आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रसुवामा वैकल्पिक मार्गको व्यवस्थापन हुँदै

शनिबार, १८ भदौ २०७९, ०७ : २४
शनिबार, १८ भदौ २०७९

वैकल्पिक मार्गलाई व्यवस्थित बनाई हल्का सवारी साधनको आवतजावतमा सहज बनाउन रसुवाको उत्तरगया गाउँपालिकाले बनुवा सडकको मर्मत कार्य सुरू गरेको छ । 

बनुवा घुम्तीबाट ठूलोबनुवा, हुर्रेडाँडा, चौकेटार हुँदै बोगटीटारसम्म करिब चार किमी दूरीको ग्रामीण सडक सञ्चालनको लागि दुई स्थानमा धमाधम ग्याबिन भर्ने काम अगाडि बढाइएको हो । ढाडे र गुहेखोलाको असहज स्थानमा   ग्याबिन पर्खाल लगाउने काम ८० प्रतिशत पूरा भइसकेकाले  ग्रामीण सडकको सतहमा ग्राबेल भर्न गाउँपालिकाको डोजर तथा टिपर तयारी अवस्थामा राखिएको उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्यालले बताए ।
  
भारी वर्षाको असरले बनुवा घुम्तीको पासाङल्हामु अन्तर्राष्ट्रिय मार्ग क्षति भएपछि बिरामी बोक्ने एम्बुलेन्स एवं हल्का सवारी साधनलाई सहजरूपले आवतजावत गराउन साँघुरो ग्रामीण सडकको उपयोग गर्न लागिएको बताउँदै उत्तरगया वडा नं ५ का वडाध्यक्ष यमनाथ आचार्यले ग्याबिन भर्ने काम अब एकदुई दिनमै सम्पन्न हुने जानकारी दिए।

अबका दिनमा बोगटीटार, चौकेटार, बनुवा, कर्मिडाँडा हुँदै धैवुङकोटको ग्रामीण कृषि मार्ग निरन्तर सञ्चालन गराउने गृहकार्य भइरहेको वडाध्यक्ष आचार्यले बताए । हल्का सवारी साधनका लागि सञ्चालनमा ल्याइएको तारूके, बेल्चौर आमभञ्ज्याङ खण्डको ग्रामीण सडकले मात्र धान्न नसक्ने अवस्था आएपछि ठूलोबनुवा हुँदै चौकेटारतर्फको ग्रामीण सडक सञ्चालनको सुधारात्मक कार्य अगाडि बढेको हो ।
 
पासाङल्हामु मार्गको नालीमा बग्ने पानी व्यवस्थापन नगर्दा बनुवा घुम्ती क्षेत्रको प्रमुख सडकमा ठूलो भाग क्षति भएको र मौखिकरूपको ठेक्काबाट अगाडि बढेको पुनःनिर्माणका काम पनि कछुवाको तालमा मात्र भइरहेको स्थानीय बासिन्दा बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप