सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

के मानिसभन्दा बौद्धिक प्राणी सम्भव छ ?

बुधबार, ०८ भदौ २०७९, १५ : २७
बुधबार, ०८ भदौ २०७९

केही दिन अघि मैले सामाजिक सञ्जाल फेसबुकमा कठोर निर्णयको मोडमा केही कुरा लेखेपछि थुपै्र साथीहरुको प्र्रतिक्रिया प्राप्त भएको छ । यो लेख त्यसैमा केन्द्रीत छ । 

कतिपयको चिन्ता मैले पार्टी छोड्न लागेको हो कि भन्ने देखियो । पार्टीमा लाग्नु कुनै डकैती काम नभएकोले रातारात अनायासै पार्टी छोड्ने कुरा मेरो कल्पना भन्दा बाहिरको कुरा भयो । कोही पनि मान्छे पार्टीमा सहभागी हुने भनेको पार्टीको दर्शन, विचार, सिद्धान्त, राजनीति, संगठन, कार्यशैलीको कारण हो । आधारभूत रुपमा सहमत भएर नै पार्टीमा रहन्छ र रहनुपर्दछ । 

मेरो सवाल फरक हो । कोरोनाकाल यता म अलि बृहद् ढंगले सोचिरहेको छु । यो पृथ्वीमा रहेका सर्वोत्तम मस्तिष्कले कसरी सोचिरहेका छन् ? दर्शन, विज्ञान, अर्थशास्त्र, इतिहास, राजनीति लगायतका म ती सामग्री खोजिरहेको छु । 

मानव जातिको इतिहासमा ज्ञान यति बृहत् र साझा गरिएको यस अघि कहिल्यै थिएन । मानव जिज्ञासु प्राणी हो । यसले अन्नत प्रश्न गर्दछ र उत्तरसमेत खोज्दछ । हामी कम्युनिष्टहरु साँचो अर्थमा कम्युनिष्ट भइरहने हो भने वा योग्य मान्छे हुने हो भने कुनै अहंकार र जड्ता नपालिकन मानव जातिले आर्जन गरेका सर्वोच्च ज्ञानले लैस हुनै पर्दछ । मेरो कठोर निर्णय यही होः ज्ञानको भोक र अनन्त खोज । 

हाम्रो घरलाई स्यालपानीको घर भन्छन् । जगतिपुर गाउँ, भेरी नगर पालिका–११, जाजरकोट । कर्णाली प्रदेशको नेपाल देशमा पर्ने यो क्षेत्रको बिस्तार हेर्दै जाने हो भने महादेश एशिया । गोलाद्र्ध दक्षिण । ग्रह पृथ्वी । मध्यम स्तरको ताराको सौर्य प्रणाली । तारापुञ्ज आकाशगंगा । अवलोकन योग्य ब्रह्माण्ड र अनुमान योग्य बहुब्रह्माण्डहरु । यसरी विस्तार हुन्छ, हाम्रो कहानी र हाम्रो परिचय । सानोबाट ठूलो तिर । 

सत्यको खोज सुरुमा बेवास्ता गरिन्छ, विचमा संशयकोे दृष्टिले हेरिन्छ र अन्ततः स्वीकार गरिन्छ । सत्यको खोजको लागि आत्माकेन्द्रीत व्यक्तिवादविरुद्ध आफैभित्र लड्न सक्नु पर्दछ । मेरो कठोर निर्णय आफै विरुद्धको निर्णय हो ।

म यहाँ केही शीर्षकमा छलफल गर्नेछु, जुन आजको मानव जातिले मुख्य सवालको रुपमा बहस गरिरहेको छ ।

१. ब्रह्माण्ड 

हजारौंँ वर्षदेखि ब्रह्माण्डको उत्पत्ति बारेमा मानव जातिले बहस गर्दै आइरहेको छ । हामीले ब्रह्माण्ड अर्थात् प्रकृतिको नियमहरु किन जान्नु पर्दछ ? आफ्नो हितमा प्रयोग गर्न । जति गहिराइमा गएर हामीले प्रकृतिका नियम जान्दछौंँ, त्यसरी नै तिनलाई प्रयोग गर्न सक्षम हुन्छौँ । हाम्रो अवलोकनयोग्य ब्रह्माण्डको बारेमा सृष्टिकालीन, सदाकालीन र महाविस्फोटवाला गरी तीनथरी मत छन् । 

सृष्टिकालीन मतका अनुसार भगवान्ले ब्रह्माण्डको सृष्टि गरेको भन्दछ । तर यस मतले भगवान्ले कहिले, किन सृष्टि गरे ? सृष्टि गर्नुअघि भगवान्को पेशा के थियो ? भगवानका आमाबुवा थिए वा थिएनन् भन्दैन । थिएनन् भने भगवान्को सृष्टि कसले गर्यो ? उहाँले किन बीच बीचमा नष्ट गर्नुहुन्छ, त्यो पनि भन्दैन । 

सदाकालीन मतका अनुसार यो ब्रह्माण्डकोसृष्टि कसैले गरेको होइन । न त यसको कसैले अन्त नै गर्नेछ । बरु सदाकालदेखि यो ब्रह्माण्ड यस्तै थियो र यस्तै रहनेछ । भौतिकवादकोे एउटा शाखाले यसै मतसँग आफ्नो साइनो गाँसेको छ ।

महाविस्फोटवाला मत अन्तर्गतको दृष्टिकोणअनुसार लगभग तेह्र अर्ब असी करोड वर्षअघि अत्यन्तै संघनीत सुक्ष्मतम् वस्तुबाट यो ब्रह्माण्डको सृष्टि भएको हो । त्यससँगै पदार्थ, उर्जा, समय र स्थानको उत्पत्ति भएको हो । 

अर्को शब्दमा, ब्रह्माण्ड बन्नको लागि तीनवटा वस्तु चाहिन्छ, पदार्थ, उर्जा र स्थान । विख्यात वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले पदार्थ उर्जामा र उर्जा पदार्थमा रुपान्तरण हुन्छ भन्ने पुष्टि गरे । अब हामी भन्न सक्छौँ कि ब्रह्माण्ड बन्नको लागि उर्जा र स्थान चाहिन्छ ।

महाविस्फोट भएको समयलाई जिरो सेकेन्ड मान्ने हो भने त्यसको एकको पछाडि माइनस छत्तिस शून्य सेकेण्डमा ब्रह्माण्डको तापक्रम सात खर्ब डिग्री सेन्टिगे्रड थियो । महाविस्फोट भएको एक सेकेण्डपछि तापक्रम दश अर्ब डिग्रीमा झर्यो भने सय सेकेण्डपछि एक अर्ब डिग्रीमा झर्यो । त्यतिबेला ब्रह्माण्डको विस्तारको गति प्रकाशको भन्दा पनि तीव्र थियो । त्यस यता ब्रह्माण्ड निरन्तर विस्तार हुँदै गइरहेको छ र निरन्तर चिसो हुँदै गइरहेको छ ।

आजकाल महाविस्फोटको सिद्धान्त वैज्ञानिकहरुका बीचमा सर्वस्वीकृत सिद्धान्त बन्न गएको छ ।

२. जीवको उत्पत्ति 

 प्रकृतिको सबैभन्दा ठूला रहस्यमध्ये एक हो जीवको उत्पति । अहिलेसम्म हाम्रो ग्रह पृथ्वीमाबाहेक अन्यत्र जीवको अस्तित्व रहेको पत्ता लागेको छैन । हाम्रो सूर्य मध्यम स्तरको तारा हो । यसका वरपर आठवटा ग्रह छन् । यो सूर्य आकाशगंगा तारापुञ्जभित्र पर्दछ । आकाशगंगाभित्र एक सय अर्ब तारा रहेका छन् भनिन्छ । त्यस्ता तारापुञ्जहरुको संख्या पनि एक सय अर्ब छन् । 

अब तारा र ग्रहको औसतमा हेर्दा यो ब्रह्माण्डमा रहेका ग्रहको संख्या दुई अर्ब अनुमान गरिन्छ । हाम्रो पृथ्वी र सौर्यमण्डल साढे चार अर्ब वर्ष पहिले बने । जबकि प्रथम तारा बाह्र अर्ब अठासी करोड वर्ष अघि नै बनिसकेका थिए । हुन सक्छ, केही तारा लोप भएपछि यी नयाँ तारा बनेका होलान् । 

कुनै ग्रहमा हामीभन्दा लाखौँ वा करोडौँ वा अर्बौँ वर्ष अघि विकसित जीव वा सभ्यता हुन सक्दछ । तिनीहरु कस्ता होलान् ? दुई खुट्टाले, तीन खुट्टाले, चार खुट्टाले वा अझ धेरै खुट्टाले हिँड्छन् कि चराजस्तै आकाशमा उड्ने या माछाजस्तै पौडिन्छन् ? तिनीहरु कस्तो भाषा बोल्छन् होला ? तिनीहरुसँग सभ्यता कस्तो होला ? कस्ता खाले प्रविधि प्रयोग गर्दछन् होला ? खानेकुरा के के खान्छन् होला ? 

तिनीहरु उर्जाको रुपमा के के प्रयोग गर्दछन् होला ? हामीजस्तै पन्ध्र करोड किलो मिटर टाढाबाट आएको प्र्रकाशलाई उर्जामा रुपान्तरण गर्दछन् होला वा सिंगो आकाशगंगाको प्रकाशलाई उर्जाको रुपमा प्रयोग गर्दछन् होला ? के तिनीहरुसँग कुनै दिन हाम्रो भेट होला ?

यदि भेट भएमा हामीले एकापसमा कुन भाषामा कुरा गर्ने होला ? दोभासे को होला ? कुटनीतिक मर्यादा कसरी कायम गर्ने होला ? हाम्रो राष्ट्रपति र उसको प्रोटोकल के हुने होला ? कतै ती एलियनहरु हामीभन्दा अति नैविकसित अवस्थामा रहेको र कुरा नमिल्दा हामीहरु पृथ्वी निवासी सबैलाई क्षणभरमै सखाप पार्ने त होइनन् आदि । त्यसैले विख्यात वैज्ञानिक स्टेफन हकिङले सजिलै एलियनहरुसँग सम्पर्क नगर्न भनेका छन् । मानव जातिले समयक्रममा यी प्रश्नको जवाफ फेला पार्नेछ ।

यस ग्रहमा हामी जीवहरु रहनु अनन्त संयोगको श्रृंखला हो । यदि हाम्रो सूर्य अहिले भएको भन्दा बीस प्रतिशत ठूलो वा सानो भएको भए हामी यहाँ हुने थिएनौँ । या हामी धेरै चिसोले कठांग्रिन्थ्याँै वा धेरैतातोले पग्लिन्थ्यौँ । भनिन्छ, अहिले हामी छैठौँ महाविनाशको नजिक छौँ । यस अघि पाँचवटा महाविनाश भइसकेका छन् । अन्तिम महाविनाश करीब छ करोड वर्ष अघि एउटा उल्कापिण्ड पृथ्वीमा ठोक्किदा भएको थियो । जसको कारण पृथ्वीमा भूइचालो आयो, आगलागी भयो, ज्वालामुखी विस्फोट भयो । वर्षाैसम्म आकाश कुहिरोले ढाकिदा बरफ जम्यो र लगभग नब्बे प्रतिशत जीवजन्तु सखाप भए, जसमा डायनोसर पनि पर्दछ ।

 हामीलाई एक सय पच्पन्न वर्ष अघि नै चाल्र्स डार्विनले भनिसकेका छन् कि जीव र वनस्पतिको कोही सृष्टिकर्ता छैन । प्राकृतिक तवरले यसको विकास भएको हो । साढे चार अर्ब वर्षको रहस्यको जवाफ उनले हामीलाई दिएका छन् ।

३. कसरी बन्यो मान्छे ?

पृथ्वी बनेको एक अर्ब वर्षसम्म यहाँ कुनै जीव थिएनन् । त्यसपछि निर्जीव बस्तुबाट एककोषिय जीव बने । दुई अर्ब वर्षसम्म मात्रै एककोषिय जीव रहे । करीब साठी करोड वर्ष अघि बहुकोषिय जीव आए । पचास करोड वर्ष अघि सरिसृप अनि बीस करोड वर्ष अघि स्तनधारीह जीव आए । करिब साठी लाख वर्ष अघि पशु जगत्बाट मान्छे अलग हुने प्रक्रिया सुरु भयो ।

यस पृथ्वीमा अहिलेको मान्छे होमो सेपियन्स जस्तै होमो नियण्डरथल, होमो डेनिसोभन, होमो इरेक्टस लगायत अन्य प्रजातिका मान्छे पनि थिए, जो विभिन्न कालखण्डमा लोप भए । पुरातत्व वैज्ञानिकहरुले रेडियो कार्बन डेटिङमार्फत् भन्न सक्छन् कि लुप्त प्रजातिका भेटिएका हड्डीहरु कति पुराना हुन् ? लगभग तेत्तिस लाख वर्ष अघिदेखि मान्छे ढुंगे युगमा प्रवेश गरेको मानिन्छ ।

मान्छे कसरी मान्छे बन्यो ? यसको जवाफ हामीले सही ढंगले दिन सक्यौँ भने मात्रै मान्छेसँग हामीले सही व्यवहार गर्नेछौँ । चार खुट्टाले हिँड्नुको सट्टा दुई खुट्टाले हिँड्न सुरु गर्यो । जसले मस्तिष्कको विकासमा सहयोग पुर्यायो । औजारको प्रयोग मान्छेको कमालको विशेषता हो । कार्ल मार्क्सले त मान्छेलाई औजार बनाउने पशु भनेका छन् । भाषाको विकास जसले विशाल मात्रामा सहकार्यलाई संभव बनायो र अन्तमा सामूहिकता, जसले यसलाई शक्तिशाली बनायो । अब मान्छे यो पृथ्वी बने यताका पचास अर्ब प्रजातिका प्राणीमध्ये सबैभन्दा शक्तिशाली र सबैभन्दा बौद्धिक प्राणी हुन गयो ।

अब मान्छेलाई आफ्नो बारेमा मात्रै थाहा छैन कि यो पृथ्वीको बनौट, तौल आयुदेखि ब्रह्माण्डको उत्पति, बनौट,आयुको बारेमा भन्न सक्ने भएको छ । अब हामी सजिलै भन्न सक्छौँ कि विस्तारमान् ब्रह्माण्डको अहिलेको परिधि बयानब्बे अर्ब प्रकाश वर्ष छ । प्रकाशले एक वर्षमा पार गरेको दूरीलाई एक प्रकाश वर्ष भनिन्छ । अन्तरिक्षमा दूरीलाई प्रकाश वर्षमा नापिन्छ । पृथ्वीको एक वर्षमा तीन करोड पन्ध्र लाख छत्तिस हजार सेकेण्ड हुन्छ । प्रकाशले एक सेकेण्डमा तीन लाख किलोमिटर दूरी पार गर्दछ अर्थात् पृथ्वीको साढे सात फन्को । एक वर्षमा प्रकाशले चौरानब्बे खर्ब साठी अर्ब असी करोड किलोमिटर दूरी पार गर्दछ ।  

अब अनुमान गरौँ कि बयानब्बे अर्ब वर्षमा कति दूरी पार गर्दछ होला ? आजको दिनमा यो ब्रह्माण्ड त्यति नै ठूलो छ । यो पत्ता लगाउने चेतनशील मान्छेको दिमागी कमाल हो ।

४. मानव मस्तिष्क

मानव जातिले दुई ठूला रहस्यको निरन्तर जवाफ खोजिरहेको छ । ब्रह्माण्ड कसरी बनेको हो र यसले कसरी काम गर्दछ, यसलाई बाहिरी अन्तरिक्ष भनिन्छ । मानव मस्तिष्क कसरी बनेको छ र यसले कसरी काम गर्दछ ? यसलाई भित्री अन्तरिक्ष भनिन्छ । संसारमा अनुसन्धानको क्षेत्रमा खर्च भएको रकमको सबैभन्दा धेरै हिस्सा यिनै दुईवटा शीर्षकले ओगट्दछन् ।

हाम्रो शरीरको मात्रै दुई प्रतिशत भाग ओगट्ने तर शरीरमा खपत हुने उर्जाको बीस प्रतिशत हिस्सा ओगट्ने मस्तिष्कबारे हामीले सही ढंगले जान्न जरुरी छ । हाम्रो मस्तिष्क कसरी बनेको छ र यसले कसरी काम गर्दछ ? हाम्रो मस्तिष्कमा एक खर्ब न्युरोन र तीस खर्ब स्न्याप्स हुन्छन् । मस्तिष्कको हरेक न्युरोनले कसरी काम गर्दछ भन्ने जान्नु जरुरी छ । मस्तिष्कको कुन भागले कुन भागलाई नियन्त्रण गर्दछ भन्ने जान्ने हो भने आधारभूत रुपमा हामी सही समझादारीमा पुग्ने छौँ । 

रेप्टालियन दिमाग जसलाई पुरानो दिमाग पनि भनिन्छ, तीस प्रतिशत भाग ओगट्दछ भने म्यामेलियन दिमाग अथवा न्युओकोर्टेक्स वा नयाँ दिमाग जसले सत्तरी प्रतिशत भाग ओगट्दछ । यही नयाँ दिमाग हो हाम्रो विचार, दर्शन, ज्ञान विज्ञानको कुरा गर्ने बौद्धिक क्षेत्र । हामी कसरी सोच्दछाँै भन्ने जान्न न्युओकोर्टेक्सले कसरी काम गर्दछ भन्ने जान्नु पर्दछ । यसले हजारौँ वर्षदेखिको अस्तित्व र चिन्तनसम्बन्धि बहसको अन्त्य गर्नेछ । हामीले अरुका बारेमा जान्नु अघि आफ्नै दिमागले कसरी काम गर्दछ भन्ने जान्नु पर्दछ । 

४. क्वान्टम भौतिकी 

बीसौँ शताब्दीको सबैभन्दा ठूलो बौद्धिक क्रान्ति भनेर चिनिएको क्वान्टम भौतिकीबारे वैज्ञानिक जगतबाहेक खासै चर्चा हुने गरेको छैन । सापेक्षताको सिद्धान्त जसले कति ठूलो भन्ने स्थुल जगतको अध्ययन गर्दछ । बयानब्बे अर्ब प्रकाश वर्ष टाढाको ब्रह्माण्डसम्मको अध्ययन गर्दछ । क्वान्टम भौतिकीले नानो प्रविधिको आधारमा कति सानो भन्ने सूक्ष्म जगत्को अध्ययन गर्दछ । उपसर्ग नानोले अर्बौँ भागमध्ये एक भागको प्रतिनिधित्व गर्दछ । जस्तै नानोमिटर भनेको एक मिटरको एक अर्ब भागको एक भाग हो । नानोसेकेण्ड भनेको एक सेकेण्डको एक अर्ब भागको एक भाग हो । 

अब हामी अनुमान गर्न सक्छौँ कि हाम्रो डीएनए साढे दुई नानो मिटर मात्रै छ । तुलना गरौँ कि हाम्रो डीएनए भन्दा हामी त्यति ठूला छौँ, जति हामी भन्दा सूर्य ठूलो छ । हाम्रो पृथ्वीभन्दा एकसय आठ गुणा ठूलो । हाम्रो कपाल पचास हजारदेखि एक लाख नानोमिटर हुन्छ रे । हाम्रो हातको नङ प्रतिसेकेण्ड एक नानोमिटर बढ्छ रे । 

नानो ट्युब, नानो पार्टीकल, नानो संरचना, नानो औजार, नानो ग्राम आदि जसले हाम्रो सिंगो सोच्ने तरिका र जीवन पद्धतिलाई अकल्पनीय रुपमा बदलिरहेको छ । अहिलेको डिजिटल क्रान्तिको रहस्य भनेकै क्वान्टम क्रान्ति हो । अनुमान गरौँ कि अहिलेको सुपर कम्प्युटरभन्दा क्वान्टम कम्प्युटर एक अर्ब गुणा शक्तिशाली हुनेछ । नानो प्रविधिकै कारण कुनै दिन हाम्रो मस्तिष्कलाई इन्टरनेटमा जोड्न सकिनेछ । हामीले एक अर्काको दिमाग पढ्न सक्नेछौँ । हिजोको कटुवालेको खबर, हुलाक, आकाशवाणी (आवा) खबर, जमिनी फोन, मोबाइल फोन, इन्टरनेट जडित कपडा र अन्तमा इन्टरनेट जडित मस्तिष्क । 

क्वान्टम भौतिकीले मुख्य गरी तीनवटा क्षेत्रमा क्रान्ति ल्याउँदैछ । एक, नानो प्रविधि, जसको व्याख्या माथि गरिसकिएको छ । दुई, जेनेटिक इञ्जिनियरिङ, जसले साढे चार अर्ब अघिको चाल्र्स डार्विनको सिद्धान्तमा क्रमभंगता ल्याउँदैछ । अब मान्छे प्राकृतिक छनौटद्वारा होइन कि जीन सम्पादनले मान्छेको छनौटद्वारा तय गर्न सकिनेछ । यसले अकल्पनीय परिणाम ल्याउनेछ ।

तेश्रो हो, कृत्रिम बौद्धिकता । मान्छे भन्दा मेसिन बौद्धिक हुने अवस्था । त्यस्तो बौद्धिक मेसिन जसले आफैलाई निरन्तर परिष्कृत र विकसित गरिरहनेछ । जब मान्छे यो ग्रहको सबैभन्दा बौद्धिक प्राणी रहने छैन, तब के होला ? यो आजको वैज्ञानिक जगत्मा हलचल ल्याइदिएको सवाल हो । कृत्रिम बौद्धिकता जान्नु अघि हामी फेरि मानवीय बौद्धिकतामै फर्कनु पर्दछ । 

क्वान्टम भौतिकीले आजको र सधैँको ज्वलन्त सवाल खाद्यान्न, उर्जा तथा हाम्रो आफ्नै भविष्यबारे बताउनेछ । अहिलेसम्म हामी खानाको लागि माटो र सूूर्यको प्रकाशमा भर परेका छौँ । अब हामी ती दुई बिना पनि खानेकुरा तयार गर्न सकौँला ? अहिलेसम्म हामीले रोगको उपचार गरिरहेका छाँै, अब हामी मृत्युको उपचार गर्न सकौँला ? अब हाम्रो विश्व दृष्टिकोणलाई ब्रह्माण्डीय दृष्टिकोण बनाउँदैछाँँै । वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको चतुर दिमागको सफलताकोे कारण के होला भन्नेबारे अर्का वैज्ञानिक स्टेफेन हकिङले भनेका छन् कल्पनाशीलता । हो हामी सबैसँग कल्पनाशीलता हुन आवश्यक छ । 

 हामी सबै लगभग आठ अर्ब मान्छेहरु असाधारण छाँै । हामी सबैले कठोर निर्णय गर्नुपर्ने भएको छ । हामी जान्नेछौँ र हामी बदल्नेछौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

​रामदीप आचार्य
​रामदीप आचार्य
लेखकबाट थप