रहरको भरिया
शनिबार, ११ भदौ २०७९, ०७ : ५९
एउटा रहर बोकेर
एक मान्छे सहर पस्छ
सहरभित्र रहरमात्रै देख्छ ।
बिस्तारै रहरको सहरभित्र
हराउछ ऊ ।
एक पछि अर्को
अर्को पछि अर्को
थपिदै जान्छन् रहर
च्यापिदै जान्छ ऊ ।
सहरको रहर कम
रहरको सहर
बढी हुन्छ मनमा
रहर बढ्दा अभाव बढ्छ
अभाव बढ्दा गरिबी
गरिबीसँगै असन्तोष
असन्तोषको भारी बोकेर ऊ
सहर परिक्रमा गर्छ हरदिन
सोध्दैन सहर उसलाई
खाना खाइस् ?
बुझ्दैन सहर उसलाई
आरामै छस् ?
बिस्तारै सहरको रहर
मर्दै जान्छ मनमा
वाक्क लाग्छ सहरदेखि
दिक्क लाग्छ रहरदेखि
र, पनि रहरै रहर बोकेर
सहरमा भौतारिरहेछ ऊ ।
भौतारिरहेछ ऊ ।।