क्यालिफोर्नियामा सन् २०३५ देखि डिजेल–पेट्रोलबाट चल्ने सवारी ‘प्रतिबन्ध’
अमेरिकाको क्यालिफोर्निया राज्यले सन् २०३५ देखि डिजेल–पेट्रोलको सवारी बिक्रीमा रोक लगाउने घोषणा गरेको छ । क्यालिफोर्नियाले अमेरिकाको संघीय सरकारलेभन्दा अगाडी नै डिजेल–पेट्रोलबाट चल्ने सवारी बिक्रीमा रोक लगाउने भएको हो ।
बेलायती समाचार संस्था बीबीसीका अनुसार सन् २०३५ देखि क्यालिफोर्नियामा विद्युत्बाट चल्ने सवारी मात्रै बिक्री गर्न पाइनेछ । क्यालिफोर्निया अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्र भएको राज्य हो । सन् २०२६ देखि क्यालिफोर्नियामा बिक्ने ३५ प्रतिशत सवारी साधन विद्युत्बाट चल्ने हुनेछ । यस्तै, सन् २०३० मा बिक्ने ६८ प्रतिशत सवारी विद्युत्बाट चल्ने हुनेछन् भने २०३५ देखि शतप्रतिशत सवारी विद्युत्बाट चल्ने मात्रै हुने भएको छ ।
क्यालिफोर्निया अमेरिकाको सबैभन्दा ठुलो अर्थतन्त्र भएको राज्यसँगै सबैभन्दा धेरै जनसङ्ख्या भएको राज्य समेत हो । क्यालिफोर्निया विश्वको छुट्टै देश हुन्थ्यो भने यो विश्वको ५औँ ठुलो अर्थतन्त्र भएको देशको सूचीमा पर्न आउने थियो ।