सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

डेरी उद्योगको सार्वजनिक परीक्षण

मङ्गलबार, १४ भदौ २०७९, २१ : २०
मङ्गलबार, १४ भदौ २०७९

मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले निर्माण गरेको दुग्ध प्रशोधन परियोजना (डेरी उद्योग) को सार्वजनिक परीक्षण गरिएको छ ।  मंगलबार परियोजना स्थल भीमफेदी गाउँपालिका वडा नम्बर–१ बुङदलमा संघले निर्माण गरेको उद्योगको सार्वजनिक परीक्षण गरिएको हो ।

सार्वजनिक परीक्षण कार्यक्रममा बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष तथा मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले उद्योग सञ्चालनको निमित्त चुनौती भएको भन्दै छिट्टै प्रभावकारी रूपले उद्योग सञ्चालन गर्न संघलाई निर्देशन दिए ।

निकट भविष्यमा सञ्चालनको तयारीमा रहेको उद्योगमा बागमती प्रदेश सरकार, सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी) र संघको संयुक्त लगानी रहेको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष वासुदेव अधिकारीले जानकारी दिए । उद्योग स्थापनाको लागि हालसम्म ४ करोड ६९ लाख २८ हजार रुपैयाँ बराबरको आम्दानी तथा खर्च भएको उनले बताए ।

संघका व्यवस्थापक कुमारमणि दाहालका अनुसार उद्योगमा १ करोड ४३ लाख को इवीडिङबाट मेसिनरी उपकरण खरिद भएको जस अन्तरगत बागमती प्रदेश सरकारबाट अनुदान बापत ५६ लाख ३४ हजार २०० रुपैयाँ प्राप्त भएको र ८६ लाख ६५ हजार रुपैयाँ संघको लगानी रहेको छ ।

त्यस्तै भौतिक पूर्वाधार निर्माण तर्फ २ करोड ४५ लाख ३७ हजार रुपैयाँ खर्च भएकोमा लागत साझेदारी कार्यक्रम अन्तरगत सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी)बाट १ करोड ७४ लाख २० हजार रुपैयाँ र सहकारी संघको तर्फबाट ७१ लाख १७ हजार रुपैयाँ खर्च भएको उनले बताए ।

उद्योग निर्माणका लागि जिल्ला दुग्ध सहकारी संघले ८० लाख ९१ हजार १५५ रुपैयाँमा जग्गा खरिद गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप