आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

त्रिविमा उपकुलपतिको पत्रकार सम्मेलनकै क्रममा कसरी भयो झडप ?

आइतबार, १२ भदौ २०७९, १८ : ३२
आइतबार, १२ भदौ २०७९

त्रिभुवन विश्व विद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले आइतबार बिहान ९ः३० बजे पत्रकार सम्मेलन राखेका थिए । पत्रकारहरू हलभित्र प्रवेश गरिसकेका थिए । कार्यक्रममा उपकुलपति बाँस्कोटा विश्वविद्यालयमा काम गर्ने वातावरण नबनेको बताइरहेका थिए । 

पत्रकार सम्मेलन हलमा पत्रकार मात्र थिएनन् । हलभित्र विद्यार्थी पनि थिए । हल भरिभराउ थियो । भित्र बाँस्कोटा नेविसंघले गर्दै आएको विरोध प्रदर्शन र तालाबन्दीका कारण काम गर्न नसकिएको बताइरहेका थिए । बाहिर नेविसंघकै नेता कार्यकर्ता हातमा प्लेकार्ड बोकेर शान्तिपूर्ण प्रदर्शनमा थिए । प्रश्नपत्र किनबेच गर्न पाइँदैन, छानविन समितिको प्रतिवेदन सार्वजनिक गर, कार्यकारी परिषद्को बैठक एलो प्यागोडामा बस्ने कि त्रिविमा ? जस्ता नारासहित प्ले कार्ड बोकेर एक दर्जन नेविसंघ नेता कार्यकर्ता पत्रकार सम्मेलन हल हल बाहिर थिए । 

उपकुलपति बाँस्कोटाले हुबहु प्रश्नपत्र निकाल्न संलग्न रहेकाहरूमाथि छानबिन गरी कारबाही गरिएको बताएका थिए । तर, सुरक्षा संवेदनशीलका कारण उनीहरूको नाम सार्वजनिक गर्न नमिल्ने बताएका थिए । नेविसंघले छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग जोडदार रूपमा राखेको थियो । पत्रकार सम्मेलन सकिनेबित्तिकै हलभित्र रहेका अनेरास्ववियुका नेता कार्यकर्ता बाहिर निस्किए । बाहिर प्रदर्शनमा रहेका नेविसंघ र अनेरास्ववियुबीच मुडभेडको अवस्था आयो । हल बाहिर तैनाथ रहेको सुरक्षाकर्मी दुवै पक्षलाई शान्त पार्नतिर लागे । तर, दुवै पक्षबाट ढुंगामुढा प्रहार हुन थाल्यो । त्यसपछि प्रहरीले बल प्रयोग गर्दै दुवै पक्षलाई तिर्तरबिर्तर पार्न खोज्यो । 

दुवै पक्षका एक दर्जन बढी नेता कार्यकर्ता घाइते भए । केही प्रहरीलाई समेत चोटपटक लाग्यो । अनेरास्ववियुका टियू इन्चार्ज मदन विष्टका अनुसार आफ्नो तर्फबाट ५ जना नेता कार्यकर्ता घाइते भएका छन् । 
त्यस्तै नेविसंघका १५ जना भन्दा बढी घाइते भएका छन् । उनीहरू कीर्तिपुर अस्पतालमा उपचारपछि घर फर्किएका छन् । नेविसंघ नेता भुवन जोशीलाई अलि बढी चोट लागेको नेविसंघ त्रिविका सचिव योगेन्द्र रावलले बताए । आफूहरू शान्तिपूर्ण प्रदर्शनमा रहेका बेला अनेरास्ववियुले एकाएक ढुंगा प्रहार गरेको नेविसंघको आरोप छ । 

‘हामी बाहिर प्लेकार्ड बोकेर शान्तिपूर्ण रूपमा विरोध गरिरहेका थियौँ । भित्र पत्रकार सम्मेलन हलबाट एकाएक ढुंगा प्रहार भयो । प्रतिकार गर्न खोज्दा उल्टै प्रहरीबाट समेत बल प्रयोग भयो,’ रावलले भने । यता अनेरास्वियूका टियू इन्चार्ज विष्टले भने पत्रकार सम्मेलन बिथोल्न खोज्दा झडपको अवस्था सिर्जना भएको बताए । ‘अनेरास्ववियुले त्रिवि सरसफाई कार्यक्रम राखेको थियो । हामीले त्रिवि पदाधिकारीलाई समेत आमन्त्रण गरेका थियौं । पत्रकार सम्मेलन सकिएपछि कार्यक्रम गर्ने भन्ने थियो । तर, उहाँहरू पत्रकार सम्मेलन बिथोल्न होहल्ला गर्दै आउनुभयो,’ विष्टले भने ।

त्रिविले लामो समयदेखि तालाबन्दी मार खेपिरहेको छ । विभिन्न माग अघि सार्दै कहिले विद्यार्थी त कहिले शिक्षकले तालाबन्दी गर्दै आएका छन् । अहिले पनि त्रिविमा लामो समयदेखि तालाबन्दी छ । नेविसंघ र अनेरास्ववियुको राजनीतिक दाउपेचमा त्रिवि पुगेको छ । नेविसंघले भने त्रिविमा तालाबन्दी नगरिएको बताएको छ । नेविसंघ नेता रावलले त्रिवि पदाधिकारीहरू काम गर्न नसकेपछि तालाबन्दी गरिएको भन्दै पच्छिने गरेको बताए । 

‘हामीले तालाबन्दी गरेको भनेर अफवाह फैलाइएको छ । हामीले कहाँनिर तालाबन्दी गरेका छौं । आफूले काम गर्न नसकेपछि हामीलाई अनावश्यक आरोप लगाउन खोजिएको छ,’ रावलले भने ।  अहिले नेविसंघलाई तालाबन्दी गर्न बाहेक केही गर्न नसकेको आरोप लाग्दै आएको छ । नेविसंघले तालाबन्दी गर्छ भने अनेरास्ववियुले तालाबन्दी खोल्छ । जसले गर्दा लादौँ विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको छ अर्को कुरा त्रिविले लामो समयदेखि आफ्नो नियमित क्रियाकलाप समेत गर्न पाएको छैन । यस्तै त्रिविका उपकुलपति बाँस्कोटाले तालाबन्दीका कारण काम गर्ने वातावरण नबनेको बताएका छन् । पत्रकार सम्मेलनमार्फत उनले तालाबन्दी गरेर त्रिविलाई अनिर्णयको बन्दी बनाएको बताए । 

नेविसंघले पछिल्लो समय हुबहु प्रश्न सोध्नेहरूको नाम सार्वजनिक गर्न माग गर्दै आएको छ । तर, त्रिविले त्यसरी नाम सार्वजनिक गर्न नमिल्ने बताएको छ । जसले गर्दा नेविसंघले त्रिविमा तालाबन्दी गरेको छ । त्रिविले गत १८ जेठमा लिएको पब्लिक इकोनोमिक्स र २३ गते लिएको इन्टरनेशनल पोलिटिक्स परीक्षामा प्रश्नपत्र पुरानै दोहो¥याएको थियो । त्यसपछि चौतर्फी विरोध भएपछि त्रिविले छानविन र कारवाही प्रक्रिया अगाडि बढाएको थियो ।  त्रिविले दोषीमाथि कारवाही गरिएको तर, उनीहरूको नाम सार्वजनिक गर्न नमिल्ने बताएको छ । नेविसंघले भने नाम सार्वजनिक नगर्दासम्म भण्डाफोर अभियान जारी राख्ने बताएको छ । अहिले त्रिविमा उपकुलपति सहित अधिकांश पदाधिकारी निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका छन् । जसले गर्दा नेविसंघले काम गर्न नदिएको अनेरास्ववियुको आरोप छ । 

झडपपछि नेविसंघ झन् आक्रामक 
पत्रकार सम्मेलनमा भएको झडपपछि नेविसंघ झन आक्रामक बनेको छ । अहिले त्रिविमा विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनमा नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा, नेतृ सम्झना केसी लगायतका विद्यार्थी नेताहरू त्रिवि पुगेका छन् । त्रिवि प्रश्नपत्रमा हुने लापरवाही बन्द गर, छानविन समितिको प्रतिवेदन सार्वजनिक गर, परीक्षाफल समयमै प्रकाशन गरे, बिबिएको प्रश्नपत्रमाथि छानविनका लागि पूर्व प्राध्यापकहरूलाई नियुक्त गर, विश्वविद्यालयको मर्यादा कायम गर जस्ता माग अघि सारेर नेविसंघले विरोध प्रदर्शन गरेको हो । 

उपकुलपति बाँस्कोटालाई बर्खास्त नगराउँदासम्म आफूहरूको आन्दोलन नरोकिने रावलले बताए । उपकुलपति, रजिष्ट्रार लगायतका सम्पूर्ण टिमलाई बर्खास्त नगर्दासम्म आफूहरूको आन्दोलन नरोकिने नेविसंघका नेताहरूको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप