सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बैंकको जागिर छाडेर व्यवसायमार्फत् ३ सय बढीलाई रोजगारी

मङ्गलबार, ०७ भदौ २०७९, १३ : ५३
मङ्गलबार, ०७ भदौ २०७९

विदेशीका आधुनिक उत्पादनहरुसँग प्रतिस्पर्धा गर्दै स्वदेशमै वस्तु उत्पादन र बजारीकरण गर्नु सामान्य होइन । त्यसमाथि पनि हजारौंको भीडमा आफ्नो उत्पादनलाई अब्बल सावित गराउनु र त्यसलाई ब्राण्डको रुपमा विकसित गर्नु झन् कठिन काम हो । यस्तोमा फर्निवर्ल्ड प्रालिले यी दुबै कार्य गर्दै आइरहेको छ ।

विगत एक दशकदेखि फर्निचर क्षेत्रमा काम गर्दै आएको फर्निवर्ल्ड जनमानसमा परिचित भएको छ । करिव ३ सय जनालाई प्रत्यक्ष रोजगारी दिएको फर्निवर्ल्डले अप्रत्यक्षमा रुपमा हजारौंलाई काम दिएको सिइओ लोकराज पाण्डेय बताउँछन् । 

नेपाल एसबिआई बैंकको आकर्षक जागिर त्यागेर फर्निवर्ल्ड प्रालिको नेतृत्व हाँकिरहेका युवा पाण्डेय त्यसको मुख्य लगानीकर्तामध्ये एक हुन् । ‘फर्निचर भनेकै फर्निवर्ल्ड’ अर्थात् फर्निवर्ल्डका प्रोडक्टहरु बनाउने अभियानमा छन् सिइओ पाण्डे । त्यसका लागि उनी सेलिबे्रटी बैंकर अनिल शाहले भनेजस्तो दिनरात पसिना बगाउँछन्, बुद्धि खियाउँछन् र लगानीको बीउ रोप्छन् ।

२ बर्ष भन्दा बढी अवधिको कोरोना कालमा समेत पाण्डेय आत्तिएनन् । उनका विगतका अनुभवहरुले पनि उनलाई परिपक्व बनायो । कोरोनाकालको दुःख–सुख सुनाउँदै सिइओ पाण्डेय भन्छन् ‘कोरोनाकालले पीडा मात्रै  दिएको छैन, धेरै ठुलो शिक्षा र धैर्यता समेत दिएको छ ।’ 

फर्निवर्ल्डमा हालसम्म ४० करोड बढीको लगानी छ । सो लगानीबाट बार्षिक करिव ४ गुणा बढीको कारोबार हुने सिइओ पाण्डेय बताउँछन् । वानेश्वर, सामाखुशी, मैतीदेवी लगायत ४ वटा सोरुम छन् । ललितपुरको लामाटारमा १४ रोपनीमा फयाक्ट्री रहेको छ । भन्छन्, ‘भर्खरै हामीले वानेश्वरमा पनि २ रोपनी जग्गा लिएर नयाँ फयाक्ट्री सञ्चालनमा ल्याएका छौ ।’ व्यापार गर्नु मात्रै आफूहरुको उद्देश्य नभएको उनको भनाइ छ । 

पाण्डेयका अनुसार फर्निचर उद्योग नेपालको सापेक्षतामा उदयीमान उद्योग हो । यसमा खास गरी आयातले धेरै हिस्सा लिइरहेको छ । विदेशीहरुले ‘नेपाल बेस क्लालिटी’ दिने गर्छन् । काठमाडौं उपत्यकामा आफै उत्पादन गर्ने, गुणस्तरीय सामान दिने र आफै सम्पूर्ण काम गर्ने फर्निवर्ल्ड मात्र रहेको पाण्डेयको जिकिर छ ।

आफूहरुले एकदमै क्यालिटी फोकस गरेर, गुणस्तर र अफ्टर सेल्स दुबै पक्षलाई ध्यान दिएर सामान बजारमा ल्याएको उनी बताउँछन् । भन्छन्, ‘राम्रो सामान दिने र कसैको घरमा कुनै समस्या पर्यो भने तुरुन्तै विक्री पछिको सेवा दिने काम थाल्यौ । त्यो गर्दै जाँदा मान्छेहरुसँग कनेक्टिभी बढ्दै गयो, यसले फर्निचर व्यापार राम्रो भयो । त्यसमा अत्यन्तै विश्वास बढेर गयो । मान्छेलाई घरमै डेकोरेशन गर्नुपर्ने, डिजाइन गर्नुपर्ने, ससाना समस्या जस्तो लाइट लगायतको समस्या भेट्यौ ।’

पाण्डेय थप्छन्, ‘हामीलाई ठुलो एउटा स्कोप इन्टेरियरको देखियो । विगत ५ वर्षदेखि इन्टेरियर डिजाइनिङको अलग सेल हामीले बनायौं । अहिले हामी दुइ लाइनमा काम गरिरहेका छौ । एउटा इन्टेरियर सर्भिस दिने । त्यो भनेको प्रोजेक्टमा आधारित काम हो ।’

लोकराज पाण्डेय

उनी भन्छन् ‘अर्को एउटा कलेजको, हस्पिटलको कुनै प्रोजेक्ट लिने । त्यसमा हामी लाइट, एसी, टायल, मार्बल, गे्रन हाइट, युपिभिसी, झ्याल ढोका, किचेन, रेष्टरुमको टायल, रेलिङहरु सबै काम गर्छौ ।’ आफना सर्भिस अहिले प्रोजेक्टमा आधारित हुँदै गएको उनले सुनाए । 

कसैलाई फर्निचर मात्रै नबेचेर टायल, मार्बल, एसी सबैको सेवा चाहियो भने फर्निवल्डको टेक्निकल टीमले पुरै काम गरेर ‘हयान्डओभर’ गर्छ । अर्को कसैलाई प्रोडक्ट मात्रै चाहियो भने सामान विक्रीका लागि सोरुम छ । 

पाण्डेयको विचारमा नेपालमा पmर्निचर मात्रै ८–९ सय करोडको आयात हुन थालेको छ । काठमै निर्भर भएर काम गर्नुभन्दा काठको विकल्पमा पनि जानुपर्ने उनका तर्क छ । त्यसको लागि प्रविधि चाहिने र प्रविधिगत रुपमा गर्न सकियो भने विश्वलाई हेर्नु नपर्ने उनी बताउँछन् ।

पाण्डेयका विचारमा फर्निवल्डले गर्न खोजेको ब्राण्डिङ हो । चाउचाउमा वाइवाइ भनेजस्तो फर्निचरमा फर्निवर्ल्ड बनाउने सपना हो । भन्छन्, ‘फर्निवल्डको फर्निचर राम्रो हो, गुणस्तरीय हो, आधुनिक हो भन्ने बनाउन हामी लागेका छौ ।’ 

यसरी बैंकको आकर्षक जागिर त्यागेर उद्यमी बनेका लोकराज पाण्डे सयौंलाई रोजगारी दिएर देशमै केही गर्न सकिन्छ, देशलाई आत्मनिर्भर बनाउने काममा पनि लाग्नुपर्छ भन्ने सन्देश छरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप