सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्टक एक्सचेन्जको संस्थापक हुन प्रालिले पनि पाउने, एउटै घरानालाई १५ प्रतिशतको सीमा

मङ्गलबार, २१ भदौ २०७९, १५ : ४०
मङ्गलबार, २१ भदौ २०७९

नयाँ स्टक एक्सचेन्ज खोल्न लगानीकर्ता र लगानीको सीमामा केही खुकुलो पार्न प्रस्ताव गरिएको छ । धितोपत्र बोर्ड संचालक समितिले धितोपत्र बजार संचालन नियमावली २०६४ मा संशोधन गर्नको लागि अर्थमन्त्रालयमा पठाएको प्रस्तावमा लगानीकर्ता र लगानीको सीमा केही खुकुलो बनाउन भनिएको छ ।

बोर्ड संचालक समितिले नियमावलीमा संशोधन गर्नुपर्ने विषय समेत प्रस्ताव गरेर अर्थमन्त्रालयमा पठाएको बोर्डका प्रवक्ता रुपेश केसीले जानकारी दिए । बोर्डले नयाँ स्टक एक्सचेन्ज खोल्न अनुमति दिने नदिने भन्ने नीतिगत निर्णय नगरेपनि स्टक एक्सचेन्ज खोल्न आवश्यक पर्ने नीतिगत व्यवस्थामा परिमार्जन गर्न प्रस्ताव गरेको उनको भनाइ छ ।

‘बोर्ड संचालक समितिले धितोपत्र बजार संचालन नियमावली २०६४ संशोधन गर्नको लागि अर्थमन्त्रालय पठाएको छ, मन्त्रालयले सो प्रस्ताव मन्त्रिपरिषद पठाउँछ, मन्त्रिपरिषदबाट पारित भएर आएपछि कार्यान्वयन हुने हो,’ प्रवक्ता केसीले भने ।

के के गरियो नयाँ व्यवस्था ?
बोर्ड संचालक समितिले नयाँ स्टक एक्सचेन्जको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ हुनुपर्ने प्रस्ताव गरेको छ । अहिले कार्यान्वयनमा रहेको धितोपत्र बजार संचालन नियमावली २०६४ मा स्टक एक्सचेन्जको चुक्ता पुँजी ५ करोड रुपैयाँ हुनुपर्ने भन्ने छ । 
यस्तै, संस्थापक सेयरधनी हुन पाउने निकायको परिधि पनि केही खुल्ला गरिएको छ । अहिले कार्यान्वयनमा रहेको नियमावलीमा बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सुचीकृत संगठित संस्थाले मात्रै स्टक एक्सचेन्जको सेयर ग्रहण गर्न पाउने भन्ने व्यवस्था छ । तर, संशोधनको लागि पठाइएको नियमावलीमा प्रालिले पनि सेयर ग्रहण गर्न पाउने भनेर केही खुकुलो बनाइएको छ । अहिलेको नियमावलीमा प्रालिले स्टक एक्सचेन्जको सेयर लिन पाउने भन्ने व्यवस्था छैन ।

यस्तै, कुनै एक कम्पनी वा संगठित संस्थाले धारण गर्न पाउने सेयरको सीमा पनि बढाइएको छ । अहिले कार्यान्वयनमा रहेको नियमावलीमा कुनै एक कम्पनी वा संगठित संस्थाले स्टक एक्सचेन्जको १० प्रतिशतसम्म सेयर धारण गर्न पाउने भन्ने व्यवस्था छ । संशोधनको लागि पठाइएको प्रस्तावमा यस्तो सीमा ५ प्रतिशत बढाएर १५ प्रतिशत कायम गर्न भनिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप