मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

देवराज इन्द्र

शुक्रबार, २४ भदौ २०७९, १७ : २३
शुक्रबार, २४ भदौ २०७९

देवराज इन्द्र,आज पनि तपाईं
हाम्रो कान्तिपुरी नगरीमा 
सुन्दर फूलहर चोर्न आउनु भएछ
आउनु पहिले,
एक पटक नेपालको कानुन 
पढेर आएको भए हुने
यहाँ ढकमक्क फुलेका फूलहरु
चोर्न त के चुड्न पनि पाइँदैन
यहाँ फुलेका रङ्गीचङ्गीफूलहरु
टिपेमा मात्र पनि तपाईंलाई
बाह्र वर्षको जेल सजाय हुन सक्छ
देवराज इन्द्र
एक पटक नेपालको कानुन 
पढेर आएको भए हुने ।
अहिले त पहिलेको जस्तो
मरु सत्तलको अगाडि अपराधीलाई 
पाता कस्ने चलन छैन
यदि अपराध सङ्गीन ठहरिएमा
विजुलीको झट्का दिने प्रचलन छ 
त्यसमाथि सामाजिक सञ्जालमा
इज्जतको बेइज्जत त,
त्यसै पनि हुने भैहाल्यो
देवराज इन्द्र
एक पटक नेपालको कानुन 
पढेर आएको भए हुने ।
यदितपाईं जेल पर्नु भयो भने
तपाईंकी आमा जति नै आएर 
रोईकराई गरेपनि
कसैको केही लाग्ने छैन
तपाईंकी आमाको आँसुले 
नेपालको कानुनलाई पगाल्न सक्दैन
पगाल्नै परे 
तपाईं जस्ता गल्ली गल्लीका हाउँ हाउँ गर्ने
राजाहरुका पुरुषत्वलाई पगालिदिन्छ 
देवराज इन्द्र
एक पटक नेपालको कानुन 
पढेर आएको भए हुने ।
स्वर्गलोकबाट नर्कलोकमा आउँदै गर्दा
हाम्रो कानुन पढ्न पाउनु भएनछ
तपाईं स्वर्गकै राजा भएनि
बानी व्यहोरा खासै राम्रो होइन रहेछ
त्यसैले त गल्ती आज पनि भयो हजुरबाट
सजाय त भोग्नै पर्यो ।
गल्ती प्रमाणित भएमा
तपाईंलाई देवता मानेर पुजिने छैन
देवराज इन्द्र
एक पटक नेपालको कानुन 
पढेर आएको भए हुने ।
आज तपाईंकै नाममा
हाम्रो सहरमा जात्रा छ
देवी कुमारीलाई खटमा राखेर
टोल टोलमा घुमाइँदै छ
उहाँको जय जयकार गरिँदै छ
किन थाहा छ तपाईंलाई?
ती चोक चोकमा फुलेका 
फूलहरुको संरक्षण गर्न
ती फूलहरुलाई 
सधैँ फुलिरहन  शक्ति प्रदान गर्न
अनि तपाईं कहीँ कतै टाढा कुनामा 
मुन्टो लुकाएर बस्नु भएको छ कि ?
देवराज इन्द्र
एक पटक नेपालको कानुन 
पढेर आएको भए हुने ।
तपाईंको स्वर्गलोकको
झुर शासन प्रणालीसँग हामी
राम्रैसँग अवगत छौं
चिन्ता नलिनुस्,
हाम्रोमात कानुनी राज्य छ 
यदि चोर्नु नै थियो भने
सुनचाँदी, हीरामोती 
चोर्नु भएको भए हुने
कलिला फूलका कोपिला चोरे जति
ठूलो अपराध हैन यो
देवराज इन्द्रआज पनि तपाईं
हाम्रो कान्तिपुरी नगरीमा 
सुन्दर फूलहरु चोर्न आउनु भएछ
आउनु पहिले,
एक पटक नेपालको कानुन 
पढेर आएको भए हुने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सपना महर्जन
सपना महर्जन
लेखकबाट थप