ट्रिय अविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई प्रदान गरिएको छ । दाहाल यज्ञनिधिको चौथो स्मृति दिवसको अवसर पारेर राजधानीस्थित राष्ट्रिय नाचघरमा शनिबार आयोजित एक कार्यक्रमा कार्यक्रमका प्रमुख अतिथि भैरव रिसालले सो पुरस्कार प्रदान गरेका हुन् । 

प्रमुख अतिथि भैरव रिसालले दाहाल यज्ञनिधिको नाममा स्थापना भएको पुरस्कार पहिलो पटक आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई प्रदान गर्न पाउँदा खुशी लागेको बताए । कार्यक्रममा सम्मानित व्यक्तित्व महावीर पुनको सङ्घर्ष र जीवनबारे संस्थाका उपाध्यक्ष डा. रमेश शुभेच्छुले धारणा राखेका थिए ।

साहित्यकार तथा सञ्चारकर्मी ‘जदौ’ दाहाल यज्ञनिधिको नाममा स्थापना भएको सो पुरस्कारको राशि एक लाख ५० हजार रहेको छ । ‘दाहाल यज्ञनिधि सुधा सदन’ नामक संस्था यसै वर्ष काठमाडौँ जिल्ला प्रशासनमा दर्ता भएको हो । दाहाल यज्ञनिधिकी धर्मपत्नी एवं संस्थाकी अध्यक्ष सुधा दाहाल (आचार्य)ले संस्थाको नाममा ५१ लाख रूपैयाँको अक्षयकोषमा स्थापना गरेकी हुन् । सोही अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट हरेक वर्ष एक जना विशिष्ट व्यक्तित्वलाई सम्मान गरिने संस्थाका सचिव ठाकुर बेल्बासेले जानकारी दिए । 

सम्मानपछि महावीर पुनले आफूले लिएको पुरस्कार आविष्कार केन्द्रलाई हस्तान्तरण गर्ने घोषणा गरे । “मैले व्यक्तिगत रूपमा सम्मान ग्रहण गर्दा धेरैलाई अन्याय हुन्छ,” उनले भने, “मैले मेरो नाममा कुनै पुरस्कार र सम्मान नदिनु, दिने भए राष्ट्रिय आविष्कार केन्द्रलाई दिनु भनेको छु । मैले पुरस्कार लिए पनि यो सम्मान आविष्कार केन्द्रका भाइबहिनीलाई जानेछ ।”

उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित ‘दाहाल यज्ञनिधिका कविता’ कृति पनि विमोचन गरिएको छ । उक्त कृति देवकुमारी लुइँटेल ‘देवु’को सङ्कलन तथा सम्पादनमा प्रकाशित भएको हो । विमोचित कृतिमाथि नेपाल प्रज्ञा प्रतिष्ठानका साहित्य (पद्य/काव्य) विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले समीक्षात्मक मन्तव्य राखेका थिए । कार्यक्रममा लोचन भट्टराई र देवकुमारी लुइँटेलले दाहाल यज्ञनिधिका कविता वाचन गरे । साहित्यकार डा. तुलसी भट्टराईले दाहाल यज्ञनिधिको व्यक्तित्व र प्रवृत्तिबारे चर्चा गरे । 

संस्थाको अक्षयकोषको ब्याजबाट दाहालका कृति प्रकाशन, स्मृतिग्रन्थ प्रकाशन, शिक्षा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने विशिष्ट प्रतिभालाई सम्मान गरिने छ । संस्थाले दाहाल यज्ञनिधिले लामो समय शिक्षण गरेको दरबार हाइस्कुलमा अध्ययनरत कक्षा ८ का छात्रछात्रामध्ये नेपाली विषयमा उत्कृष्ट अङ्क ल्याउने एक छात्र र एक छात्रालाई २० हजार राशिको पुरस्कार प्रत्येक वर्ष संयुक्त रूपमा प्रदान गर्ने घोषणा पनि गरेको छ । आगामी वर्षदेखि उक्त पुरस्कार प्रदान गरिने जनाइएको छ । 

वि.सं. २०१० साल साउन ८ गते खोटाङमा जन्मिएका नेपाली साहित्य र पत्रकारिता क्षेत्रका विशिष्ट प्रतिभा दाहाल यज्ञनिधिको २०७५ साउन २५ गते निधन भएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप