सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
सन्दर्भ: कुशे औँसी

बा लाई ३६५ दिन किन नसम्झिने ?

शनिबार, ११ भदौ २०७९, ०८ : १६
शनिबार, ११ भदौ २०७९

प्रिय बा, 

आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । यो लेख प्रकाशित हुँदै गर्दा फेसबुक लगायतका सामाजिक सञ्जालमा आफ्ना बुबासँगका तस्बिरले भरिएका हुनेछन् । तर यो विशेष दिन लगायत बुबाको अर्थ र साँच्चिकै उहाँको परिवारमा भएको विशिष्ट जिम्मेवारीको उचित कदर र सम्मान ३६५ दिन नै कायम हुनुपर्दछ भन्ने मान्यता राख्छु म । 

आफू एक असल व्यक्तिको छोरा र आफ्ना पनि दुई छोरीहरू भैसकेको अवस्थामा बा भन्ने शब्दको महत्त्व र एउटा परिवारलाई सही बाटोमा लैजानका साथै आर्थिक एवं सामाजिक हिसाबले स्थापित गराउन एउटा बा दिनहुँ कति मेहनत गर्दछ भन्ने कुरा आफै बुझ्दै छु । 

यसै परिपेक्षमा घरको सम्पूर्ण पालनपोषणमा आमाको विशिष्टीकृत भूमिकालाई उच्च सम्मान गर्दछु । आमा जननी र पालनहार हुन् भने बुबा पथ प्रदर्शक र परिवारको एक खम्बा हुन् भन्ने लाग्छ मलाई । आज बा को सम्झनामा मेरा स्वर्गीय पिता माधव प्रसाद मरहट्टा, जो बा मात्र नभएर मेरा अभिभावक, शिक्षक र एक सच्चा साथी पनि हुनुहुन्थ्यो, उहाँको बारेमा केही कुरा लेख्न कोसिसरत छु ।

२०७७ साल असोज, कार्तिकको त्यो कहालीलाग्दो समय संसारभर कोभिडको त्रासले हामी सबैलाई निकै अप्ठ्यारो पारेको थियो । म आफै मेडिकल डाक्टर र मेरी श्रीमती सृजना पनि डाक्टर भएकोले यो परिस्थितिमा घरमा बस्ने र छुट्टी मनाउने अवसर हामीलाई थिएन । 

यद्यपि सम्पूर्ण विश्व एक प्रकारको लकडाउनको अवस्थामा गुज्रिरहेको थियो । दिनहुँ घरबाट निस्कँदा र घरमा आउँदा मनमा एक प्रकारको त्रास हुन्थ्यो । किनकि घरमा सँगै बस्नुपर्थ्यो । समय बित्दै गयो, सुरुमा देश नै ठप्प भएको अवस्थामा खासै कोभिडका बिरामी थिएनन् । तर जब लकडाउन खुकुलो हुन थाल्यो सङ्क्रमण समुदायमा आयो र निकै सावधानीको बाबजुद पनि कोभिड १९ ले पनि हाम्रो घरमा आक्रमण गर्‍यो । 

मेरा बा, जो वर्षौँदेखि पार्किन्सन्स भन्ने नशाको रोगसँग जुधिरहनु भएको थियो, उहाँलाई एक दिन ज्वरो आयो र टेस्ट गराउँदा कोभिड सङ्क्रमण देखियो । त्यो समय जुन बेला यसको खोप उपलब्ध थिएन, त्यो बेला दीर्घरोगी मेरा बालाई कोभिड १९ को सङ्क्रमण हुँदा सबै जनालाई अत्यास लाग्नु स्वाभाविकै थियो । 

कोभिड १९ को सङ्क्रमण भए तापनि लक्षण नदेखिएकाले र बुबाको अन्य रोगको पनि थुप्रै औषधि खानुपर्ने भएकाले घरमै राखेर उपचार गर्ने हाम्रो पारिवारिक सल्लाह भयो । दसैँको त्यो समय काममा केही कम व्यस्त भएकाले मैले र मेरी श्रीमतीले घरमै बुबालाई दिनदिनै ज्वरो नाप्ने, अक्सिजन हेर्ने  गर्दै उपचार गर्‍यौँ । 

मेरी आमाले आफ्नो स्वास्थ्यको ख्याल नगरी आफू सङ्क्रमण नेगेटिभ भए तापनि यसको प्रवाह नगरी बुबाको दिनरात सेवा गर्नुभयो । दसैँ जेनतेन मनाइयो र  बा को हातबाट टीका पनि लगाइयो । यो कुरा सम्झँदा म आजपनि भावुक हुन्छु । किनभने मेरा लागि बुबाको हातको त्यो अन्तिम टीका थियो ।

समय बित्दै गयो, बुबाको सङ्क्रमण भएको नवौँ दिनमा उहाँलाई खोकी लाग्ने र केही असहज भएको जस्तो महसुस भयो । र, मैले आफ्नै गाडीमा राखेर स्टार हस्पिटल लगेँ, जसले सयौँ कोभिड–१९ का बिरामीको राम्रो उपचार गरेको थियो । त्यहाँ लगेर मेरो दाजु उमेश र मेरो सल्लाहमा सिटिस्कयान पश्चात् भर्ना गर्नुपर्ने निर्णय गरियो । र, उहाँलाई त्यस अस्पतालमा छाडेर विश्वासका साथ घर फर्कियौ  । 

भनिन्छ, हाम्रो जीवनमा घट्ने सम्पूर्ण राम्रा र नराम्रा घटना पहिल्यै तय भएका हुन्छन् । उहाँको उपचारको साता दिनपछि जब उहाँलाई डिस्चार्ज गर्न हामी तयार भएका थियौ, तब फेरि ज्वरो आयो । र, केही दिनपछि मात्र थाहा भयो, कोभिड १९ को औषधिले उहाँको मिर्गौला फेल भई जटिल स्थिति पुगिसकेको रहेछ ।

अब उहाँको राम्रो हुने सम्भावना निकै कम भएको कुरा उपचारमा संलग्न मेरा मित्र डाक्टर सहकर्मीहरूबाट थाहा पाएँ, जुन मेरो जीवनको आजसम्मको सबैभन्दा अप्रिय घटना थियो । निकै प्रयासको बाबजुद पनि उहाँलाई हामीले गुमायौ । २०७७ साल कार्तिक २६ गते उहाँको भौतिक शरीर हामीबीच रहेन । सामान्य  अवस्थामा रहेको मान्छेको अकस्मात् भएको निधनले म र मेरा परिवारका लागि असाध्यै पीडा दिएर गयो । 

आखिर सत्य स्विकार्नुबाहेक हाम्रो सामु अरू केही उपाय थिएन । मैले आफ्नो मनलाई  भित्रैदेखि दरो बनाएँ । परिवारका अन्य आफन्तबाट पनि कठिन समयमा निकै साथ पाइयो । देश विदेशबाट सहानुभूतिका शब्दले लाग्यो, माधव प्रसाद मरहट्टा मेरा मात्रै बा हुनुहुँदो रहेनछ । उहाँ त धेरै व्यक्तिका पथप्रदर्शक र अभिभावक हुनु हुँदो रहेछ । मन यसरी नै सम्हालियो र उहाँको मृत्युको धार्मिक कार्य समापन गरियो । 

१३ दिनको कार्यपछि सबैजना आआफ्ना काममा लागे । म पनि फेरि आफ्नो नियमित कार्यमा लाग्न प्रयास गर्दै थिए, त्यसै समयमा हाम्रो परिवारको अर्को प्रिय सदस्य सासुआमा गंगा कोइरालाको असामयिक  निधनले फेरि अर्को पीडा थप्यो । दिन बित्दै जाँदा अब मलाई बुबाको याद र उहाँसँग बिताएका रात दिनका समय ताजा हुन थाल्यो । मलाई आफै डाक्टर, आफ्नै अस्पताल जो कोभिडको अवस्थामा कहलिएको, आफ्नै बुबालाई मैले बचाउन सकिनँ भन्ने कुराले मनमनै निकै पोल्न थाल्यो । मेरा कैयौं अनिदा रातहरूले मलाई झन् झन् कमजोर बनाउँदै लग्यो । 

‘कान्छाको डाक्टरमा नाम निस्कियो थाहा पायौ ? अब सबैलाई बोलाएर भोज गर्नुपर्छ’ भन्ने मेरो बुबाका ती करोडौँ मूल्यका खुसीका पल सम्झँदा के म डाक्टर भएर वहाँलाई अप्ठ्यारो अवस्थामा केही गर्न सके त ? भन्ने कुराले मलाई आफूप्रति वैराग्य लाग्न थाल्यो । मैले गर्दै आएका शल्यक्रिया र बिरामीको उपचारमा पनि मलाइ खासै मन लागेन । म लथालिङ्ग भएँ, मलाई बाको यादले निकै रुवायो ।

तर आफ्नो पीडा बुबाको यादमा आफै विक्षिप्त भएकी मेरी आमा र मेरो दाइ दिली लगायतलाई देखाउन म असमर्थ थिएँ । दिनहरू यसै बित्दै थिए, बुबाको सायद मलाई आशीर्वाद प्राप्त भयो । मेरा सोचहरू एकाएक परिवर्तन भए । मेरो बुबा जो आफ्नो बा, मेरो हजुरबासँग पनि  एकदमै नजिक हुनुहुन्थ्यो । उहाँले पनि आफ्ना बा को निधनमा यस्तै शोक मात्र गरेर हिँड्नुभएको भए आज म लगायत मेरो परिवार यो अवस्थामा हुन्थ्यो होला र ?

यसरी मैले मेरी आमा, श्रीमती, छोरी निरन्तरको कठोर परिश्रमले आफैमा आत्मविश्वास जगाउँदै गएँ । 

मेरा बाको सबैभन्दा ठुलो गुण भनेको कुनै पनि काम उहाँले असम्भव देख्नु हुँदैनथ्यो । उहाँ बिहान ५ बजेदेखि बेलुका ११ बजेसम्म लगातार काम गरेको मैले देखेको छु । कठोर परिश्रम र आत्मविश्वासले नै होला, उहाँले नेपालको शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको थियो । सरकारी स्तरको विद्यालय होस् वा निजी विद्यालयको स्थापना गरेर त्यसलाई राष्ट्रिय स्तरको विद्यालयमा परिणत गर्नु उहाँको मेहनतको फल हो । 

आफूले गर्ने कुरामा निरन्तर लाग्नुपर्छ, अनुशासित बन्नुपर्छ र काममा छलकपट गर्नु हुँदैन भन्ने उहाँको बानी थियो । काम कुनै पनि सानो वा ठुलो हुँदैन भन्ने मैले उहाँबाट सिकेको हुँ । उहाँले मलाई डाक्टर पास गर्दा भनेको कुरा अझै याद आउँछ ‘बाबु डाक्टर त धेरै छन्, तिमीले आफ्नो विधामा अब्बल भएमा मात्र तिम्रो सफलता हुनेछ । पेसा ठुलो वा सानो हुँदैन, जुत्ता पालिस गर्ने मान्छे नै किन नहोस्, नामुद भएमा मात्र उसले सन्तुष्टि पाउँछ र समाजमा नाम रहन्छ । त्यसैले एक नम्बर हुनुपर्दछ’ भन्नु हुन्थ्यो उहाँ । जटिल रोगसँग लड्दै गर्दा पनि उहाँको आत्मविश्वास कहिल्यै  डगमगाएन ।

समाज परिवर्तनको हुटहुटी 

मेरा बाको ऊर्जाशील उमेरमा देशमा धेरै आन्दोलन भए, जसले धेरै परिवर्तन गरायो । उहाँ शैक्षिक हक हितको आन्दोलनदेखि प्रजातन्त्रको आन्दोलनमा सहभागी हुनुहुन्थ्यो । 

देशमा प्रजातन्त्रको स्थापना भएता पनि अझै यस समाजमा विभेदको अन्त्य हुन सकेको छैन भन्दै प्रचण्डको नेतृत्वमा देशमा सशस्त्र आन्दोलन सुरुवात भयो । मेरा बुबा जो हत्या हिंसाको विरोधी हुनुहुन्थ्यो तर उहाँको विचारमा पनि समाजमा अझै विभेद छ भन्ने थियो । त्यसैले उहाँ युद्धमा नलागे पनि नेकपा माओवादीले उठान गरेको विषयवस्तुलाई समर्थन गर्नुहुन्थ्यो । यसै कारण धेरै पटक पुलिस र आर्मीको सजाय खादा पनि उहाँले आफ्नो सिद्धान्त छोड्नु भएन । पटक पटक आर्मीको क्रूर दमन र ज्यानै जान सक्ने परिस्थितिलाई सामना गर्दै आफ्नो निष्ठाबाट विचलित नभई कठोर परिस्थितिको सामना गर्नुभयो । 

उहाँको यस्तो निष्ठाबाट म धेरै प्रभावित छु । राजनैतिक निष्ठा प्रायः शून्य रहेको हालको समयमा उहाँको यो प्रस्ट अडान र व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्न सक्ने स्वभाव उहाँको समाज परिवर्तन गर्ने हुटहुटी हो भन्ने मेरो बुझाई छ । 

कसैको दुःख देख्न नसक्ने दयालु

मेरा बा समाजको विभेदसँग निकै संवेदनशील हुनुहुन्थ्यो । आफू एक सक्षम परिवारमा जन्मेको भए तापनि उहाँ कसैको दुःख देख्दा आफ्नै जस्तो महसुस गर्ने गर्नुहुन्थ्यो । मानिसलाई मानिसकै रूपमा हेर्नुपर्दछ, न कि उसको जात, धर्म वा सम्पन्नताको आधारमा भन्ने उहाँको सोच थियो । सबैलाई खुसी बनाऊँ, कसैको मन नदुखाऊँ भन्ने र सबैको प्रिय हुनुहुन्थ्यो उहाँ । यति हुँदा पनि उहाँ परिवार, समाज र राष्ट्रमा भएका अन्यायका बारेमा दृढ आवाज उठाउने एक प्रस्ट वक्ता पनि हुनुहुन्थ्यो । 

संरक्षकको भूमिका 

मैले पारिवारिक र सामाजिक व्यक्तिहरूबाट थाहा पाएअनुसार उहाँमा सानै उमेरदेखि अभिभावकको भूमिका निर्वाह गर्न सक्ने क्षमता थियो । गाउँबाट आएका मेरा दाजुभाइलगायत परिवारमा सङ्घर्ष गदै गरेका सम्पूर्ण सदस्यलाई उहाँले उसको क्षमता पहिचान गरी त्यस अनुसारको कार्य गर्न प्रोत्साहित गर्नुहुन्थ्यो । यस कार्यमा आफू सँगै भएको महसुस गराउनु हुन्थ्यो उहाँ । मेरा परिवारका धेरै नातेदारहरुले उहाँकै कारण आफ्नो एउटा छवि बनाउन सफल भएका छन्, जुन साँच्चै गर्वको कुरा हो । 

यी र यस्ता गुण सम्झँदा मेरा बा प्रति मलाई गर्वको महसुस हुन्छ । वर्षको हिसाबले केही कम उमेरमा उहाँको निधन भएता पनि उहाँले आफ्नो बाँचेको समयलाई ऊर्जाशील बनाएर समाज र राष्ट्रलाई ठोस योगदान दिनु भएकोमा हाम्रो परिवार सधैँ नै गौरव महसुस गर्दछ । 

बाले हामीलाई  सक्षम बनाउनुभयो, आर्थिक रूपमा  मजबुत बनाउनुभयो र आज हामी जुन ठाउँमा पनि उभिन्छौँ, सफल हुन्छौँ, उहाँकै नामबाट  चिनिन चाहन्छौ । 

प्रिय बा, तपाईं आज हाम्रो सामु भौतिक रूपमा नभए पनि तपाईंको माया आशीर्वाद, तपाईंले हामीलाई छोडेर जानु भएको अमूल्य सम्झनाले हामीलाई केही हदसम्म भएपनि तपाईंको अभाव हुन दिएको छैन । तपाईंको मार्गनिर्देशनको सधैँ पालना गरी एक असल नागरिक बन्ने छु भन्ने दृढ सङ्कल्प गर्दै ‘माई डियर’ बा र सम्पूर्ण बाहरूलाई यस विशेष दिनमा हार्दिक नमन गर्दछु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुमन बाबु मरहट्टा
सुमन बाबु मरहट्टा
लेखकबाट थप