मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मेडिकल काउन्सिलले भन्यो– चिकित्सकविरुद्ध पक्राउ पूर्जी जारी गर्न पाइँदैन

मङ्गलबार, २१ भदौ २०७९, १८ : ३९
मङ्गलबार, २१ भदौ २०७९

नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई स्वास्थ्यसँग जोडिएको विषयमा पक्राउ गर्न वा मुद्दा दर्ता गर्न नपाउने बताएको छ । उपचारको क्रममा चिकित्सकले कुनै हिंसा वा स्वास्थ्य उपचार गर्दा लापरवाही गरेको विषयमा प्रहरीले पक्राउ गर्न र अदालतले पक्राउ पूर्जी जारी गर्न नपाउने प्रष्ट पारेको हो । 

काउन्सिलले विज्ञप्ति जारी गर्दै त्यस्तो घटनाका विषयमा छानविन गर्न समिति बनाएर समितिले दिएको रायको आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गर्ने व्यवस्था रहेको प्रष्ट पारेको छ । कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीले स्वास्थ्य उपचारका क्रममा कुनै लापरवाही वा हेलचेक्राइ गरेको शंका लागेमा मुलुकी अपराध संहिता, २०७४ अनुसार कानूनी उपचार सम्बन्धी व्यवस्था गरेको छ । कानुनी उपचारको कार्यविधिले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १८९ को उपदफा ३ मा अनुसन्धान समितिको व्यवस्था गरेको छ । 

सोही दफाको उपदफा ४ मा समितिको राय बमोजिम मात्रै सम्बन्धित सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गर्ने व्यवस्था गरेको छ । कुनै हिंसा वा स्वास्थ्य उपचार गर्दा लापरवाही गरेको छ वा छैन त्यो सम्बन्धमा अनुसन्धान समितिले अनुसन्धान गर्ने हुँदा पीडित पक्षले समितिमा उजुरी दिनुपर्ने कानूनी व्यवस्था छ । अनुसन्धान समितिले स्वतन्त्र रूपमा गर्ने काम कारवाही प्रवाहित हुने किसिमबाट मुद्दा दर्ता तथा पक्राउपूर्जी जारी गर्ने वा पक्राउ गर्ने लगायतका काम कारवाही नगर्न नगराउनु काउन्सिलले सबैमा अनुरोध गरेको हो । 

नेपाल मेडिकल काउन्सिलमा दर्ता भई चिकित्सकीय पेशा सञ्चालन गर्ने वा चिकित्सकीय कार्य गर्ने चिकित्सकहरूले कुनै व्यक्तिको स्वास्थ्योपचार गर्दा मृत्यु भएमा वा अंगभंग भएमा वा उपचारको सिलसिलामा कुनै दुर्घटना भई स्वास्थ्य उपचार संलग्न चिकित्सक दोषी देखिने अवस्था भएमा त्यसका लागि छानविन समिति मार्फत मात्रै छानविन हुने काउन्सिलले प्रष्ट पारेको छ । त्यसका लागि नेपाल मेडिकल काउन्सिलले तोकेको सम्बन्धित विज्ञ चिकित्सकको संयोजकत्वमा ५ जनाको अनुसन्धान समिति गठन गर्ने प्रावधान छ । सो समितिले दिएको प्रतिवेदनको आधारमा मात्रै अनुसन्धान अगाडि बढ्ने काउन्सिलका रजिष्ट्रार डा. कृष्ण प्रसाद अधिकारीले बताए । 

स्वास्थ्य क्षेत्रसँग जोडिएका विषय बाहेकमा भने कानून अनुसार नै हुने तर, आफ्नो पेशासँग जोडिएको घटनामा प्रहरीले सिधै पक्राउ गर्न नपाउने कानूनी व्यवस्था रहेको अधिकारीले बताए । जुम्लामा एक चिकित्सकविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । उक्त विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै काउन्सिलले कानूनी व्यवस्थाबारे स्मरण गराएको रजिष्ट्रार अधिकारीले बताए । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा. करण शाहविरुद्ध बाल हिंसासम्बन्धी कसुरको मुद्दा प्रहरीमा दर्ता गरिएको छ । अदालतबाट पक्राउ पुर्जी जारी समेत भएको छ । यही भदौ २ गते डा. साह प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत रहेका बेला एसिया इन्टरनेशनल मोडेल इङ्लिस स्कुल जुम्लामा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका–२ जुम्ला भण्डारीवाडाका ६ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा बाल हिंसा गरेको भन्दै बालककी आमा आशा हमाल (शाही) ले जुम्ला प्रहरीमा मुद्दा दर्ता गराएकी थिइन् । 

सोही दिन उनका बुबा धनबहादुरले छोराको पेट दुख्यो भनेपछि उपचारका लागि प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गराएका थिए । बच्चाको उपचार नगर्दा डा. साह र धनबहादुरबीच झगडा भएको थियो । त्यसपछि छोराको ओम मनिष पोलिक्लिनिक एण्ड रेफरल सेन्टर जुम्लामा उपचार गरिएको थियो । त्यसपछि उनीहरूले डा. साहविरुद्ध प्रहरीमा मुद्दा दर्ता गराएका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप