मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पुण्य कार्कीका कथाः जनयुद्धको सजिव चित्रण

शनिबार, १८ भदौ २०७९, १४ : ५०
शनिबार, १८ भदौ २०७९

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा जन्मेर त्रियुगा नगरपालिकामा स्थायी बसोबास गर्दै आएका साहित्यकार पुण्य कार्की (२०२७) लेखन र शिक्षण कार्यमा संलग्न छन् । मोफसलका चर्चित सर्जक कार्कीले मूलतः आख्यान, कविता र काव्य फाँटमा सङ्ख्यात्मक र गुणात्मक दुबै किसिमले उच्च छवि बनाएका छन् ।

हालसम्म उनका ‘बाघले घाँस खायो’ (०५४, कविता सङ्ग्रह), ‘मखमली’ (०५७, कथा सङ्ग्रह), ‘जीवनयात्रा’ (०५७, लघुउपन्यास), ‘कविको छैटौँ इन्द्रिय’ (०६०, निबन्ध सङ्ग्रह), ‘मध्यरातमा’ (०६२, कथा सङ्ग्रह), ‘हर्कुलसको खोजी’ (२०६३, निबन्ध सङ्ग्रह), ‘आस्थाको अग्निपथ’ (०६५, कविता सङ्ग्रह), ‘दुःख’ (२०६८, काव्य), ‘रातको सुन्दरता’ (२०६९, निबन्ध सङ्ग्रह), ‘जाग्रत आँखाहरू’ (२०७३, निबन्ध सङ्ग्रह), ‘जून, जुने जुनेली रात’ (२०७५, कथा सङ्ग्रह), बङ्लङ बङ्लङ (२०७७, निबन्ध सङ्ग्रह) प्रकाशित छन् । 

त्यस्तै बालसाहित्यमा ‘असल बन्छु’ (०६३, कविता), ‘बलभन्दा बुद्धि ठूलो’ (०६३, लोककथा) र ‘सानीको रहर’ (२०७३, कथा) र अन्यमा ‘बलिदानीका गाथाहरू’ (०६४, सहिद जीवनी), ‘महान् व्यक्तिका प्रेरक प्रसङ्गहरू’ (०६४, भाग १–४), राजदेव सिंहको वारेमा धारावाहिक जीवनी, ‘ओशोका कथाहरू’ (अनुवाद) ‘शिक्षामा क्रान्ति’ (अनुवाद) आदि प्रकाशित भइसकेका छन् ।

२०४७ सालमा ‘नवपालुवा’ पत्रिकामा ‘सुनिश्चित पाइलाहरू’ कथा प्रकाशन गरेर कथामा पाइला चालेका कथाकार कार्कीले आफ्ना कथामा समाजका विषमता, विसङ्गति र अन्यौलग्रस्त परिस्थितिको चित्रण गरेका छन् । कार्कीले आफ्ना कृतिमा समाजका कुकर्मीले आहत र सोझासीधा जनताले राहत पाऊन् भन्ने मनसाय राखेका छन् । 

‘उज्यालोको जयगान र अँध्यारोलाई मर्दनवाण ताकेर कालो रातको मुटु क्षतविक्षत पार्नु मेरो लक्ष्य हो । प्रकृतिमा उज्यालो दिन त चिरस्थायी थिएन, त्यसलाई कालो रातले लखेट्यो । झन् रात त अजम्बरी छँदै छैन, यो पनि उज्यालोको उषाको आगमनपछि विदा हुन्छ, धर्तीबाट’ (कार्की, २०६२ :भूमिका) । 

यसरी उनी समाजमा थिचोमिचो गर्ने र विभेदकारी चालचलन हटेर रामराज्य स्थापना हुनुपर्छ भन्ने कुरामा जोड दिने साहित्यकार हुन् । यसै पृष्ठभूमिमा तिनै कृतिका आधारमा कथाकार कार्कीका कथागत प्रवृतिको खोजी गरी विश्लेषण गरेर निचोड निकाल्दै मुख्य मुख्य प्रवृत्तिलाई बुँदागत रूपमा यस लेखमा प्रस्तुत गरिएको छ ।

कथा प्रवृत्तिको खोजी

कथाकार कार्कीले ‘मखमली’,‘मध्यरातमा’ र ‘जून, जुने जुनेली रात’ गरी तीन कथासंग्रह कृतिमार्फत् पिछडिएका वर्गको मुक्तिमार्ग पहिल्याएका छन् । ‘जनयुद्धका क्रममा देखे, भोगेका कुराहरूलाई रिठ्ठो नविराई प्रस्तुत गरेका छन्’ (आचार्य, २०६५ :४५) । यसरी बहुसङ्ख्यक शोषित, पीडितप्रतिको गम्भीर चासो, राष्ट्र र राष्ट्रियताप्रतिको गम्भीर संवेदनशीलता, समाजप्रतिको दायित्व बोध र प्रगतिशील राजनैतिक सचेतना जस्ता कुराहरू कथाकार कार्कीका प्रमुख विशेषता बनेका छन् । 

‘उनका कथाहरूले सामन्ती संस्कार, दास मनोवृत्ति र सामाजिक शोषणले लाटो पारिएका मनहरूमा विद्रोह सञ्चार गर्छन् । अज्ञानता र अशिक्षाले सुषुप्त मनमा जागृति भर्छन् र मानवद्वोषीद्वारा गरिएको असह्य अत्याचारले पलायन भएका मनहरूमा आँट र उत्साह छर्छन्’ (ज्ञवाली, २०६२ :बाहिरी पृष्ठ) । 

स्रष्टा कार्की वर्तमानको जग बलियो पारेर भविष्य सपार्न खोजेका छन् । साहित्य, कला र संस्कृतिको जगेर्नाबाट समाज रूपान्तरण गरी नवीन अध्याय थप्न सकिने विचार राखेका छन् । उनी उदयपुरे धर्तीबाट जनयुद्धको सजीव चित्र उतार्ने पहिलो स्रष्टा कहलिएका छन् । 

उनले राष्ट्रिय स्वाभिमानलाई आफ्नो आदर्शपुञ्ज ठान्ने गरेका छन् । उनले आजका कमरेडहरूले सुविधाभोगी नभई निस्वार्थी मनले जनसेवामा समर्पित हुनुपर्ने आवाज उठाउने गरेका छन् । उनले कलमी कर्ममार्फत् लोक कल्याणमा शहादत हुनेहरूप्रति श्रद्धा र आस्था खन्याएका छन् ।

समाजमा व्याप्त अन्याय, अत्याचार, शोषण, दमन आदिको विरोध गर्ने अभीष्ट बनाएका छन्् । ‘कार्कीका कथामा लोभलालच, वैयक्तिक स्वार्थ, नाफाखोरी प्रवृत्तिले मानिसको हित हुन नसक्ने भाव व्यक्त गरिएको छ । शोषित, पीडित, दुःखी र निम्न वर्गका पीडाप्रति कार्कीका कथा संवेदनशील बनेका छन् । यस्तो भावना लेखकीय मध्यस्वरको मान्यतासँग निकट छ’ (गिरी, २०७५ :३०८) । 

कथामा उनले देशको सामाजिक आर्थिक दुरावस्थाको चित्रण र वर्गीय दृष्टिकोणका साथै निम्न वर्गप्रतिको सहानुभूति, नेपाली समाजमा विद्यमान भोक, रोग, अशिक्षा, गरिबी, अभावजस्ता कुराहरू उतारेका छन्् ।

उनी समाजको सामाजिक जनजीवनलाई प्रगतिवादी चिन्तनबाट कथामा प्रयोग गर्न सिपालु छन् । कथामा राज्यआतङ्कको खुलेर भत्र्सना गरेका छन् । उनले लेखनीका माध्यमबाट राष्ट्रप्रेमी र राष्ट्रसुधारको स्वर गुञ्जाएका छन् । 

‘जनता, जीवन र जमिनको मर्म छोइएन भने साहित्य सिर्जना अर्थहीन हुन्छ भन्ने मान्यताका हिमायती कार्कीका रचनाले जनताको बोली बोल्छन् । गरिबी र अभावको पीडाबाट घाइते बनेका जनताको समस्या सुल्झाउनुपर्ने आवश्यकता औँल्याउँछन् । 

अन्यायमा परेर थिचिएका जनतालाई जोश, जाँगरका साथ उठेर हक अधिकार उपयोग गर्दै स्वाभिमानी पूर्ण स्वाधीन जीवन जिउन सक्षम छौँ हामी भन्ने आत्मविश्वास दिलाउँछन्’ (न्यौपाने, २०६७ :५८१) । उनी कथामा श्रमजीवीहरूको आवाज बुलन्द पार्दै विजय निश्चित रहेको आशावादी विचारसमेत प्रेषण गर्छन् । यसरी समाजको वर्गीय विसंगतिका बीचमा कथाको कथ्य फेला पार्ने कार्की समसामयिक कथा जगत्मा सबल कथाकार ठहरिएका छन् ।

उनले कथाकृतिमार्फत् नेपालीहरू बीचको अखण्ड राष्ट्रिय एकता र मेलमिलापको प्रशंसा गरेका छन् । आमूल परिवर्तनको पक्षमा उभिएर चेतना छर्नेजस्ता प्रवृत्ति लिएर कार्की साहित्यमा देखिएका छन् । ‘आर्थिक असमानता र संवेदनाहीन राजनैतिक कार्यशैलीका कारण उत्पीडित वर्गीय पक्षधरता प्रस्तुत गरी पुण्य कार्कीका कथामा प्रगतिशील चिन्तनको पक्षपोषण भएको छ’ (शर्मा, २०७४ :३६) । यसरी सर्जक कार्कीले यथास्थितिवादी र पश्चगमनवादीहरूको झाँको झारी अग्रगमनको दिशामा लाग्न उक्साएका छन् ।

अहिलेको समकालीन यथार्थका बहुल पाटालाई रचनाकर्मका माध्यमबाट स्रष्टा कार्कीले आफ्नै ठाउँबाट सार्थक र उद्देश्यमूलक ढंगले गरेका छन् । ‘नारीमाथि हुने गरेको हिंसा तथा शोषणको विरोध गरी समतामूलक समाजको अपेक्षा गरेका छन् । जनप्रतिनिधि भनाउँदाहरूको दुराचारको पर्दाफास गरेका छन्’ (श्रेष्ठ, २०७५ :३७०÷३७१) । उनी आफू साहित्य साधनामा निरन्तर लागेका छन् र अनुजवर्गलाई पनि समाजसापेक्ष अग्रगामी सोचयुक्त साहित्य लेख्न उत्प्रेरित गरिरहेका छन् ।

आफ्नो इमान्दार कर्मका अतिरिक्त साहित्यका माध्यमबाट समेत आगामी पुस्तालाई समाज रूपान्तरणको काम उत्प्रेरित गर्न सकिने विचार प्रेषण गरेका छन् । ‘कार्की यस परम्पराका निकै सवल कथाकार हुन् । उनका कथाले नेपाली जीवनका सबल बिम्बहरूलाई तीव्र आलोचनाका दृष्टिले हेर्ने काम गरेका छन् । मानवीय शाश्वतता संवेदनाका स्वरूप र त्यस्ता मूल्य माथि कुठाराघात गर्ने गरी नेपाली समाजमा जरो गाडेर बसेका सामन्ती चिन्तन र विकृतिहरू राम्ररी ठम्याउने काम कार्कीका कथामा भएको छ’ (सुवेदी, २०५९ :३२) । 

यसरी निरीह वर्गका मानिसहरूको दयनीय स्थितिको चित्रण, सरल, वर्णनात्मक शैली र प्रायः रैखिक ढाँचाको प्रयोग कथाकार कार्कीको परिचय र पहिचान बनेको छ ।

कथागत विशेषता

कथाकार पुण्य कार्कीका ‘मखमली’,‘मध्यरातमा’ र ‘जून, जुने जुनेली रात’ गरी तीन कथासंग्रह प्रकाशित छन् । फुलटाइमर जागिरे भएका कारणले फुलटाइमर लेखक बन्न सकेका छैनन् । हरदम व्यस्त जीवनमा रमाउन पाए सन्तोष ठान्ने स्वभावका कार्कीले आफ्नो कलमलाई संख्यात्मकता र गुणात्मक दुबैतर्फ झुकाएको उनका कृति नियाल्दा र अध्ययन गर्दा स्पष्ट हुन्छ । माथि विवेच्य ‘मध्यरातमा’ कथा संग्रहका आधारमा कथाकार पुण्य कार्कीका कृतिगत विशेषताहरूलाई निम्न बमोजिम केलाउन सकिन्छ ।

जनयुद्धको विषयवस्तुमा केन्द्रीत

उनका कथासंग्रहका अधिकांश कथाहरू द्वन्द्व, जनयुद्ध तथा सार्वजनिक सरोकारसँग सम्बन्धित छन् । ‘तपस्वी बधशाला’मा कथामा जनयुद्धका एक होनाहार सपुतलाई कायरतापृ्र्वक अवसान गरिएको छ । ‘जोर अर्थी’ कथा अर्को जनयुद्धसँग सम्बन्धित सशक्त कथा हो । यस कथामा जनयुद्धमा लागेकै ठानेर हीरा सर मारिएका छन् । 

अर्को जनयुद्धसँग सम्बन्धित सशक्त कथा हो– ‘मछलीवाला’ । यसमा एक मैथिलीभाषी जनयुद्धका सहयोद्धाको जीवनचर्यालाई सशक्त ढंगले प्रस्तुत गरिएको छ । जनयुद्धका योद्धा–सहयोद्धाहरूका टाउकाहरू बेचेर धन थुपार्ने जल्लादहरूको हविगत अत्यन्त प्रभावकारी ढंगले उद्घाटन गर्ने काम ‘सौदागर’ कथाले गरेको छ । 

‘प्रेसर कुकर’ कथा अर्को जनयुद्धसँग सम्बन्धित सशक्त र कारुणिक कथा हो । यस कथामा जाबुके जस्तो अबुझ ठिटोलाई जनयुद्धलाई सहयोग गरेको नाममा जेलमा जाकेको घटना वर्णित छ । ‘यानीमाया’ कथामा जनयुद्धको एक सिपाहीको कारूणिक अवसानको चर्चा छ । यानीमायाका श्रीमान् अभागी मानिएका हरेक मुक्तिकामीहरूको मुक्तिकार्यमा अहोरात्र खटिएका एक निडर जनयुद्धका सिपाही हुन् । श्रीमान्ले जनयुद्धका क्रममा पहाडभन्दा गह्रौँ मृत्युवरण गरे । त्यसपछि यानीमायाको जीवन पनि उनकै अधुरा सपनाहरू पूरा गर्न केन्द्रित भएर जनयुद्धलाई मलजल दिन समर्थवान् भएको छ । 

सरकारी सुरक्षाकर्मीको कलुषित नजरबाट बच्दै युद्धका लडाकुहरूलाई सामलखाजा पुर्याउने काममा यानीमायाले खेलेको भृ्मिका कथाको अर्को बलियो पाटो हो । सुरक्षाकर्मीको अपराधिक सोचलाई छक्याएर उनी ज्यान बचाउन सफल हुन्छिन् । यसरी जनयुद्ध र द्वन्द्वलाई मूल कथ्य बनाउनु कार्कीको विशेषता रहेको छ ।

युगीन यथार्थको प्रतिविम्वन

कार्कीले कथासंग्रहमा संकलित युगीन यथार्थको प्रतिविम्बन गरेका छन् । २०५२ फागुन १ गतेदेखि थालिएको जनयुद्धभरि जनताले भोगेका दुःख, पीर र वेदनाहरूको यथार्थ चित्र कथामा उतारिएको छ । रोग, भोक र शोकले लखतरान जनताको आवाज बनेर कथाहरू देखिएका र लेखिएका छन् । 

त्यसबेला जनताले तौली तौलीकन शब्दहरू बोल्नुपथ्र्यो । आफ्ना मनका करुण भावहरू पनि त्यसै गुम्स्याएर फुस्रा शब्दहरू मात्र प्रयोग गर्नुपथ्र्यो । आँसु चुहाउन पनि मनग्गे आँट गर्दा मात्र संभव थियो । हरेक सर्वसाधारण जनताका आँखाका सपना चारैतिर छरिएका थिए । अमानवीय घटनाको कुनै लेखाजोखा थिएन । पीडा ओकल्न गाह्रो थियो, राज्यविरुद्ध बोल्नै साह्रो थियो । त्यसबेला ठूलै जोखिम मोलेर यी कथासंग्रह प्रकाशित भएको मान्नुपर्छ । यी संग्रहका हरेक कथाले युगीन आवाज घन्काएका छन् ।

जीवन भनेको दुःख, वेदना, आँसु, हाँसो, यन्त्रणा, दमन, प्रतिरोध, घात, प्रतिघातहरूकै चेप हुँदै बग्ने गर्छ । ‘स्वलाप’ कथाकी विधुवा नारी आफृ्ले पति गुमाए पनि आफ्ना दुई छोराहरू बाबुको बाटोमा हिँडेकोमा सन्तोष मान्दछिन् । उनका छोराहरू क्रान्तिको मैदानबाट उनलाई चिठीमा लेख्छन्– क्रान्तिको महाअभियानमा पस्नु, यस्तो विश्वविद्यालयको विद्यार्थी हुनु मेरो अहोभाग्य हो । यहाँ जो पनि आजीवन विद्यार्थी नै रहिरहने रहेछ । सिकेर सिकी नसकिने अथाह कुराहरू रहेछन् यहाँ । जानेर जानी नसकिने अनन्त कुरा रहेछन् यहाँ । यहाँ यस्तो पनि देखियो आमा ! युगौयुगदेखि उत्पीडनमा परेर लाटिएका जिब्राहरू छुराजस्तो धारिलो भएको पनि देखियो । 

सन्दुक खोल्न नजान्ने हातहरू बन्दुक चलाउन जान्ने भएको पनि देखियो । टोपीमा, तन्नामा दिनभरि कार्चोपी बुट्टा भर्ने बहिनीहरू कम्मरभरी कार्तुसको माला भिरेर युद्धको गीत गाउँदै रनबन चाहरेको पनि देखियो । कपुरी क नजान्ने हातहरू, हामी निरंकुशताका कैदी हैनौँ स्वतन्त्रता, समानता र न्यायका सेनानी हौँ भनेर भित्ता भित्तामा गर्जना कोर्ने भएको पनि देखियो । 

यस विश्वविद्यालयको प्राङ्गनमा त यस्तो लाग्छ, हावाको सुसाइभित्र जुलुसको तुमुल ध्वनि मिसिएर आएजस्तो, गृहिणीले घुमाएको जाँतोमा जनता खाने घुन कीराहरू, मकै कोदोसँगै पिसिएर आएजस्तो चराहरूको चिरविराहटभित्र नयाँ दिनको स्वागत गान भेटिन्छ यहाँ । नदीहरूको कुलकुलाहटभित्र धर्तीकै उमङ्ग छचल्किएको आभास मिल्दछ यहाँ । यहाँ हरेक चीज नौलो छ, नयाँ छ । युद्ध भन्ने कुरा सिकेर जान्ने कुरा होइन रहेछ । हामी व्यवहारबाट धेरै कुराहरू सिक्दै जादैछौँ’ (कार्की, २०६२ :९२–९४) । यसबाट जनयुद्धताकाको भयावह अवस्था र स्थितिलाई प्रष्ट हुन्छ । 

अग्रगामी पात्रमा केन्द्रीत

कार्कीका तीनओटै कथासंग्रहमा संकलित अधिकांश कथाहरू प्रत्यक्ष जनयुद्ध र त्यसको सेरोफेरोमा घुमेका छन् । सामन्तवादी विचारलाई धरासायी गराउने पात्रहरू भएकाले कतिपय कथामा चर्को सामाजिक द्वन्द्वले प्रश्रय भएको छ । 

यसरी उज्जवल भविष्यको चाहना राख्ने पात्रको सङ्घर्षको कथाव्यथा प्रकट भएकाले अधिकांश पात्रहरू अग्रगामी पहलकदमीमा संलग्न छन् । आइतेम्पा, लालमती, नरे, रत्ने, कत्ले, डल्ले, सविना, अनचितिया, तपस्वी, जाबुके, कपिलगुरू, मछलीवाला, यानीमाया, कबुधे दर्जी, दले, ड्राइभर, सहिदपुत्र, सहिदपत्नी, विद्यार्थीहरू, विद्रोहीहरू एवं अन्य आन्दोलनकारीहरू सबै पात्रहरू प्रत्यक्ष अग्रगामी पहलकदमीमा संलग्न छन् । नयाँ नेपालको निर्माणमा यी पात्रहरूले कतै न कतै पसिना बगाएका छन् । विद्रोहको आवाज दिएका छन् । रगत चढाएका छन् । प्राणको आहुति दिएका छन् । 

तीतो यथार्थको उद्घाटन 

कथासंग्रहका डेढ दर्जन कथाहरू सबैले जीवनको तीतो यथार्थलाई उद्घाटन गर्ने काम गरेका छन् । समाजमा व्याप्त विकृति विसंगतिको चिरफार गर्ने काम गरेका छन् । अन्याय–अत्याचार, भोकमरी, श्रमको मृ्ल्य विचलनप्रति आपत्ति जनाइएको छ । समाजले भोग्दै आएको कटु सत्यलाई बिना ढाकछोप कथामा खुल्लमखुल्ला आएका छन् । छोरीप्रति घृणा र छोराप्रति आशक्तिको चर्चा भएको ‘काँचो वायु’ कथामा शिक्षित पिताकै कालो मनको मैलोलाई छर्लङ्ग देखाइएको छ । यस्तै हरेक कथाले कुनै न कुनै रूपले पाठकहरूलाई सचेत तुल्याएका छन् । भोकोले पेट भर्न र नाङ्गोले शरीर ढाक्न पाउनुपर्छ भन्ने आवाज दिएका छन् ।

ठेट जनबोली र मातृभाषी संवाद

संकलित कथाहरूमा रहेका केही कथाहरूमा ठेट जनबोली र मातृभाषिक संवादको प्रयोग भएका छन् । यसले गर्दा अधिकांस कथाहरू थप रोचक बनेका छन् । 

कोई बात छैन हजुर । ज्यालामजुरी गर्न पाएकै छु । गाडी साहुहरू आफ्नो गाडीमा राख्न तँछाड मछाड गर्छन्, हजुर । यस गाडीले मैनाको दश हजार दिएको छ, हजुर । मैले नागरिकता नपाएर के भो त हजुर, सत्चालीस बरसके जीवन चालीस बरस त नेपालमै वितिगो, हजुर । मनको भित्ता भित्तामा नेपालकै चित्र कुँदिएको छ, हजुर ।

नही हेते साहब । यी त काजी साहबके औडर मे लाबने छी । टँइले भनेका मान्न हुँदैना हो कि जाबुक्या ।  ट्यो पान सय पैसाले टेरो बाबुले एक महिना बेसाहा खाँन्ट्यो । 

अब ट्यो क्या उसिन्छस् । मुखलाई मोही छैनाँ पिँढालाई घिउ भनेको यही हो । किन मार्छा आफनो ठाङ्ग्र्रा झार्डा पनि मार्छा । सहनुको पनि एउटा हड हुन्छ, कट्टी सहनु । 

छोइर दै है चिन्ता नै करै । नौवोके भित्तर त लोक नटे रहैछै ने । आदमी त चिनल  गेले । यहा सबसे बड्का चिज चियै । यस्ता ठेट जनबोली र मातृभाषी संवादको प्रयोग भएका कारण पनि यी कथाहरू सामान्य जनताका घरदैलाका कथा हुन् भन्न हिच्किचाउनु पर्दैन । 

प्रगतिशील सन्देशका संवाहक

कथासंग्रहमा संकलित हरेक कथाहरूले प्रगतिशील सन्देशका छाडेका छन् । अन्याय अत्याचारका विरूद्ध बमवर्षा गराएका छन् । थिचिएर बस्नुहुन्न । अति सहनुहुन्न भन्ने सन्देश छाड्छन् ।

यसरी कार्कीका प्रत्येक कथाले निश्चित उद्देश्य बोकेका छन् । ‘शोषक र फटाहाहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्न र जनसाधारणमा चेतना भर्न ती कथाहरू सक्षम छन् । नेपाली प्रगतिवादी कथा फाँटमा उनी एउटा अतुलनीय उदाहरण बनेर रहिरहने कुरामा दुईमत छैन’ (लमजेल, २०७२ ः२६) । 

लैङ्गिक विषमता राख्नु हुन्न, अग्रज मान्यवरप्रति घृणाभाव राख्नुहुन्न, सदाचारी र सहयोगी बन्न सक्नुपर्छ, गुणी मान्छेलाई लगाएका गुनले एक दिन सम्मान दिलाउँछ भन्नेजस्ता सन्देशमूलक कथाहरू पनि कार्कीले सिर्जना गरेका छन् । 

सरल, सहज र सरस प्रस्तुति भएको यी कथाको वाच्यार्थ सर्वसाधारणका लागि सम्प्रेष्य र रमणीय रहेका छन् । वाच्यार्थ सरल र मन छुने किसिमको भएको कथामा अभिव्यक्ति गहन र रमणीय देखिन्छ ।

निष्कर्ष

कथाकार पुण्य कार्कीको पहिलो कथाकृति ‘मखमली’(०५७), दोस्रो‘मध्यरातमा’ (२०६२) र तेस्रो कथाकृति ‘जून, जुने जुनेली रात’ (२०७५) हो । ती मध्ये अधिकांश कथामा माओवादी सशस्त्र द्वन्द्वको सौन्दर्य पक्षको वर्णन छ । अन्य कथामा सामाजिक मनोवैज्ञानिक, यथार्थपनको समेत सशक्त प्रयोग गरेको पाइन्छ । अन्याय र अत्याचार विरुद्ध हटेर हैन डटेर सकँञ्जेल सामना गर्नुपर्छ । सन्तानमा हैन आफैँमा तृप्ति खोज्नुपर्छ, अन्यत्र भौतारिए अधुरो जीवन बाँच्नुपर्छ, अतिशय प्रेम र घृणा दुबै कसैको हितमा हुन्न । सच्चा जीवन जिउन नसक्नेहरू जीवनबाटै पलायन हुन्छन्, गुणी मान्छेलाई लगाएको गुणले एक दिन सम्मान दिलाउँछ भन्ने जस्ता सामाजिक जीवनका गम्भीर व्यवहारिक कुराहरू पनि कथामा समेटिएका छन् । 

यसरी कथाकार कार्कीले यिनै कथासंग्रहका कथाको माध्यमबाट समेत युगीन चेतना, सचेतता, समाजप्रतिको दायित्वबोध र आफ्नो मौलिक कथाकारितालाई सशक्त ढङ्गले प्रस्तुत गरेका छन् । विवेच्य कथाको अध्ययन विश्लेषणबाट सोझासीधा नेपाली जनताको साँघुरो मानसिकतालाई विकसित बनाउन कथाकार पुण्य कार्की धेरै हदसम्म सफल छन्।

सन्दर्भ सामग्री

आचार्य, नन्दलाल (२०६५). ‘प्रगतिशील कथाहरूको संग्रह ‘मध्यरातमा’ :एक विश्लेषण’. जनमत, वर्ष–२५, अङक–४, साहित्यिक अङ्क–१३०, वैशाख. प्र.सम्पा. मोहन दुवाल. काभ्रे :जनमत प्रकाशन ।

कार्की, पुण्य (२०६२). ‘कथाकारको बोली’.मध्यरातमा. काठमाडौं :विवेक सिर्जनशील प्रकाशन प्रालि ।

कार्की, पुण्य (२०७५), जून, जुजे, जुनेली रात, काठमाडौं :अक्षरयात्रा प्रकाशन प्रालि ।

गिरी, शान्तिमाया (२०७५).नेपाली कथामा अभिघात. काठमाडौँ :शब्दार्थ प्रकाशन ।

ज्ञवाली, रामप्रसाद (२०६२)..’मध्यरातमा’ उज्यालोको खोजी गर्ने कथाहरू’.मध्यरातमा.  काठमाडौं :विवेक सिर्जनशील प्रकाशन प्रालि ।

न्यौपाने ‘बगर’, छायादत्त (२०६७) ‘युगिन कथा सङ्ग्रह मध्यरातमा’.माक्र्सवादी साहित्य र जनयुद्धको सौन्दर्य. काठमाडौँ :अखिल नेपाल लेखक संघ.(पृ. ५८०–५८७) ।

पौडेल, गोपीन्द्र (२०७५). ‘जीवनको परिभाषा र सङ्घर्षका गाथा सुसेल्ने कथाहरू’.जून, जुने, जुनेली रात.  काठमाडौँ :अक्षरयात्रा प्रकाशन.(पृ.२६) ।

लमजेल, रविमान (२०७२).सगरमाथा अञ्चलको साहित्यिक बेलीबिस्तार.तेह्रथुम :लेखक स्वयम् ।

शर्मा, विन्दु (२०७४).समसामयिक प्रगतिवादी नेपाली कथा. (सम्पा.). संं मातृका पोखरेल. काठमाडौँ :नेपाल प्रज्ञा प्रतिष्ठान  ।

श्रेष्ठ, दयाराम (२०७५).प्रज्ञा आधुनिक नेपाली कथाकोश. (सं). काठमाडौँ :नेपाल प्रज्ञा प्रतिष्ठान ।

सुवेदी, राजेन्द्र (२०५९) ‘समसामयिक कथाप्रवृति र प्रगतिवादी कथाका प्राप्तिहरू’.समकालीन साहित्य. वैशाख–जेठ–असार. वर्ष २२. अंक ३. पूर्णाङ्क ४५. प्र.सम्पा. सनत रेग्मी÷सम्पा. अविनाश श्रेष्ठ. (पृष्ठ ३२) ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप