मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कुलचन्द्र गौतमको आत्मकथा सार्वजनिक

आइतबार, १२ भदौ २०७९, १५ : ५४
आइतबार, १२ भदौ २०७९

कूटनीतिज्ञ कुलचन्द्र गौतमको आत्मकथा सार्वजनिक भएको छ । पब्लिकेशन नेपालयले तयार पारेको ‘कुलचन्द्र गौतम ः आत्मकथा’मा गौतमले मुलुक भित्रैबाट थालेको सङ्घर्षदेखि अमेरिकी विश्वविद्यालयहरू हुँदै संयुक्त राष्ट्रसङ्घको सहायक महासचिव एवं युनिसेफका उप–कार्यकारी निर्देशक हुँदासम्मका अनुभव समेटिए छन् । 

“मेरो जीवनकथा अब नेपाली पाठकहरू माझ पनि आउँदै गर्दा असाध्यै खुशी छु,” गौतम भन्छन्, “मैले पाएका अवसरहरू, सामना गरेका चुनौती र चालेका पाइलाहरू भावी पुस्ताका नेपालीहरूको निम्ति उपयोगी हुने विश्वास छ ।”
गुल्मीको दुर्गम भेगमा जन्मिएका गौतमले आफ्नै बलबुँताबाट राष्ट्रसङ्घीय मुख्यालयमा उपल्लो ओहदासम्मको यात्रा तय गरे । विश्व इतिहासलाई प्रभावित पारेका थुप्रै मुलुकमा राष्ट्रसङ्घीय निकायका प्रतिनिधि बनेर महिला तथा बाल अधिकारसम्बन्धी समस्याको समाधानमा लागे । यस क्रममा उनले विश्वका ठूला नेतादेखि राष्ट्र एवं सरकार प्रमुखहरूसँग बसेर वार्ता गरे । यी सबै अनुभव गौतमले यस कृतिमा व्यक्त गरेका छन् । 

नेपालयले विगतमा प्रकाशन गर्दै आएको जीवनी पुस्तकका सिलसिलालाई निरन्तरता दिएर यो कृति पनि तयार पारेका बताएको छ । पब्लिकेशनकी प्रमुख कार्यकारी सैजन मास्के भन्छिन्, “नेपालको अत्यन्त पिछडिएको ग्रामीण परिवेशबाट आफ्नै बलबुँताले उभिएर संयुक्तराष्ट्र सङ्घको मुख्यालयसम्म पुगेका गौतमको यो रोमाञ्चक जीवनी आफैँमा अनुकरणीय दस्तावेज पनि बन्नपुगेको छ ।” 

संसारकै महत्त्वपूर्ण घटना र तिनका पात्रलाई प्रत्यक्ष देखेका र भेटेका कुराहरू गौतमले यो पुस्तकमा उल्लेख गरेका छन् । नेल्सन मण्डेलाजस्ता शताब्दीकै महान् नायकहरूसँगको व्यक्तिगत अनुभवहरू समेत समेटिएको चार सय ७२ पृष्ठको यस पुस्तकको मूल्य ७५० रुपैयाँ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप