मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

विमानस्थलको भीआईपी कक्षबाट मुस्लिम आयोगका अध्यक्षले भगाए ठगी मुद्दाका फरार आरोपी

मेरियट होटलबाट पक्राउ
शनिबार, १८ भदौ २०७९, १० : २२
शनिबार, १८ भदौ २०७९

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले ठगी मुद्दामा फरार आरोपीलाई त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाट भगाएका छन् । दुबईबाट काठमाडौँ आएका सुनसरी घर भएका ३० वर्षीय रिजवान आलमलाई अध्यक्ष अन्सारीले भीआईपी कक्षबाट आफैँले रिसिभ गरेर बाहिर ल्याएका हुन् ।  

शुक्रबार बिहान अन्सारीले प्रहरीलाई छक्याएर भगाएका आरोपीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले राती मेरियट होटलबाट पक्राउ गरेको छ । होटलमा अर्को व्यक्तिको नाममा कोठा बुक गरेर उनलाई राखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् । 

रिजवानलाई विमास्थल सुरक्षा कार्यालयको पत्रको आधारमा पक्राउ गरेर बुझाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईले रातोपाटीलाई बताए ।

मुस्लिम आयोगका अध्यक्ष अन्सारीले शुक्रबार दुबईबाट आउने ५ जना डेलिगेट्सका लागि भीआईपी कक्ष प्रयोग गर्न गृह मन्त्रालयबाट अनुमति लिएका थिए । उनीहरुलाई रिसिभ गर्न विमानस्थल पुगेका अन्सारीले फरार आरोपी आलमलाई पनि माला र खादा लगाएर आफ्नै गाडीमा राखेर लिएर हिँडे । ५ जना लाई भीआइपी कक्ष प्रयोग गर्न अनुमति दिइए पनि ६ जनाको पासपोर्ट चेकजाँचका लागि अध्यागमनमा पठाइएको थियो । 

पासपोर्ट चेकगर्दा रिजवान आलम कालोसूचीमा रहेको खुलेपछिअध्यागमनका कर्मचारीले प्रहरीलाई खबर गरेका हुन् । गएराति ९ बजे नक्सालस्थित होटल मेरिटबाट उनलाई प्रहरीले पक्राउ गरेर प्रहरी वृत गौशालाको हिरासतमा राखेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंले २०७८ फागुन २७ मा आलमसहित ११ जनाको नाममा पक्राउ अनुमति लिएको भेटिएको छ । आलम पनि ५ जना दुबईका डेलिगेट्ससँगै दुबइबाट काठमाडौं आएका हुन् । फरार आरोपी सहितका पाहुना शुक्रबार बिहान दुईबाट त्रिभुवन विमानस्थलमा उत्रिएका थिए ।

अन्सारी विवादमा मुछिएको यो पहिलो पटक भने होइन । अध्यक्षमा सिफारिस भएपछि संसदीय सुनुवाइका क्रममा उनको नागरिकता फर्जी भएको उजुरी परेको थियो । गत स्थानीय निर्वाचनमा जनकपुरधाममा पैसा बाँडेको आरोप लागेपछि स्थानीय बासिन्दाले उनी बसेको होटल घेराउ गरेका थिए । उनलाई प्रहरीले रेस्कयू गरेर भगाउनुपरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप