सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आठ महिनामा भित्रिए तीन लाख २६ हजार विदेशी पर्यटक

शुक्रबार, १७ भदौ २०७९, २१ : २९
शुक्रबार, १७ भदौ २०७९

कोभिड–१९ महामारीपछि विदेशी पर्यटक आगमनमा सुधार देखिएको छ । अङ्ग्रेजी वर्ष सन् २०२२ को सुरुआती चरणदेखि पर्यटक आगमन सुधारोन्मुख रहेको पर्यटक आगमनको आँकडाले देखाउछ ।

अध्यागमन विभागलाई उधृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको आठ महिनामा कूल तीन लाख २६ हजार छ सय ६७ पर्यटक नेपाल भित्रिएका छन् । यो हवाई मार्ग भएर भित्रिएका पर्यटकको विवरण हो । बोर्डका अनुसार गत अगष्टमा ४१ हजार तीन सय चार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । कोभिडपूर्व सन् २०१९ को अगष्टमा ७३ हजार आठ सय १४ पर्यटक नेपाल भित्रिएका छन । तुलनात्मकरुपमा अगष्टमा कम पर्यटक आउछन् । वर्षायाम भएकाले पर्यटकको सङ्ख्यामा कमी आएको बोर्डले जनाएको छ । सेप्टेम्बर महिना पर्यटनमा उपयुक्त सिजन मानिन्छ । यो सिजनमा उल्लेख्य सङ्ख्यामा पर्यटक भित्रिने गरेका छन् ।

समग्रमा पर्यटक आगमन सुधारोन्मुख रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । वर्षको सुरुआतदेखिनै पर्यटक आगमन सुधार ९७५ प्रतिशतसम्म० ‘रिभाइब’ भइरहेको अवस्थामा अगष्टमा केही कमी आएको उनको भनाइ छ । “अघिल्लो महिनाको भन्दा अवस्था हेर्दा केही घटेको देखिन्छ, अमेरिका, बङ्गलादेश र भारतको सकारात्मक बढोत्तरी थियो, समग्रमा ६५ प्रतिशत रिभाइब भएको देखिन्छ”, निर्देशक लामिछानेले भने । इन्धनको मूल्यवृद्धिभएसँगै गन्तव्य मुलुकमा पुग्ने हवाइ भाडा महङ्गो भएकाले पनि पर्यटक आवागमनमा केही असर परेको अनुमान गर्न सकिने उनले बताए ।

अगष्टमा १६ हजार एकसय ४७ भारतीय नेपाल आएका छन् । एसिया र अन्य मुलुकबाट १८ हजार पाँच सय चार, युरोपबाट तीन हजार दुई सय २७ पर्यटक नेपाल आएका छन् । यस्तै अमेरिकाबाट चार हजार ६६ पर्यटक नेपाल आएका छन् ।

कुन महिनामा कति पर्यटक भित्रिए

बोर्डको विवरणमा जनवरीमा १६ हजार नौ सय ७५, फेब्रुअरीमा १९ हजार सात सय ६६, मार्चमा ४१ हजार छ, अप्रिलमा ६१ हजार पाँच सय ८९, मेमा ५३ हजार ६०८, जुनमा ४६ हजार नौ सय ६७, जुलाईमा ४४ हजार चार सय ६२, अगष्टमा ४३ हजार दुई सय ४९ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप