सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ग्लोबल आईएमई बैंकः अबको ध्यान लाभांश वितरणमा ‘नम्बर वान’

आइतबार, १९ भदौ २०७९, १४ : ५५
आइतबार, १९ भदौ २०७९

काठमाडौं । ‘अर्थतन्त्रको संरचना परिवर्तन हुँदैछ, परिवर्तित सन्दर्भमा मध्यकालीन र दीर्घकालीन लगानी आवश्यक देखिन्छ, यसका लागि बैंकहरूले सोही अनुरुपको लगानी गर्नुपर्छ, जसका लागि ठूला बैंक आवश्यक पर्छ । ग्लोबल आईएमई र जनता बैंकबीचको मर्जरपछि यो बैंक ठूलो बनेको छ । यसले अब दीर्घकालीन र मध्यकालीन लगानी गर्न सक्छ ।’

तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले २०७६ साल मंसिर २० गते मध्याह्न ग्लोबल आईएमई र जनता बैंकबीचको मर्जर पूरा भएपछि एकीकृत कारोबार शुभारम्भ गर्ने औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै यसो भनेका थिए । कार्यक्रममा सहभागी वक्ताहरु जनता बैंकसँगको मर्जरपछि ग्लोबल आईएमई बैंक ठूलो भएको बताइरहेका थिए ।

ग्लोबल आईएमई र जनता बैंकबीचको मर्जर त्यो बेला बैंकिङ क्षेत्र तरङ्गित पार्ने खालको थियो । त्यसैले नेपाल बैंकर्स संघका तत्कालीन अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले सोही कार्यक्रममा भनेका थिए, ‘ग्लोबल आईएमई बैंकले पहिला पनि एउटा बैंकलाई लिएको थियो, अहिले जनता बैंकलाई लियो, अरु एकदुई वटा बैंकलाई अझै लिए पनि फरक पर्दैन ।’

ढुंगानाले पहिलो एउटा बैंक लिएको थियो भनेको तत्कालीन कमर्ज एण्ड ट्रष्ट बैंक थियो, जुन ग्लोबल आईएमई बैंकमा मर्ज भइसकेको थियो । जनता बैंकसँगको मर्जरपछि ग्लोबल आईएमई बैंक ठूलो भएको र सम्हाल्न नसकिने हो कि भन्ने चिन्ता बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष पवन गोल्यानलाई पनि लागेको रहेछ । त्यसैले होला, उनले सोही कार्यक्रममा हल्का मुस्कानसहित भनेका थिए, ‘डरलाग्दो पुँजी राखेर ठूलो बैंक बनाउनुभएको छ, बैंकका अध्यक्ष चन्द्र ढकालजीलाई सफलताको शुभकामना ।’

आफैले बोलाएका पाहुनाहरुले बैंक ठूलो भइसकेको, सम्हाल्न नसकिने हो कि भन्ने चिन्ता गरिरहँदा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकालको मनमा के कुरा खेलिरहेको थियो भन्ने अनुमान गर्न गाह्रो थियो । औपचारिक रुपमा उनले सोही कार्यक्रममा भनेका थिए, ‘यो मर्जरले ग्लोबल आईएमई बैंकको आगामी व्यावसायिक क्रियाकलाप एवं देशको समग्र वित्तीय क्षेत्रको गतिविधिमा समेत विशेष योगदान पुग्ने कुरामा हामी विश्वस्त छौं ।’

जनता बैंकसँगको मर्जरपछि ग्लोबल आईएमई बैंक अब मर्जरमा जाँदैन कि भन्ने अनुमान धेरैको थियो । किनभने सो बेलासम्ममा ग्लोबल आइएमईसँग जनता बैंक र कमर्ज एन्ड ट्रस्ट बैंक गाभिइसकेका थिए । यस्तै, गुल्मी विकास बैंक, सोसल डेभलपमेन्ट बैंक, रिलायवल डेभलपमेन्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक, कन्जुमर डेभलपमेन्ट बैंक, त्रिवेणी विकास बैंक, एकता विकास बैंक, ब्राइट डेभलपमेन्ट बैंक, पब्लिक डेभलपमेन्ट बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंक गरी १० वटा विकास बैंक मर्ज भइसकेका थिए । यतिमात्रै होइन, आईएमई फाइनान्स, लर्डबुद्ध फाइनान्स, हाथवे फाइनान्स, शुभलक्ष्मी फाइनान्स, नेपाल आवास फाइनान्स र नवदुर्गा फाइनान्स गरी ६ वटा फाइनान्स कम्पनी पनि ग्लोबल आईएमई बैंकमा समाहित भइसकेका थिए ।

तर, बैंक सञ्चालक समितिका अध्यक्ष ढकाल र बैंक व्यवस्थापन भने ग्लोबल आईएमई बैंकलाई मर्जर र एक्वीजीसनको माध्यमबाट अझै ठूलो बैंक बनाउने अभियानमा जुटेकै रहेछन् । यो कुराको उजागर त्यतिबेला भयो, जतिबेला ग्लोबल आईएमई बैंकसँग बैंक अफ काठमाडू (बीओके) पनि मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भयो । बीओकेसँग बीओके र लुम्बिनी गरी दुई वटा वाणिज्य बैंक पहिला नै मर्ज भएका थिए । अब बीओके र ग्लोबल आईएमई बैंक मर्जर हुँदा ग्लोबल आईएमई बैंकसँग समाहित हुने बैंक तथा वित्तीय संस्थाको संख्या २१ पुग्नेछ ।

‘बैंक अफ काठमाडूूसँग पहिला नै ३ वटा बैंक तथा वित्तीय संस्था (बैंक अफ काठमाडू र लुम्बिनी बैंकसमेत) मर्ज भइसकेका छन्, त्यसैले बैंक अफ काठमाडूसँग मर्ज भइसक्दा ग्लोबल आईएमई बैंकमा २१ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्ज भइसकेका हुनेछन्,’ ग्लोबल आईएमई बैंकका वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले भने ।

नेपालमा २१ वटा बैंक तथा वित्तीय संस्था मर्जर वा एक्वीजीसनबाट एउटै संस्था बनेको ऐतिहासिक रेकर्ड ग्लोबल आईएमई बैंकले नै राख्ने भएको छ । र, ग्लोबल आईएमई बैंकमा सो बैंकसहित कमर्ज एण्ड ट्रष्ट, जनता, बीओके र लुम्बिनी गरी ५ वटा त वाणिज्य बैंक नै हुनेछन् ।

पाँच वटा वाणिज्य बैंक अलग अलग रहेको भए पाँच वटा सञ्चालक समिति, पाँच वटा प्रमुख कार्यकारी अधिकृत, पाँच वटा अध्यक्ष, पाँच वटा कम्पनी सचिव लगायत हुने थियो । त्यो परिदृश्य स्वस्थ बैंकिङ प्रतिस्पर्धाबाट अलि पर पुगेर ‘गला रेट्ने प्रतिस्पर्धा’मा परिणत हुन पनि सक्थ्यो । खर्चका हिसावले करिब ५ गुणा नै कम भयो । दर्ताको खर्च, सदस्यता खर्च पनि पाँच वटाले गर्नुको साटो एउटै संस्थाले गर्दा हुने भयो ।

रोजगारी र सेवाग्राहीले पाउने सुविधा

ग्लोबल आईएमई बैंकसँग हुने मर्जर र एक्वीजीसनको कारण रोजगारी घटेको छैन भन्छन् वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत ढकाल । सञ्चालक समिति र सीईओको संख्या घटे पनि कुनै पनि बैंक वित्तीय संस्थाका कर्मचारी हटाइएन ।

‘मर्ज गर्दा दुवै संस्थाका सबै कर्मचारी लिनै पर्छ, कर्मचारी हटाउन पाइँदैन, शाखा एउटै ठाउँमा भए पनि अर्काे ठाउँमा सार्छाैं, शाखा बन्द नै गरेर बसेको अवस्था खासै छैन, ठूलो बैंक भएकोले धेरै जनालाई रोजगारी दिएको छ, जुन स्वाभाविक नै हो,’ ढकालले थपे ।

कर्मचारीले स्वेच्छाले छोड्न चाहे भने उनीहरुलाई सुविधा होस् भनेर विगतमा स्वेच्छिक अवकाश योजना भने ल्याएको उनले बताए । बैंक ठूलो भएपछि सेवाग्राहीलाई दिने सेवा सुविधा अझ राम्रो र सस्तो हुने उनको भनाइ छ ।

‘बैंक ठूलो भएपछि धेरै प्रोडक्ट ल्याउँछ, ग्राहकलाई छनौट गर्न पाउने धेरै ठाउँ रहन्छ, शाखा धेरै हुन्छन्, अर्थात् सहज पहुँच हुन्छ, अहिले नै काठमाडौं उपत्यकामा ग्लोबल आईएमई बैंकको ७० वटा शाखा छन्, बीओकेसँग मर्ज भएपछि ९० भन्दा बढी पुग्छन्, अर्थात् आफू बसेको ठाउँबाट बढीमा ५ मिनेटको दुरीमा ग्लोबल आईएमई बैंकको शाखा भेटिन्छ, यो भनेको त ग्राहकलाई सुविधा नै हो,’ ढकालले भने ।

देशभरमा अहिले ग्लोबल आईएमईको शाखा २८९ वटा छन् । बीओकेको १०० जति शाखा छन् । आगामी मंसिरसम्ममा बीओकेसँग मर्जर सकेर एकीकृत कारोबार गर्ने योजना छ । त्यसपछि ग्लोबल आईएमई बैंकको देशभर करिब ४ सय शाखा हुनेछन् । नेपालमा अहिलेसम्म ४ सय शाखा भएको बैंक छैन ।

शाखा व्यवस्थापन

शाखा व्यवस्थापनका लागि सिस्टम, प्रोसेस, संयन्त्र विकास भयो भने गाह्रो हुँदैन भन्ने मान्यता ग्लोबल आईएमई बैंक व्यवस्थापनको छ ।

केन्द्रीय कार्यालयमा नै धेरै विभाग छन् । प्रदेश कार्यालयहरु हेर्ने संयन्त्र छन् । बैंकमा असाध्यै महत्वपूर्ण संयन्त्रको रुपमा प्रदेश कार्यालयहरु छन् । सात वटै प्रदेशमा प्रादेशिक कार्यालय छन् । प्रादेशिक कार्यालयहरुले आफू अन्तर्गतका शाखाहरुलाई राम्रोसँग चिन्दछन्, बुझ्छन्, नजिकबाट मनिटरिङ गर्न सक्छन् । त्यसका लागि प्रदेश कार्यालयहरुलाई जनशक्ति तथा अन्य स्रोध साधनको हिसावले मजबुत बनाउन खोजिएको छ । प्रदेश कार्यालयहरुले उपलब्ध भएसम्म आफ्नै जग्गामा भवन बनाउने भन्ने योजना बैंकले बनाएको छ ।

‘प्रदेश कार्यालयहरुमा पर्याप्त मात्रामा जनशक्ति राखेर काम गर्छाैं, यसो गर्दा मनिटरिङ सजिलो हुन्छ, किनभने हेडअफिसले प्रदेशलाई मनिटरिङ गर्छ, प्रदेशले शाखालाई गर्नै बित्तिकै धेरै सजिलो भयो । यो भन्दैमा हेड अफिसले शाखालाई वास्ता गर्दैन भन्ने होइन, हेडअफिस पनि शाखासँग निकट सम्पर्कमै रहेर काम गरिरहेको हुन्छ, जिम्मेवारी मातहत हुँदै जान्छ,’ वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत ढकालले शाखा व्यवस्थापनको सुत्र सुनाए ।

नेपालको सन्दर्भमा मात्रै ४ सय शाखा धेरैजस्तो लाग्छ । विदेशमा एउटै बैंकका हजारौंको संख्यामा शाखा हुन्छन् । ग्लोबलको शाखा धेरै ठाउँमा पुगिसकेकाले अब एग्रेसिभ भएर शाखा नखोल्ने, व्यावसायिक अवसर र माग भएमा मात्र शाखा खोल्ने अबको ग्लोबल आईएमईको रणनीति छ ।

ग्लोबल आईएमई बैंकले देशभरका ७७ जिल्लामै शाखा खोलिसकेको छ । कतिपय शाखा त दुर्गम क्षेत्रमा पनि छन् । बैंकले केही समयअघि सोलुको भोटखोलामा शाखा खोलेको थियो । सो शाखामा पुग्न घोडा चढेर जानुपर्छ । बाटो सहज नभएकाले हेलिकोप्टरबाट नगद लगिएको थियो । हुम्लाजस्ता दुर्गम जिल्लामा यो बैंकका तीन वटा शाखा छन् । यस्ता दुर्गम जिल्लाका शाखाहरुमा हवाई मार्गबाट समेत नगद पुर्‍याउनु पर्ने बाध्यता छ ।

सजिलो छैन शाखा खोल्न

दुर्गममा कर्मचारी पठाउन पनि गाह्रो छ । एक त जानै मान्दैनन् । बैंकको कुनै शाखाबाट कर्मचारीलाई घर पुग्न नै ४ दिन लाग्ने शाखा पनि छन् । त्यो कर्मचारीले बैंकबाट १० दिनको बिदा लिएर हिँड्यो भने घरमा जम्मा २ दिन बस्न पाउँछ ।

‘बैंकले सिस्टमबाट हेर्दा १० दिन बिदा लिएको देखिन्छ तर बिचराले जम्मा २ दिन मात्रै घरमा बस्न पाउँछ, कर्मचारीलाई पनि गाह्रो छ,’ ढकालले कर्मचारीका दुःख सुनाए ।

नाफामा २ सयभन्दा बढी शाखा

ग्लोबल आईएमई बैंकको शाखा २८९ वटा छन् । यसमध्ये ५० वटा जति शाखा नोक्सानीमा छन् । दुर्गम क्षेत्रमा पनि शाखा खोलिएका कारण केही शाखा नोक्सानीमा रहेका हुन् । तर, नोक्सानी रकम भने धेरै हुँदैन । ढकालका अनुसार कुनैको २० लाख, कुनैको ५० लाख र बढी हुनेको पनि १ करोड जतिमात्रै हुन्छ ।

बैंकिङसँगै वित्तीय परामर्श

बैंक भनेको उद्यमीलाई वित्तीय परामर्श दिने निकाय पनि हो । कसैले कुनै व्यवसायको प्रस्ताव ल्यायो भने बैंकले हेरेर अझ राम्रो हुन सक्ने गरी विकल्पहरु सुझाउन सक्छ । यसका लागि ग्लोबल आईएमई बैंकले कर्मचारीलाई बढीभन्दा बढी तालिम र दक्षता प्रदान गरेको छ । यस्तै, बैंकले के कस्ता सेवा उपलब्ध गराउँछ, ती सेवा कसरी लिने, त्यसको शुल्क कति लाग्छ भन्ने जस्ता विषयमा कर्मचारीले ग्राहक र सम्भावित ग्राहकहरुलाई राम्रोसँग परामर्श सेवा उपलब्ध गराउँछन् ।

यस्तै, अहिले नयाँ प्रविधिमा आधारित बैंकिङ सेवा छ । बैंकमा भौतिक रुपमा नआई पनि आफू बसेकै ठाउँबाट डिजिटल रुपमा बैंकिङ सेवा लिन सकिन्छ । तर, यस्ता सेवाहरुका बारेमा धेरै कम मानिसलाई मात्रै जानकारी छ । गत आर्थिक वर्षमा बैंकले करिब प्रत्येक शाखामा ‘डिजिटल अवारनेस’ कार्यक्रम सञ्चालन गर्‍यो ।

‘त्यो कार्यक्रममा हाम्रा ग्राहकमात्रै होइन, जो पनि आएर जानकारी लिन सक्ने र पाउने वातावरण मिलायौं, यस्तो कार्यक्रम एक पटकमात्रै गरेर पर्याप्त छैन । यो आर्थिक वर्ष पनि हामी त्यस्तो कार्यक्रम सञ्चालन गर्दैछौं,’ ढकालले भने ।

बैंकले वित्तीय साक्षारताका लागि डिजिटल च्यानल लगायत अरु विकल्प पनि अपनाएको छ । ग्लोबल आईएमई बैंक पटकपटक मर्ज भएर ठूलो बैंक भइसक्यो । ग्राहक संख्या पनि ठूलो भइसक्यो । ती धेरै संख्याका ग्राहक शाखाहरुमा आउन थाले भने भिड बढी हुन्छ । ग्राहकले सेवा लिन बढी समय पर्खनुपर्छ । बैंकले सरकारको राजस्व पनि संकलन गर्ने गरेको छ । मालपोत कार्यालय, आन्तरिक राजस्व कार्यालय, ट्राफिक, विश्वविद्यालयहरुको राजस्व पनि संकलन गर्ने गरेको छ । त्यसले गर्दा पनि भिड बढी लाग्ने गर्छ । यस्ता कारोबारहरु डिजिटल्ली गर्न सकिन्छ । बैंकले आफ्ना ग्राहकहरुलाई यही कुराको जानकारी गराउने गरेको छ ।

उत्पादनशील क्षेत्रमा कर्जा

एक त राष्ट्र बैंकले पनि उत्पादनशील क्षेत्रमा जाने कर्जाको सीमा तोकेको छ । त्यो निर्देशित कर्जाको सीमा पनि उच्च तहकै छ । कुल कर्जाको ४० प्रतिशतभन्दा बढी कर्जा त निर्देशित क्षेत्रमा जानुपर्ने व्यवस्था छ । त्यो सीमा कायम गराउनु नै पनि वास्तवमै गाह्रो हुने गरेको छ । त्यसका लागि निकै मेहनत गर्नुपर्छ भने बैंकको लागि कतिपय अवस्थामा ‘अपरचुनिटी लस’ पनि हुन्छ ।

‘राष्ट्र बैंकले तोकेको सीमासम्मको निर्देशित कर्जा प्रवाहमा ग्लोबल आईएमई बैंक अति समवेदनशील छ, कृषि, साना तथा मझौला उद्यम व्यवसायको क्षेत्रमा हामीले सीमासम्मको कर्जा प्रवाह गरेका छौं, ऊर्जा क्षेत्रमा भने राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी लगानी गरेका छौं,’ ढकालले भने ।

कतिपय कुराहरु बैंकले चाहेर मात्रै पनि हुन्न । लगानीकर्तादेखि इको सिस्टम र वातावरण नै लगानीमैत्री भएर आयो भने सहज हुन्छ । जस्तो कि कृषि क्षेत्रमा कुल लगानीको १२÷१३ प्रतिशत पुर्‍याउनु पर्यो भन्ने कुरा आउँछ । कृषिमा १३ प्रतिशत लगानी गर्न त्यही प्रकारका परियोजनाहरु आउनु पर्‍यो । बैंकहरु लगानीका लागि तयार भए पनि लगानीकर्ता पनि तयार भएर आउनु पर्ने उनको भनाइ छ ।

पुँजी कति ?

बैंकको अहिले चुक्ता पुँजी २४ अर्ब रुपैयाँ जति छ । बीओकेसँग मर्जरपछि करिब ३४ अर्ब रुपैयाँ पुग्छ । कोर क्यापिटल ५३ अर्ब रुपैयाँ जति पुग्छ । यसमा गत आर्थिक वर्षको बोनस सेयर प्रदान गरेपछि हुने पुँजी जोडिएको छैन । त्यो पनि जोड्दा अझ बढी हुन्छ ।

पुँजी किन धेरै चाहिन्छ ?

पुँजी बढाउँदै जानुपर्छ । किनभने पुँजीको पनि एउटा क्षमता हुन्छ, सीमा हुन्छ । त्यो सीमासम्म पुगिसकेको छ भने थप व्यवसाय विस्तार गर्न थप पुँजी चाहिन्छ । बैंकको कोर क्यापिटल जति छ, त्यसको सामान्यतः १० गुणासम्म कर्जा दिन पाइन्छ, त्यसलाई कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ले धान्यो भने । जस्तो कि ग्लोबल आईएमई बैंकको कोर क्यापिटल ५३ अर्ब रुपैयाँ भयो भने सामान्यतः त्यसको १० गुणा अर्थात ५ खर्ब रुपैयाँसम्म कर्जा दिन पाइन्छ । त्यसैले बैंकको पुँजी बढाइरहनु परेको हो ।

४० लाख ग्राहक

अहिले ग्लोबल आईएमई बैंकको ग्राहक संख्या ३० लाख जति छन् । बीओकेसँग मर्जर भइसकेपछि ग्राहक संख्या बढेर करिब ४० लाख पुग्छ । बैंक ठूलो भएपछि खर्च कम हुँदै जान्छ । खर्च कम भएपछि त्यसको फाइदा ग्राहकलाई नै जान्छ । त्यसैले ठूलो बैंक ग्राहकलाई पनि फाइदा हुने बैंकको भनाइ छ ।

ग्लोबल आईएमईको विश्व यात्रा

ग्लोबल आईएमई बैंकको प्रतिनिधि कार्यालयहरु भारतमा, बेलायतमा र अष्ट्रेलियामा छन् । दक्षिण कोरियामा शाखा कार्यालय स्थापना गर्ने भनेर प्रक्रियामा राखिएको छ । यसका लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति आइसकेको छ । कोरियाको नियमनकारी निकायसँग अहिले बैंक सम्पर्कमा छ ।

‘आवेदन गर्ने प्रक्रियामा छौं, हामीले स्वीकृति पाएपछि नेपालका बैंकको पहिलो विदेशी शाखाको रुपमा दक्षिण कोरियामा शाखा हुनेछ,’ ढकालले भने । त्यहाँ खर्च कति लाग्ने रहेछ, कत्तिको प्रभावकारी रुपमा काम गर्न सकिन्छ, शाखा खोल्न कति समय लाग्छ, यी सबै कुराहरुको अनुभव हासिल गरेर मात्रै थप अरु देशमा जाने नजाने भनेर निष्कर्ष निकाल्ने योजनामा बैंक छ ।

अझै कति संस्थासँग मर्ज गर्ने ?

‘भविष्यका बारेमा त धेरै भन्न सकिएन तर, तत्कालका लागि भने केही समय मर्जरमा ‘ब्रेक’ लिने ढकालले बताए । ‘त्यसपछि देशको आवश्यकता र बजारको अवस्था हेरेर निर्णय लिन्छौं,’ उनले भने ।

कल्चरल एकीकरणको गुरु मन्त्र

ग्लोबल आईएमई बैंकमा १८ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्ज भइसकेका छन् । अर्थात् त्यति नै संख्याका बैंक वित्तीय संस्थाहरुबाट कर्मचारी ग्लोबल आईएमई बैंकमा आएका छन् । प्रत्यक संस्थाका वर्किङ कल्चर पृथक हुन सक्छ । तर, ग्लोबल आईएमई बैंकलाई वर्किङ कल्चरमा एकरुपता प्रदान गर्न खासै गाह्रो भएन ।

‘ग्लोबल आईएमई बैंकको एउटा अनुभव पनि भयो र कर्मचारीलाई ग्लोबलियन बनाउन यो नै लिडर बैंक भएकाले यसले नै भूमिका खेल्नुपर्‍यो, मर्ज भएर आउने संस्थाका कर्मचारीलाई हामीले सम्मान गर्नुपर्छ,गरिरहेका हुन्छौं, यस्तो सोच बनायौं भने मिलन सहज हुन्छ,’ वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत ढकालले गुरुमन्त्र सुनाए ।

मर्जरपछि प्रमोटरलाई केही गाह्रो हुँदैन । किनभने उनीहरुको लगानी कहीँ गएकै हुँदैन । एउटा संस्थामा भएको लगानी सरेर अर्काे संस्थामा आउने हो । लगानी अझ सुरक्षित भएको छ भनेर प्रमोटरहरु ढुक्क हुन सक्ने अवस्था रहन्छ ।

‘एउटै विभागका काम गर्ने कर्मचारी पनि धेरै वटा संस्थाबाट आएका हुन सक्छन्, ग्लोबल आईएमई बैंक स्थापना भएको १५ वर्ष भयो, यो बैंकमा कुनै २० वर्ष पुरानो संस्था मर्ज भएको रहेछ र कुनै कर्मचारी सो संस्था स्थापना हुँदादेखि नै कार्यरत रहेछ भने त्यो कर्मचारी २० वर्षदेखि ग्लोबल आईएमई बैंकमा कार्यरत थियो भनेर मान्ने हो । त्यो भएपछि कुन कर्मचारी कुन संस्थाबाट आयो भन्ने कुरा नै रहेन,’ ढकालले थपे ।

राष्ट्रको नीतिलाई सहयोग

नेपाल राष्ट्र बैंकले मर्जर र एक्वीजीसन सम्बन्धी नीति ल्यायो । गभर्नरहरु नै बिग मर्जरको आवश्यकता रहेको भन्दै सार्वजनिक अभिव्यक्ति दिन थाले । यही आवश्यकता बोध गरेर ग्लोबल आईएमई बैंकले मर्जर र एक्वीजीसनलाई प्राथमिकता दियो । देशमा बैंक तथा वित्तीय संस्थाहरु धेरै भयो भनेर नै मर्जर एक्वीजीसनलाई नीतिगत प्रोत्साहन दिएर राष्ट्र बैंकले सोही प्रकारको गतिविधि सञ्चालन गरेको हो । ‘हामीले राष्ट्रको नीतिलाई सहयोग गरेको हो,’ ढकालले भने ।

सबै परिसूचकमा ‘नम्बर वान’

बीओकेसँग मर्जर भइसकेपछि ग्लोबल आईएमई बैंक चुक्ता पुँजी, कोर क्यापिटल, शाखा संख्या, व्यवसायको आकार जस्ता अधिकांश सूचकमा ‘नम्बर वान’ हुनेछ । अरु सूचकमा एक नम्बर भएको बैंक लाभांश वितरणमा पनि एक नम्बर हुनुपर्छ । तर कहिले हुने ?

मर्जरका पनि खर्चहरु हुन्छन् । मर्जरपछि एकै ठाउँमा रहेका दुई वटा शाखा बन्द गर्नुपर्‍यो भने त्यसमा पनि खर्च लाग्छ । बोर्डहरु परिवर्तन गर्नुपर्‍यो, त्यसमा पनि खर्च छ । स्वेच्छिक अवकाश योजना आए जान हुन्थ्यो भन्ने अपेक्षा कर्मचारीले राखे भने त्यस्तो योजना पनि ल्याउनु पर्‍यो, त्यसमा पनि खर्च छ । मर्जरको छलफल र मिटिङहरुमा समय पनि लागिरहेकै हुन्छ ।

‘मर्जर भनेको अल्पकालको फाइदा होइन, फाइदा दीर्घकालमा देखिन्छ, हामी व्यालेन्ससीटको आकारले मात्रै होइन, हरेक परिसुचकमा एक नम्बरमा हुनुपर्छ भन्ने मान्यताको साथ काम गरिरहेका छौं, त्यो हरेक परिसूचकभित्र लाभांश पनि पर्छ,’ वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत ढकालले सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप