मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कथा : याङ्वो परिवारको सम्झना

शनिबार, १८ भदौ २०७९, ०७ : ४९
शनिबार, १८ भदौ २०७९

छत्यौनी खोलाको शिरमा रहेको एक टुक्रा भिरको जमिन दुई छोराहरू याङ्वो र स्याङ्बोलाई अंशबण्डा गरेर बाबु पञ्चे तामाङ बिते । 

बाबु बितेपछि स्याङ्बोले गाउँ छाड्यो । याङ्वोले दाजुले झैँ गाउँ छाड्न सकेन । बाबुले सुम्पेको ढुंगो, माटो आफ्नो सन्ततिलाई सुम्पेर मर्नुपर्छ भन्ने उसले अडान थियो । त्यसैले याङ्वोले भिरालो जमिनमा आशाको विशाल मैदान बनाएर जिन्दगी फलाउन फुलाउन संघर्ष गरिरह्यो । 

बाबु बिते । आमाले संसार छाडेको वर्षौँ भएको थियो । दाजुले पनि गाउ‘ छाडेपछि याङ्वो एक्लो भयो ।  

हि‘ड्ने बेलामा याङ्वोले दाजुलाई नछाड्न बिन्ती गरेको थियो । तर स्याङ्बोले सम्झियो स्वास्नी, छोराछोरी, सम्पत्ति । उसले गाउ‘ छाड्यो । अब याङ्वो एक्लो भयो । 

स्वर्गीय बाबुको स्मृति समयले धमिलो बनाउँदै लगेपनि शरीरभरी बाबुको रगत प्रवाह भएकाले उ बेला बेला भक्कानिन्थ्यो । सान्त्वना दिने कोही थिएनन् । झुपडी दिनभरि मजदुरी गरेर बेलुका रात काट्ने थलोमात्र थियो । शरीर प्राणरुपी चराको अस्थायी गुँडबाहेक अरु केही नभएजस्तो अनि जवानी र बैँस शरीरमा झुण्डिएका विषका पोकाजस्तो सम्झरे याङ्वो पाएसम्म रक्सी पिउँथ्यो । 

बैसालु ओठमाथि जुँगाका रेखीहरु बाक्लिदै गएको याङ्वोलाई पत्तै भएन । उसको जिन्दगीमा लाफा आई । लाफा बीसौं वसन्तले वैंस र सुन्दरता भर्दै गरेकी ग्राम युवती । लामो कपाल, पोटिलो शरीर, छरितो उचाई, बाटुलो अनुहार याङ्वोलाई चन्द्रमुहार लाग्यो । जिन्दगीका सारा रंगहरु फर्किएर फेरी चमत्कार भएजस्तो लाग्यो । 

लाफाको आगमनसँगै जीवित प्राणीको अस्थित्व बचाईराख्ने सृष्टिको नियम याङ्वोले स्वीकार गर्‍यो तर बुझेन उसले ।  जिन्दगीका रंगहरु आउने जाने गरेर यो लोकको विशाल ब्रह्माण्डमा कहाँ छिपेका हुन्छन् ? लाफा किन आई रंगहरु बोकेर याङ्वोलाई थाहा थिएन ? के हु‘दैछ र अब के हुने हो उसले पत्तो पाएन । 

धेरै दिनसम्म ऊ सम्हाल्नै नसक्ने खुसीले गद्गद् भइरह्यो ।  जे होस् याङ्वोको जिन्दगीबाट उडेका सारा रंगहरु बोकेर आएकी छे लाफा । याङ्बोले बजारबाट एक जोर रातो धोती–चोली, एक जोर चुरा, एक डोरो पोते, एक चम्चा सिन्दुर किनेर लग्यो अनि नजिकैको सेतो गुम्बामा धर्मे र उसकी स्वास्नीलाई साक्षी राखेर लाफालाई कटेरोमा भित्र्यायो । छिमेकी धर्मेकी स्वास्नीले नाक खुम्च्याई । 

 जसरी पृथ्वीको सौन्दर्य थप्न ऋतुहरू आउँछन्, याङ्वोको जिन्दगीमा पनि ऋतु आयो । चिच्याहटलाग्दो शून्यता कति छिटै हरायो । याङ्वो र लाफाको निम्ति दिन रात छोटा र रमाईला भए । लाफाले झुपडी सिंगारी । भिरालो आँगनलाई समथर पारी । कुखुरा बाख्रा पाली, आँगनमा तरकारी फलाई । उसले दुहुनो भैँसी पाल्न रहर गरी तर भैँसी किन्न रकम पुगेन ।

याङ्वो र लाफाले सुःख–दुःख गरेर त्यहाँ २० वर्ष बिताए । पृथ्वीको यति ठुलो भूगोलमा आफ्नो नामको सानो जमिनमा निसास्सिएर यति लामो समय बिताउनु सजिलो थिएन । यतिका वर्ष यी दुईले प्राण धान्न कति ढुंगा फोडेर माटो बनाए । सुख्खा पहाडलाई रसिलो बनाउन कति पसिना पोखे । रोग, भोक र शोकको प्रहारबाट प्राणको चरोलाई बचाई राख्न याङ्बो र लाफाले के सम्म गरेनन् ? 

लाफाले पाँच सन्तानलाई धर्तीमा थुपारी । दुईजना बिते । तिनलाई बचाउन उसले गाई, गोरु, बाख्रा, कुखुरा, पित्तलका मुन्द्रा, पसिना सबै बेची तर बचेनन् । शोक, भोक र रोगको घन लाफाको शिरमा बज्रियो । उ थला परी ।

शरद ऋतु सुरु भयो । सडक खन्ने हल्ला चल्यो । पल्लो गाउँको सुर्तेले आफ्नो आँगनबाटै सडक लाने भयो । यता धर्मेले पनि ऑगनैबाट सडक लैजान हातमा खुकुरी नचायो । धर्मेको आँगनबाट सडक खन्दा याङ्वोको झुप्रो भत्किने भयो । याङ्वोले सुर्ते–धर्मे, महादत्त, चुने सबैस‘ग बिन्ती  गर्‍यो तर कसैले सुनेनन् । 

हातमा खुकुरी नचाउँदै धर्मेले याङ्वोका केटाकेटीलाई हेरिरह्यो । बिरामी लाफा डोजरको अगाडि लम्पसार परी । केटाकेटी चिच्याउँदै  डिलमा उक्लिए । निमेष भरमा डोजरले याङ्बोको चुलोभरी माटो थुपार्‍यो । 

समयको घर्षणले जसरी मानिसको हाडमासु, बैँस र सौन्दर्य खियाउँदै लैजान्छ, त्यसैगरी ढुंगोमाटोको संरचनालाई पनि खियाउ‘दै अर्कै संरचनामा समाहित गराउँदो रहेछ । आकाशबाट वर्षने बेमौसमी पानीले पनि याङ्वोको आँगनलाई घरी–घरी चुँडाएर छत्यौनी खोलामा मिसाउन थाल्यो । हावाहुरी लाग्दा झुपडी ओढाएका प्लास्टिक र टिनका पातालाई उडाएर परपर पुर्‍याउँदै लान्थ्यो । सडक खनेपछि छेवैको पानीको मुहान सुक्यो । लाफाले टाढाको पानी बोक्न सक्दिनथी । केटाकेटी बोतलमा पानी बोकेर फर्किदा लडेर कयौंपटक भिरमा अड्किन्थे ।  

एक दिन बिहानै शौच गरेर फर्केपछि याङ्वो फाटेको आँगन छेउ बसेर उत्तरतिर हेरिरह्यो । लगत्तै एक जोडी पुरुष सडकको चौडाइ नाप्दै आए । तिनीहरू याङ्बोको छेवैमा आए अनि भने– ‘अब चाँडै यो सडक बढ्नेछ । हामी नाप्न आएका ।’ 

यति भनेर उनीहरु याङ्वोको चुल्होसम्म नाप्दै अघि बढे । याङ्वो भावशुन्य भएर उभिइरह्यो । लाफा  भित्रबाट निस्की । उ पनि लोग्नेसँगै भावशुन्य भएर उभिइ रही । दुवैजना निःशब्द भएर एक–अर्कालाई हेरिरहे । अनि याङ्वोले होसमा आएझैं लामो सुस्केरा हालेर भन्यो, ‘भॉडाकु‘डा पोको पार, सिरक–डसना कस्, अब म यहॉ एक मिनेट पनि बस्दिन‘ ।’ 

 लाफाले प्रश्न गरी– ‘अब कहाँ जाने त ?’ 

याङ्वो चुप लाग्यो । त्यो दिनभरि याङ्वो छटपटाइ रह्यो । लाफाले पनि शान्ति नभएको व्यवहार गरी । साँझ परेपछि लाफाले रुँदै सबै सामान पोको पारी । 

भोलिपल्ट सबेरै याङ्वो निन्द्राबाट ब्युँझियो । दुई पटक खोक्यो । बि‘डी सल्कायो । उसको खोकीले लाफा पनि व्युँझी । याङ्वोले बिँडी तानेर सक्यो र ठुटोलाई टिनको सानो प्वालबाट बाहिर फ्यॉक्यो । केटाकेटी मस्तस‘ग निदाएका थिए तर याङ्वोले जबरजस्ती उठायो, सिरक डसना कस्यो र आफैँले बोक्यो । भॉडाकुँडा स्वास्नीलाई बोकायो । केटाकेटीलाई झुपडीबाट निकाल्यो । ढोका तान्यो र ऑगनमा उभियो । 

जाने ठाउँ कतै नभएकाले उ टोलायो । स्वास्नीले भनी– ‘कहाँ जाने ?’ ऊ झस्कियो अनि छत्यौनी खोलाको पानीजस्तै आँगनबाट झरेर नाङ्लेभिरको ओरालो लाग्यो । केटाकेटी र स्वास्नी उसको पछि पछि लागे । 

मध्यान्न हुन लाग्दा उनीहरु खिम्ती खोलाको बगरमा पुगे ।  चारैतिर पहाडहरू । अगाडि घरको भित्तोजस्तो डरलाग्दो चिरे भिर ।  याङ्वोले पेटभरी खोलाको पानी खायो । त्यहाँबाट याङ्वोका पाइला अघि बढेनन् । जाने ठाउँ भए पाइलाहरुमा फुर्ती आउँछ । तर, उनीहरूका पाइलामा फुर्ती आएन । खोलामा साना माछा पौडिएको हेरेर केटाकेटी रमाए ।  

याङ्वोले मनमनै सोच्यो । सानो कटेरो बनाउ‘छु, बगरमा गिटी कुट्छु, परिवार पाल्छु...। यहीँ बस्छु । बाँचे पनि सजिलो मरे झनै सजिलो । उसले सम्झ्यो धर्मे, सुर्ते, चुने, माने अनि फेरि पहेँला दाह्रा किट्यो र मन बुझायो तिनीहरुजस्ता सामन्तीको कमी संसारमा कतै छैन । संसारमा यिनीहरुको बिगबिगी छ । यी विषालु सामन्तीको पञ्जाबाट मुक्ति हुनु मेरो निम्ति शान्तिको सबैभन्दा उत्तम उपाय हो । 

उसले आफ्नो हृदयको निर्णय लाफालाई सुनायो । लाफाले कता–कता आफैँलाई बिर्सिएझैँ फटाफट भनी– यो धराप ज्यानलाई जता लगेर राख्नुहुन्छ राख्नुस् कत्लिका बा । अब मलाई भने धेरै दिन पाल्नुपर्दैन मरिहाल्छु । 

लाफाको यस्तो वचनले याङ्वोको मुटु छिया छिया भयो । कठै जीवनमा पहिलोपटक लाफाले यति कठोर भावना पोखेकी थिई । पहाडको शिरबाट छत्यौनी खोलाको पानी कहिल्यै नफर्किने गरी तलतल बगेझै पहाडको आफ्नो झुप्रोमा कहिल्यै प्राण नफर्कने अनुमान गरी क्यारे । 

याङ्वोले लाफालाई धेरै वर्षपछि नियालेर हे¥यो । उसले कहिल्यै यसरी हेरेको थिएन । लाफालाई देख्यो, लौरोमा कपडा बेरेकी बुख्याचाजस्ती दुब्ली । रंग, रुप, बैँस जाँगर सबै समाप्त भएकी, हाड छालाको धराप संरचनाभित्र जिन्दगीलाई जेनतेन बचाएकी आईमाई । 

ग्रीष्म र वर्षा ऋतुमा पानीले पहाडलाई पखालेर शरद ऋतुमा छिया छिया देखिएको पहाडको कुरूप संरचनाजस्तो भोक, रोग र शोकले गालेको कुरूप छाला लाफाको बूढो शरीरमा घिनलाग्दो तरिकाले पोतिएको थियो । 

उसले २० वर्षकी लाफालाई सम्झ्यो । लामो कपाल, पोटिलो अनुहार, त्यो चन्द्रमुहार तर, त्यो अतित यथार्थले उसलाई तर्सायो । याङ्वोले  आफैलाई सम्हालेर केटाकेटीलाई अब यही बस्ने भन्यो । केटाकेटी डराए । 

ग्रीष्म ऋतु सकिएर वर्षा ऋतु सुरु भयो । उतरतिर दिनहु‘ पानी पर्न थाल्यो । खिम्ती खोलो झन्झन् बढेर आयो । एक दिन उतरतिरको आकाशमा मध्यान्हसम्म बादल देखिएन । तर बेलुका कालो बादलमाथिबाट घाम पश्चिमतिर डुब्यो । उनीहरुले बेलैमा भात खाएर सुते । अँध्यारो सुरु भएपछि आकाशमा कालो बादल मडारिन थाल्यो । आकाश र पृथ्वी जु‘धे झै चट्याङका भयानक झिल्काहरु चम्किन थाले । भिर–पहराका सारा बृक्ष उखेलेर फालेझैं हुरी बतास चिच्यायो । 

एकछिनमा चट्याङसहित मुसलधारे पानी बर्सिएर सारा समुन्द्र आकाशबाट खसेझै भयो । खिम्ती खोलाले सिंगो पहाडै बोकेर ल्याएझै ढुंगा, माटो र रुखहरु बगाएर ल्यायो । कुलोमा पानी भरिएर ठूलो भल कटेरोतिर आइरहेको याङ्वोले आकाशमा चम्केको चट्याङ्को उज्यालोले देख्यो । 

उसले बत्ति बालेर छोरी कत्लिलाई निन्द्राबाट उठायो, छाता झिक्यो । मध्यरातमा बाबुछोरी कुलाको पानी फर्काउन खोलातिर गए । पहाडै बगाएर ल्याएर छत्यौनी खोला पनि उर्लेर आयो ।  खिम्ती र छत्यौनी खोलाले दुईटा पहाड बगाएर ल्याए । आकाशबाट पानी रोकिएन  । याङ्वो र कत्लीलाई बाढीले छेकिहाल्यो । 

याङ्वोले लाफालाई फोन गरेर यो भवितव्य बतायो । बिरामी लाफाले आत्तिदै दुईटा केटाकेटी कटेरोबाट घिसार्दै खिम्ति बजार पुर्याई । रातभरी पानी परिरह्यो । भोलिपल्ट सबैरैे हेर्दा याङ्वोको कटेरोको निशाना थिएन । चिरे भिरको फेदमा आँखाले नभ्याउने क्षेत्रफलसम्म ठूला ठूला ढुंगा, बालुवा र काठका अनगिन्ती थुप्रा साना टाकुराझै उठेका थिए । 

आज पाँच वर्षपछि याङ्बोको सम्झनामा यो कथा लेख्दै छु । लाफा कहाँ छे ? टुहुरा केटाकेटीको के छ हाल ? 

  आज त्यही बगरमाथि सडक बनेको छ र हामी मोटरमा चढेर  घर जान्छौँ । म भने त्यहाँ पुग्दा आँखा चिम्लन्छु । किनकि, आफू चढेको मोटर कतै कत्ली र उसको बाबु याङ्बोको छातीमाथि दगुरेको त छैन ? मन फुलेर आउँछ । छत्यौनी खोला तरेपछि मात्र आँखा खुल्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप