आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फिनल्यान्डमा बहस: के प्रधानमन्त्रीसँग पार्टी गर्ने अधिकार छ ?

मङ्गलबार, ०७ भदौ २०७९, १० : १३
मङ्गलबार, ०७ भदौ २०७९

फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिन एक निजी पार्टीमा उनका साथीहरूसँग निस्फिक्री नाचिरहेकी भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा भाइरल भयो । उनको देशका कयौँ मानिसले प्रधानमन्त्रीको यो भिडियालाई रमाइलो मानेर शेयर गरे । तर सँगसँगै भिडियो सार्वजनिक भएपछि फिनल्यान्डभित्र नयाँ बहस सुरु भएको छ : देशको प्रधानमन्त्रीले कुन तहसम्म खुसी मनाउन उपयुक्त हुन्छ, विशेषतः छिमेकी रुसले युक्रेनमाथि आक्रमण गरेको स्थितिमा ? र अन्तर्राष्ट्रिय भूराजनीतिमा लामो समयदेखि तटस्थ नीति अङ्गालेको फिनल्यान्डले (छिमेकी स्वीडेनसँगै) नेटोको सदस्यताको लागि प्रस्ताव गरेको समयमा प्रधानमन्त्री थप गम्भीर हुन आवश्यक छ कि छैन ? 

मध्य–वामपन्थी विचारधाराको सोसल डेमोक्रेटिक पार्टीकी नेतृ मरिनले अहिले उनी सहभागी पार्टीलाई लिएर कयौँ प्रश्नको सामना गरिरहेकी छन् । के उनी सहभागी पार्टीमा ड्रग्स प्रयोग गरिएको थियो ? सहभागीले रक्सी पो पिएका थिए कि ? मरिनले पार्टी गर्दा बिदामा थिइन् कि काममै थिइन् ? सो समय कुनै आपत्कालीन स्थिति उत्पन्न भएको भए प्रधानमन्त्रीले त्यसलाई सम्हाल्न सक्ने स्थितिमा थिइन् की थिइनन् ? 

प्रधानमन्त्री सहभागी पार्टीमै रहेका कुनै व्यक्तिले खिचिरहेको बुझिने भिडियो अघिल्लो साताको भएको उनले बताएकी छन् । तथापि उनले पार्टी कहाँ र कहिले भएको भने खुलाएकी छैनन् । त्यसबाहेक आफू र आफ्ना साथीहरू उन्मुक्त र चर्को रूपमा रमाइलो गरेको र पार्टीमा रक्सी प्रयोग भएको भने उनले स्वीकारेकी छन् । तर उनले आफूलाई थाहा हुने गरी पार्टीमा ड्रग्स प्रयोग नभएको दाबी गरेकी छन् । प्रधानमन्त्रीले पार्टीमा ड्रग्स सेवन गरेको विषय धेरै उठेपछि शुक्रबार उनले ‘ड्रग्स टेस्ट’ गराइन् । 

‘सन् २०२२ मा आइपुगिसकेको स्थितिमा आम मानिसले नीति निर्माताहरू पनि नाच्छन्, गाउँछन् र पार्टी गर्छन् भन्ने कुरामा अनौठो मान्दैनन् भन्ने आसा गर्छु । यी भिडियो बाहिर ल्याउनका लागि खिचिएका थिएनन् तर अब बाहिरिइसकेपछि यसबारे निर्णय गर्ने अधिकार आम मतदातामा छ,’ प्रधानमन्त्री मरिनले पत्रकारहरूसँगको कुराकानीमा भनिन् । विवाहित सानाको चार वर्षकी छोरी पनि छिन् । मरिनले विगतमा फिनल्यान्डको प्रधानमन्त्री भए पनि साथीभाइ र परिवारसँग रहँदा उनको उमेरका अन्य व्यक्ति जसरी रमाइलो गर्छन्, आफू पनि त्यसरी नै रमाउने बताएकी छन् ।  

फिनल्यान्डका नागरिकहरूको धारणा भने यस प्रकरणमा विभाजित देखिन्छ । मार्केटिङ क्षेत्रमा कार्यरत जोसुआ फगेरहोमले यस घटनाले अन्तर्राष्ट्रिय जगतमा फिनल्यान्डको प्रतिष्ठामा आघात पुर्‍याउने बताए । साथै उनले यस्ता हर्कतले राजनीतिज्ञप्रति रहेको आम विश्वास र आदरको भावना पनि घट्ने बताए । ‘राजनीतिज्ञहरू सम्मानजनक व्यवहार गर्ने र जनताको विश्वास जित्नेमा केन्द्रित हुनुपर्छ । त्यस हिसाबले पछिल्लो प्रकरण मलाई राम्रो लागेको छैन,’ फगेरहोमले भने । 

तर हेलसिन्कीकी विद्यार्थी मिन्टु किलिएनेन भने फगेरहोमको विचारसँग सहमत छैनन् । उनी लिक भएको भिडियोले अनावश्यक रूपमा बढी चर्चा भइरहेको ठान्छिन् । ‘पार्टी गर्नु एकदम सामान्य कुरा हो । उनले पनि जीवनमा रमाइलो गर्न पाउनुपर्छ,’ किलिएनेनले भनिन् ।

प्रधानमन्त्रीका समर्थकहरूमध्ये केहीले सानाविरुद्धको आलोचनामा यौनिक विभेदको गन्ध आएको आरोप लगाएका छन् । मरिन सन् २०१९ मा ३४ वर्षको उमेरमा फिनल्यान्डको इतिहासको सबैभन्दा कम उमेरकी प्रधानमन्त्री बनेकी थिइन् । मरिन आफैलाई भने उनको लिङ्ग र उमेर जहाँ पनि उठाएको मन पर्दैन । सन् २०२० मा भोग म्यागजिनसँगको कुराकानीमा उनले भनेकी थिइन्, ‘म हालसम्म रहेको हरेक पदमा गफको सुरुवात म कम उमेरकी महिला भएको भन्नेबाट सुरु हुन्थ्यो ।’

फिनल्यान्डको युनिर्भसिटी अफ टोर्कुकीमा लैङ्गिक अध्ययनकी प्राध्यापक अनु कोईभोनेनलाई भने प्रधानमन्त्री सान्ना मरिनको भिडियो बाहिरिएपछि उत्पन्न पछिल्लो विवादमा लिङ्ग निर्णयक विषय भएकोजस्तो लाग्दैन । उनका अनुसार पार्टी गर्नु आफैमा ठूलो मुद्दा थिएन तर भिडियो बाहिरिएपछि प्रधानमन्त्रीको संगत कस्ता मानिससँग छ भन्ने कुराले उनको निर्णय क्षमतामाथि प्रश्न उठाएको छ । ‘उनले आफूलाई त्यस्ताहरुको संगतबाट बचाउन सकिनन् जसले उनलाई पूर्ण विश्वास गर्न स्थिति देखिएन । अहिले यही नै मुख्य मुद्दा हो ,’ प्राध्यापक कोईभोनेनले भनिन् । 

फिनल्यान्डको कन्जरभेटिभ नेसनल कोलिसन पार्टीकी क्षेत्रीय राजनीतिज्ञ तथा साइबर–सुरक्षा विज्ञ जर्नो लिमनेलले सुरक्षाको दृष्टिकोणले मरिनको पार्टी उचित नरहेको बताए । उनका अनुसार फिनल्यान्डका शीर्ष नेताहरू विदेशी सुरक्षा निकायको चासोमा रहने भएकाले तिनले सतर्कता अपनाउनुपर्ने बताए । ‘सूचनाहरू विभिन्न स्रोतहरूबाट सङ्कलन गरिन्छ र एकदम सामान्यजस्तो लाग्ने सूचना पनि विदेशी शक्तिको लागि महत्त्वपूर्ण हुनसक्छ । नेटोको अनुमोदन प्रक्रिया चलिरहेका समयमा शीर्ष नेताहरू मिहिन निगरानीमा हुन सक्छन्,’ लिमनेलले फिनिस पत्रिका हेलसिन्गिन सानोमाटसँगको कुराकानीमा भने । 

प्रधानमन्त्री मरिनको पार्टी स्वभाव समाचार बनेको यो पहिलो पटक भने होइन । गत डिसेम्बरमा उनी कोभिड–१९ सङ्क्रमितको सम्पर्कमा आएकाले सामाजिक गतिविधिबाट टाढै रहन सुझाव दिइएको एसएमएस पठाएपछि पनि बिहान ४ बजेसम्म क्लबमा रमाइरहेका समाचार बाहिरिएको थियो । त्यस समय उनको कार्यको विरोध भएको थियो । मरिनले उनको कार्यको बचाउ गर्ने क्रममा आफ्नो फोन घरमै छुटेकाले म्यासेज हेर्न नपाएको बताएकी थिइन् । पछि गरिएको कोरोना परीक्षणमा उनमा कोरोना नेगेटिभ देखिएको थियो । 

फिनल्यान्डजस्तो प्रगतिशील समाजका लागि समेत मरिनको क्रियाकलाप अफ–बिट लाग्छ । उनी विभिन्न अवसरमा आम राजनीतिज्ञभन्दा फरक पहिरनमा देखिन्छिन् । एकल आमाले हुर्काइएकी मरिनको आधुनिक शैलीप्रति धेरै फिनिस जनता गर्व गर्छन्, विशेषतः उनी औपचारिक कार्यक्रममा समेत अनौपचारिक पहिरन लगाएर पुगेको देखिन्छिन् । गत अप्रिलमा मरिन उनकी स्वीडिस समकक्षीसँगको पत्रकार सम्मेलनमा बाइकरले लगाउने कालो लेदर ज्याकेट लगाएर पुगेकी थिइन् । उनका सो पहिरनले सामाजिक सञ्जालमा निक्कै प्रशंसा पाएको थियो । 

मरिनको क्याबिनेटमा अधिकांश सदस्य महिला र युवा छन् । मरिन र उनको सरकारले कोभिड–१९ महामारीको लडाइँमा गरेको कुशल  नेतृत्व र नेटोको सदस्यताको लागि आवेदन दिने प्रक्रियामा अपनाएको तदारुकताको देशभित्र र बाहिर प्रशंसा भइरहेको छ । ‘हाम्रो प्रधानमन्त्री अद्भुत छिन् । उनले कठिन समयमा जटिल जिम्मेवारी सम्हालिन् र त्यसलाई उत्कृष्ट रुपमा निभाइन् । त्यस अर्थमा फुर्सदको समयमा उनले गर्ने कार्य हाम्रो सरोकारको विषय होइन,’ हेलसिन्कीमा अवकाश जीवन बिताइरहेकी जोरी कोर्कम्यानले भनिन् । 

अल–जजिराबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप