मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

ऐतिहासिक कथा : महारानी इन्दु (राजेश्वरी)–४

शनिबार, १८ भदौ २०७९, १४ : ३९
शनिबार, १८ भदौ २०७९

हामीले वीर र वीरङ्गनाका धेरै कथाहरु सुनेका छौं । दक्षिण एसियाको सबैभन्दा पूरानो मुलुक नेपाल साँच्चै नै वीरहरुको मुलुक हो भन्ने कुरामा पूरा विश्व जानकार छ ।

नेपालले आफ्नो स्वाधीनताका लडाइँहरु लडिरहँदा  थुप्रै महिला तथा बालबालिकाहरुले वीरतापूर्वक लडेको बाहेक कुनै वीराङ्गनाहरुको बहादुरी चर्चा गरेको पाइँदैन । तर इतिहासमा यो देशमा त्यस्ता थुप्रै वीराङ्गनाहरु पनि थिए, जसको चर्चा हुनु आवश्यक थियो । 

हाम्रो देशमा त्यस्ती एक महिला पनि थिइन्, जसले दक्षिणी बादशाहलाई धुलो मात्र चटाइनन्, बङ्गाली बादशाहले बन्दी बनाएका दुई सेन राज्यका राजाहरुलाई उनीहरुको कब्जाबाट मुक्त पनि गराइन् । राजाहरुको अभावमा रहेका दुईवटै राज्यको ११ वर्षसम्म राज्य सञ्चालन पनि गरिन् । यहाँ तिनै वीराङ्गना मकवानपुरे सेन राजा हरिहर सेनकी नातिनी बुहारी विजयपुरका प्रथम राजा विधाता इन्द्र सेनकी रानी महारानी इन्दुको वीरता प्रस्ट्याउने प्रयास गरिएको  छ ।     


भाग चार

मकवानपुर र विजयपुरका राजाहरु बंगाली नवावको छलकपटका कारण बन्दी भएको १० वर्ष पुगेर ११ वर्ष लागिसकेको छ । वि.सं. १७६३ साल असोजतिर बन्दी बनेका राजाहरु १७७४ सालको सुरुसम्म पनि मुक्त हुन सकेका छैनन् । आफ्ना राजाहरुलाई मुक्त गराउन महारानी इन्दु राजेश्वरीले धेरै नै प्रयास गर्छिन् । 

यो ११ वर्ष महारानी इन्दुले मुज्जप्फपुरदेखि छपरा र जलपाइगुडी सम्मका सीमाक्षेत्रमा बंगाली सेनासँग लडाइँ लडी उनीहरुलाई हायल कायल पार्छिन् । राजालाई बन्दी बनाइएका सूचनाका आधारमा धेरै ठाउँमा हमला गर्छिन् तर राजाहरुलाई स्थानान्तरण गर्दै दिल्लीमा मजबुत किल्लामा कैद गरिन्छ ।  

“महारानी अब लडाइँलाई विट मार्नुपर्छ । चाँडोभन्दा चाँडो हामीले लडाइँलाई अन्त्य गरेनौँ भने हामी धेरै नै कमजोर हुन्छौं । हाम्रा सेनाहरु घट्दो छन् । छिमेकी राज्यहरुले पनि भरपर्दो सहयोग गरेका छैनन्,” विजयपुरका मन्त्री श्रीकान्त रायले महारानी इन्दु राजेश्वरीसँग भन्छन् । 

आफ्ना सबैभन्दा भरपर्दा र वीर लडाकुसमेत रहेका मन्त्रीको यस्तो निराशाजनक कुरा सुनेपछि महारानी इन्दु मलिन हुन्छिन् । र मलिन स्वरमै भन्छिन्, “श्रीकान्त ! के अब हामीले हार्यौं त ? के अब हामीले हाम्रा राजाहरुलाई सधैँका लागि गुमायौं ? यत्रा वर्षसम्म लडाइँ लडेको सब बेकार भएकै हो ? हामी हाम्रा राजाहरुलाई बन्दी बनाई धर्मच्युत गराइँदा पनि लाचार बनेर आँसु मात्रै झार्न विवश भएका हौं ?  के मकवानी इतिहास यही हो ? किराती वीरता यही हो ? पक्कै होइन श्रीकान्त पक्कै होइन ।’  

‘हो, हाम्रो लडाइँ लामो र परिणामविहीन जस्तै बन्दै गएको छ । तर हामीले लडाइँ हारेका छैनौं । हामीले लडाइँमा बंगाली सेनाको जस्तो आफ्ना सेना गुमाएका छैनौं । यो लडाइँमा हामीले हाम्रो भूमि बढाउँदै गएका छौं । हाम्रै कारण उनीहरु सीमाना वरपर आउन डराइरहेका छन् । उनीहरु हामीसँग हायल कायल भएका छन् । तर पनि बंगाली नवाव हामीसँग झुक्न चाहिरहेको छैन । उ हामी भन्दा धेरै हतोत्साही पक्कै भएको छ । यो ११ वर्षसम्म उसले हामी विरुद्ध एउटा पनि आक्रमण गर्न सकेको छैन । हामी विरुद्ध प्रतिकारमा मात्रै सीमित छ । र, पनि तपाईं यति धेरै निराश किन हुनुभएको श्रीकान्त ?’ महारानीले बेली बिस्तारसहित प्रश्न गरिन् । 

‘श्रीकान्त ! नवावले लडाइँ नै त्यस्तै खालको सुरु गर्यो । यो लडाई महाराजहरुको फिर्ती बिना कुनै पनि शर्तमा अन्त्य हुनै सक्दैन । यदि हाम्रा राजाहरुको रिहाइ भएनन्, उहाँहरुलाई प्राणदण्ड दिइयो वा बन्दी अवस्थामा नै उहाँहरुको परलोक भयो भने पनि मेरो, तपाईंको वा देवर बाबुहरुको  मृत्यु नहुज्जेलसम्म नवाव विरुद्ध लडाइँ हुन्छ । त्यो अवस्थामा नवाव वा हाम्रो मृत्युपछि मात्रै लडाइँ अन्त्य हुन्छ । यो हामी र हाम्रो राज्य विरुद्धको घोर अपमान हो । यो अपमानको बदला नलिई लडाइँलाई बिट मार्ने कुरा म सोच्न सक्दिन,’ महारानी इन्दु अफ्नो अडानबाट टसको मस भइनन् ।

“महारानी मेरो मतलब महाराजहरुलाई बंगालीकै कब्जामा छोडेर युद्ध रोकौं भन्ने पक्कै होइन ।  नवावलाई चिहानमा पुर्याउन सबै प्रकारका रणनीति अपनाऔं भन्न खोजेको हो । हामी विरुद्ध सबै खालका जालझेल र छलकपट गरेको नवावविरुद्ध हामी पनि घातक र  जालझेलपूर्ण आक्रमण गरौं भन्न खोजेको हो,” मन्त्रीले आफ्नो उद्देश्य प्रष्ट्याउँदै भन्छन्,  ‘महारानी छलकपटका विरुद्ध छलकपट, घातका विरुद्ध प्रतिघात । युद्धका सबै नियमहरु खारेज गरी हामीलाई घातक आक्रमणको अनुमति दिइबक्स्योस महारानी ।’ 

 

........

उता, निराश र हतास भएका राजा शुभ सेन एघार वर्ष भन्दा बढी बन्दी हुनु परेकोमा साह्रै नै विछिप्त बनेका छन् । मानसिक रुपमा कमजोर बनेका शुभ सेन विधातासँग रिहाइका लागि प्रतिवर्ष हर्जना तिर्न तयार हुनुपर्ने बताउँछन् । “विधाता हामी अब रित्तियौं, न हामीसँग राज्य रह्यो, न हाम्रा आफ्नाहरु हामीसँग भए ? हामी जिउँदो लाशजस्तो बनेर राज्यच्युत, जातच्युत अनि धर्म च्युतसमेत भएर कुकुर जस्तो चौघेरामा थुनिएर बस्नु भन्दा नवावसँग सम्झौता गरेर यो नर्कबाट फुत्किनुपर्छ । 

“काका यो कस्तो कायरतापूर्ण प्रस्ताव हो हजुरको ? हजुरलाई कसले भन्यो हामी रित्तियौं, हाम्रा आफ्नाहरु हामीसँग छैनन् भनेर ? हजुर हार नखानुस काका ! महारानी इन्दुले मलाई माया मार्न सक्दिनन् । उनले हामीलाई जुनै पनि शर्तमा यो नर्कबाट निकाल्छिन् । हामीलाई हाम्राहरुले माया मारेका छैनन् । यदि त्यस्तो हुन्थ्यो भने नवावले हामीलाई रिहाइ गरिसकेको वा मारिसकेको हुन्थ्यो ।” विधाता विछिप्त काकालाई सान्त्वना दिने प्रयास गर्छन्, “काका हजुर ! हाम्रो मन्त्री श्रीकान्तको भक्तिभाव मृत्युले मात्रै हर्न सक्छ, उ जीवित छ भने हाम्रो मुक्तिका लागि खुकुरी चलाइरहेको छ र मरेको छ भने पनि उसको आत्माले हाम्रो जीतका लागि चित्कार गरिरहेको छ,” उनले थप्छन् ।

“बाबु  मलाई तिम्रा भाइहरुको धेरै याद आइरहेको छ । तिम्री काकीहरु, त्यो दरबार, त्यो प्यारो राज्य, ती हँसिला मेरा प्रजाहरु अहिलै भेट्न मन छ ।  त्यो ढुङ्गे किल्लाबाट हर्ना र माडी फाँट अनि हिडम्डा हेर्न आतुरता जागेको छ । गुफा छाँगामा स्नान गरेर राजगुरुको हातबाट जनै र मेरो प्यारो धर्म धारण गर्न लालायित भएको छु म । गुफा छाँगाको जल लिएर राजदेवीलाई अर्पण गर्दै सोध्न मन छ, माते हामीलाई कुन पापको सजाय दियौं भनेर ?  म निसास्सिई सकेँ बाबु, म आत्तिसके” ।  

राजा शुभ सेनको हतास मानसिकता अनि विछिप्त अवस्थाको बारेमा नवावले थाहा पाए त्यसको फाइदा लिन सक्ने देखेका विधाताले काकालाई सान्त्वना दिन कुनै कसर बाँकी राख्दैनन् । 

यस अघि काकालाई समेत नभनेका गुप्तचरी सूचनाका बारेका काकालाई जानकारी गराउँछन्,  “काका हजुर, हामीलाई बंगाली सेनाले र नवाजले सुनाएका सबै कुरा झुठा हुन् । ती हजुरलाई र मलाई गलाउन रचिएका जाल मात्र हुन् । उनीहरुका कुरा सुनेर हामीले आफूलाई कमजोर बनाउनु पटक्कै हुँदैन । हजुरको उपचार गर्न आउने वैद्यको सहयोगीले हाम्रा तर्फबाट गुप्तचरीको काम गरिरहेको छ । उसले हामीलाई हाम्रो राज्यमा भइरहेको गतिविधि मात्रै हैन, हाम्रा राज्य र हामीविरुद्ध बंगालीका तर्फबाट भइरहेका र हुन सक्ने सबै जानकारी हामीलाई दिइरहेको छ । 

हाम्रा तर्फबाट महारानी इन्दु लडाइँको नेतृत्व गर्दै जलपाइगुडीमा छिन् । महारानीले घात लगाएर आक्रमण गर्ने रणनीति लिएका कारण बंगाली सेनामा हाहाकार मच्चिएको छ । हजारौं घाइते सेनाको उपचारमा वैद्यखानाहरु भरिएका छन् । बंगाली सेनाहरु लडाइँमा जान मानिरहेका छैनन् । काका हजुर अब हाम्रो मुक्ति निश्चित छ, धेरै हतास नहोइबक्स्योस् । 

उता, लडाइँको नेतृत्व गरिरहेकी महारानी इन्दुलाई केही पत्र प्राप्त हुन्छन् । बुटवल, पाल्पाले मकवानपुर र विजयपुरको संयुक्त सेनालाई सहयोग गर्न आफ्ना दक्ष सेनाको पहिलो खेप पठाइसकेको, तनहुँले लडाइँमा मकवानपुरलाई सहयोग गर्न एघार सय सेना पठाउने प्रतिवद्धता गरेको र चाडबाडमा माइती नआएकी भन्दै महारानीलाई जसरी पनि माइत आउन निमन्त्रणा गरिएको गरी चार वटा पत्र  महारानीलाई प्राप्त भएका हुन्छन् । 

वुटवल, पाल्पा र तनहँुका राजाहरुलाई एउटै व्योहोरामा महारानीले छोटकरीमा जवाफ लेख्छिन् । “महाराज कूलवधुका तर्फबाट ढोग ! सहयोगका लागि दिलैदेखि कृतज्ञता । बंगालीले बन्दी बनाएका दुबै महाराज हजुरका खुनका नाता हुन् र त हजुरका मनमा उहाँहरुको सुरक्षाका लागि चिन्ता जाग्यो । सहयोगको बदलामा तत्काललाई दिने कुरा केही नभएपनि आगामी दिनमा अवश्य पनि हजुरका राज्यका पक्षमा सदा प्रतिवद्ध हुनेछु । उही इन्दु ।” 

महारानीले आफ्नो माइतीतर्फ पनि एउटा पत्र लेख्छिन् । “शक्तिशाली देशका महाराजमा एक निरीह छोरीको तर्फबाट प्रणाम ! एउटी छोरी पति वियोगमा छटपटाइरहँदा, दशकौंसम्म नर्कमा बन्दी जीवन बिताइरहेका जीवनसाथीलाई सम्झेर आत्मडाहमा जलिरँदा पनि अनदेखा गर्नु हुने हजुरप्रति यो अवलाको कुनै आशा र भरोसा रहेन । सहयोगका याचनासहित मैले पठाएका पचासौं पत्रहरुको जवाफ आजसम्म पनि पाउन सकिन । 

बुटवल, पाल्पा र तनहुँले समेत हाम्रो सहयोगका लागि सेना पठाइसक्दा पनि हजुरले छोरीको सहयोगमा कुनै पनि चासो नदिँदा मलाई साह्रै चित्त दुखेको छ । तर पनि हजुरप्रति गुनासो छैन । हजुरले दिनुभएको ज्ञान र सीपका कारण म आज लडाइँको नेतृत्व गरिरहेको छु ! 

उही अभागी छोरी इन्दु, जलपाइगुडी ।”

  क्रमशः 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप