मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कविता : तिमी अर्को बाटो भएर हिँड्नु

शनिबार, १८ भदौ २०७९, १४ : ५३
शनिबार, १८ भदौ २०७९

तिमी अर्को बाटो भएर हिँड्नु
यादको सिङ्गो पहाड बोकेर
प्रेमको भारी बिसाउन
निस्केको यात्रीका
पैतालाका डोबहरुमा 
स्मृति छोडिन सक्छ,
तिमी अर्को बाटो भएर हिँड्नु ।

प्रेमको जग बलियो बनाउन
गाडिएका कसमका 
गरुङ्गा ढुङ्गाहरु
निकाल्दा कम्पन हुन सक्छ,
तिमी अर्को बाटो भएर हिँड्नु ।

अझै केही यादहरु
सम्झना खोसेर तिमीलाई दिन
लालायित होलान्,
तिनीहरु विरुद्ध  
हातपात हुन सक्छ,
तिमी अर्को बाटो भएर हिँड्नु ।

संगै बसेर देखेका
सपनाका समाधि तयार गर्न
हिँडेका बाटोको बिट मार्न
यादको सिङ्गो पहाड ढलाउँदा 
पहिरो खस्न सक्छ,
बाटो त्यही सकिन सक्छ 
तिमी अर्को बाटो भएर हिँड्नु ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप