मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

शंखरापुर नगरपालिकाले सुरुगर्‍यो​ निःशूल्क स्वास्थ्य सेवा

आइतबार, १२ भदौ २०७९, १७ : २७
आइतबार, १२ भदौ २०७९

काठमाडौंंको शंखरापुर नगरपालिकाले नगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको छ । आइतबार नगरप्रमुख रमेश नापित र साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल अस्पतालका निर्देशक डा। सन्तोष बिक्रम भण्डारीबीच निःशुल्क स्वास्थ्य सेवा दिने समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

नगरप्रमुख नापितले सो अस्पतालसँग वडा नं १ देखि ९ सम्मका नगरवासीहरूलाई निःशुल्क तथा विषेश छुटमा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर गरेका छन् । सो अस्पतालले दिँदै आएको स्वास्थ्य सेवामध्ये ७ वटामा निःशुल्क र अन्यमा ३० देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गर्ने समझदारी भएको नगर प्रवक्ता एवं वडा नम्बर ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठले जानकारी दिए । यो सेवा आजैदेखि सुरु भएको प्रवक्ता श्रेष्ठको भनाइ छ । 

समझदारी पत्रमा हस्ताक्षर गरेपछि नगरप्रमुख नापितले निर्वाचनका बेला आफूले गरेको प्रतिबद्धता कार्यान्वयन गरेको बताउँदै नगरवासीको सेवामा नगरपालिका दृढ संकल्पिक भएर लागिपरेको बताए । उनले न्यून आम्दानी भएका र सामान्य स्वास्थ्य सेवा लिनबाट समेत बन्चित भएका नगरवासी सो सम्झौताबाट लाभान्वित हुने बताए । कोही पनि नागरिक स्वास्थ्य उपचारबाट बञ्चित नहोउन भन्नेमा नगरपालिका संवेदनशील रहेको बताउँदै आगामी दिनमा आफ्नो नेतृत्वमा थप लोक कल्याणकारी कार्यक्रमहरु लिएर अघि बढ्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।  

इमर्जेन्सीदेखि बेड शुल्कसम्म निःशुल्क, यी हुन छुटमा पाइने उपचार ?   

नगरप्रमुख नापित र सुष्मा कोइराला मेमोरियल अस्पतालका निर्देशक डा. भण्डारीबीच ७ प्रकारका स्वास्थ्य उपचार निःशुल्क गर्ने सम्झौता भएको हो । जस अनुसार डेन्टल ओपिडी निःशुल्क, जेनेरल ओपिडी निःशुल्क, प्लास्टिक सजर्री निःशुल्क, इमेर्जेन्सी निःशुल्क, फिजियोथेरापी ओपिडी निःशुल्क, ड्रेसिङ निःशुल्क, नर्मल बेड निःशुल्क गर्ने सम्झौता भएको छ । माथि उल्लेखित उपचार शूल्क पूर्ण रुपमा निःशुल्क गर्ने सम्झौता भएको हो । 

यस्तै इन्भेस्टिगेशन अन्तर्गत ल्याव, एक्सरे, ईसिजी, युएसजीमा लागेको खर्चको ६० प्रतिशत छुटको व्यवस्था गरिएको छ । स्पेशल ओपिडी जस अन्तर्गत (गाइनो, अर्थो, स्पाइन, साइकोलोजी, साइक्याट्री, इएनटी) मा लागेको खर्चको ३० प्रतिशत छुटको व्यवस्था गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । निःशुल्क तथा विशेष छुटमा गरिएको उपचार खर्च नगरपालिकाले अस्पतालाई भुक्तानी गर्नेगरी सम्झौता भएको हो ।  गत स्थानीय तहको निर्वाचनमा राप्रपाबाट शंखरापुर प्रमुखमा निर्वाचित भएका रमेश नापितले चुनावअघि नगरबासीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप