मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कविता : बाको दुःख

शनिबार, १८ भदौ २०७९, ०५ : ५५
शनिबार, १८ भदौ २०७९

बा आकाश हुन् 
आकाश पनि बेला बखत रुन्छ
आँसु बहाउँछ
तर बा पीडामा पनि आँसु लुकाउँछन्
बा शीतल चौतारी हुन्
सन्तानहरु गर्मीमा ओत लाग्छन् 
र शीतल अनुभूतिसँगै छुटिन्छन्
बा कुरिरहन्छन् सन्तान फर्कने बाटो
सन्तानको सुख खुसीका लागि 
बा अथक प्रयास गर्छन्
र छर्छन् घरमा उज्यालो बत्ती बनेर
बत्ती निभेको दशक बढी भो
आफै बत्ती बनेको
आधा दशक भएछ 
म बा सम्झिरहेछु ।

दाजुभाइका बिचमा अंशबन्डा गर्दा 
बा कसैका भाग परेनन्
भाग लागेन बाको दुःख 
बाले गुनासो गरेनन् 
झरेनन् दुःखको झरीमा पनि
सोच्छु सन्तानको खुसीका लागि 
बाले के गरेनन् ?
चिरिएका पैतालासँगै 
खाली खुट्टाले धर्ती नापे
सामयिक चुनौतीमा 
जाँचे आफूलाई ।

सन्तानको खुसी हेर्दाहेर्दै 
आफ्नो खुशी हेर्न बिर्सेका आँखा 
छोरालाई हसाउँदा हसाउँदै
हाँस्न बिर्सेका ओठ
छोराको भविष्य र चिन्तनले 
धर्सा परेका निधार
के बाका निःस्वार्थ, प्रेमका प्रतीक होइनन् ?
समयको भारी उठाएका बा 
अथक यात्री हुन् 
बा सङ्घर्षका प्रतिमूर्ति हुन् ।
           

तारकेश्वर गापा–१, दाङ्सिङ, नुवाकोट 
            हालः पोखरा–१० 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप