मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सूर्यबहादुर थापाको आत्मकथाको आवरण सार्वजनिक

शुक्रबार, १० भदौ २०७९, ०७ : ००
शुक्रबार, १० भदौ २०७९

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा  'मेरा नौ दशक : पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री'को आवरण सार्वजनिक भएको छ । बिहीबार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापा र पुस्तकका सम्पादक हरिबहादुर थापाले पुस्तकको आवरण लोकार्पण गरेका हुन् । पुस्तकको आवरण सचिन यगोल श्रेष्ठ र उमेश काफ्लेले डिजाइन गरेका हुन् ।

वि.सं. २०६५ सालबाट करिब चार वर्ष ३१० घण्टा कुराकानी गरी पुस्तक तयार पारिएको लेखक गनेस पौडेलले बताए । पत्रकार केदार शर्मासँग सहकार्य गर्दै पुस्तक लेखनको काम गर्दाका समयलाई स्मरण गर्दै उनले भने, 'राणाकालको अन्तिम दशकदेखि दोश्रो संविधानसभा अध्यक्षसम्मको नेपाली राजनीतिको लामो कालखण्डलाई यस पुस्तकमा सूर्यबहादुर थापाको दृष्टिकोणबाट भन्ने कोसिस गरिएको छ ।'

नेपाली राजनीतिको अति महत्त्वपूर्ण कालखण्ड मानिने पञ्चायतकालका छुटेका र महत्त्वपूर्ण विषयहरू पुस्तकमा समावेश भएको सम्पादक हरिबहादुर थापाले बताए । '२०१७ साल पुस १ गतेको राजा महेन्द्रको पञ्चायत घोषणाको भाषणको ड्राफ्ट गरेका कुरादेखि राजा, दरबार र सत्ता दाउपेचका पहिला कतै नसुनिएका कुराहरू यस पुस्तकमा छन्,' थापाले भने, 'यति इमानदारीपूर्वक आत्मकथा कमै मात्रामा लेखिएका छन् र यो पुस्तक नै नेपाली राजनीतिको लामो कालखण्डको बयान भएको पहिलो पुस्तक हो ।'

पुस्तक लेखनको करिब १४ वर्षपछि बुबाको आत्मकथा प्रकाशन हुन लागेकोमा सुनीलबहादुर थापाले खुसी व्यक्त गरे । पाँच व्यवस्था र पाँच राजाको शासन भोगेका र पाँचपटक प्रधानमन्त्री भएका सूर्यबहादुर थापाको जीवन भोगाइका विविध आयामहरूलाई पुस्तकमा ८ खण्डमा प्रस्तुत गरिएको छ ।

यही भदौको अन्तिम साता प्रकाशन हुने ५ सय पृष्ठको पुस्तक 'पेपरब्याक' र 'हार्डकभर-स्लिभकेस' संस्करणमा बजारमा आउने बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप