सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रियल र बार्साको जीतमा बेन्जेमा र लेवान्डोस्की नायक

सोमबार, १३ भदौ २०७९, ०६ : ४६
सोमबार, १३ भदौ २०७९

करिम बेन्जेमाको दुई गोलको मद्दतले एस्पानियोललाई हराउँदै रियल म्याड्रिडले स्पेनिस ला लिगामा आफ्नो शतप्रतिशत नतिजा कायम राखेको छ । आइतबार राति भएको खेलमा साबिक विजेता रियल ३-१ गोल अन्तरले विजयी भएको हो ।

खेलको १३ औँ मिनेटमा नै भिनिसियस जुनियरले रियललाई अग्रता दिलाएका थिए । तर, खेलको ४३ औँ मिनेटमा जोसेलुले एस्पानियोलका लागि बराबरी गोल फर्काए । खेल बराबरीतर्फ अघि बढिरहँदा बेन्जेमाले खेलको ८८ औँ मिनेट र इन्जुरी समयमा गोल गर्दै रियललाई जीत दिलाए । इन्जुरी समयमा एस्पानियोल १० खेलाडीमा सीमित बनेको थियो ।

३ खेलमा ३ जीतसँगै रियल ९ अंक बटुलेर लिगको अंक तालिकामा शीर्ष स्थानमा रहेको छ । एस्पानियोल लिगको १६ औँ स्थानमा सिमित छ ।

आइतबार नै भएको अन्य खेलमा बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्की नायक बने । उनको दुई गोलको मद्दतले बार्साले रियल भालाडोलिडलाई ४-० गोलले हरायो । खेलको २४ औँ मिनेटमा लेवान्डोस्कीले बार्सालाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यमा पेड्रीले टोलीको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा लेवान्डोस्की र सर्जी रोबेर्टोले एक-एक गोल थप्दै टोलीलाई सहज जीत दिलाए । ३ खेलबाट ७ अंक बटुल्दै बार्सा लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप