सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौं–७ मा रस्साकस्सी : जसपाको दाबी, कांग्रेसको डेलिगेसन !

शनिबार, २५ भदौ २०७९, २२ : ३५
शनिबार, २५ भदौ २०७९

मंसिर ४ गते हुने आम निर्वाचनको मिति नजिकिँदै जाँदा सत्ता गठबन्धनमा निर्वाचन क्षेत्र भागबण्डाको रस्साकस्सी बढ्दो छ । गठबन्धनको सिट भागबण्डा कार्यदलले शीर्ष तहलाई प्रतिवेदन बुझाएसँगै अब शीर्ष तहले कसरी त्यसलाई अन्तिम रुप देला भन्ने चासो उत्तिकै छ । 

यहीबीचमा नेताहरुलाई तल्लो तहबाट दबाब पनि आउन थालेको छ । सिट बाँडफाँड गर्दा पार्टीको जनमत रहेको क्षेत्रमा अन्य पार्टीलाई नदिन र उचित निर्णय गर्न भन्दै उनीहरुले सम्बद्ध पार्टीका शीर्ष नेताहरुमा दबाब बढाएका हुन् । यस्तैमा काठमाडौं क्षेत्र ७ कांग्रेसले पाउनुपर्ने भन्दै आवाज उठेको छ ।  

पार्टीको पक्षमा राम्रो जनमत हुँदाहुँदै पनि गठबन्धनको नाममा पटक पटक अर्को पार्टीलाई सघाउन नहुने स्थानीय नेताहरुको जोड छ ।  अघिल्लो निर्वाचनमा राप्रपालाई सघाइएको र अहिले पनि गठबन्धनको नाममा अर्कोलाई यो क्षेत्र दिन नसकिने काठमाडौं ७ का क्षेत्रीय सभापति मुकुन्द रिजालले बताए ।  यसका लागि क्षेत्र नम्बर ७ का नेताहरुले शीर्ष नेताहरुलाई ज्ञापनपत्र नै बुझाइसकेका छन् । उनीहरुले नेता प्रकाशमान सिंह सहितका शीर्ष नेताहरुलाई भेटेरै ज्ञापनपत्र बुझाएका हुन् । 

रिजालसहितको टोलीले नेताहरुलाई बुझाएको ज्ञापनपत्रमा प्रतिनिधिसभा र प्रदेश सभा तर्फको निर्वाचनमा कांग्रेसकै उम्मेदवार उठाउने निर्णय क्षेत्रीय कमिटीले गरेको जानकारी गराइएको छ । ज्ञापनपत्रमा हालै सम्पन्न स्थानीय निर्वाचनमा कांग्रेसले पाएको मत र सांगठनिक उपस्थितिको आधारमा विश्लेषण गर्दा यो क्षेत्रको पहिलो पार्टी काँग्रेस नै रहेको उल्लेख गरिएको छ । 

ज्ञापनपत्रमा भनिएको छ, ‘स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन बिनै गठबन्धनका अन्य सहयात्री दलसँग मित्रवत प्रतिस्पर्धा गर्दा प्रदेश ‘क’अन्तर्गत कामनपा वडा नम्बर १६, १७, १८, र २५ तथा प्रदेश ‘ख’ अन्तर्गत नागार्जुन नगरपालिका वडा नम्बर १, तथा तारकेश्वर नगरपालिका वडा नम्बर ३ र ५ मा बिजय प्राप्त गरेको छ भने सो नगरपालिकाका मेयर तथा उपमेयर संसदमा निर्वाचित भएको र कुल खसेको मध्ये नेपाली कांग्रेसले १४,१६७, नेकपा एमाले १२,२०२, नेकपा एकीकृत ३८३९, राप्रपा २०२७, नेकपा माओवादी ५७६, जसपा १६२ मत प्राप्त गरेको आधारमा नेपाली कांग्रेसकै नेतृत्वमा मात्र गठबन्धनले विजय प्राप्त गर्न सक्ने यथार्थ रहेको कुरा ध्यानाकर्षण गराउन चाहन्छौँ।’

क्षेत्रीय कमिटीले पार्टीको तर्फबाट प्रत्यासी बन्न योग्य सक्षम र नयाँ पुस्ताका मतदाताको मन जित्न सक्ने उम्मेदवार उठाउन पनि अनुरोध गरेको छ । सोहीअनुसार कांग्रेसले प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नं ७ मा नेता सुशिल भट्टसहित प्रमोदहरि गुरागाइँ, सरोजकुमार थापा, रामशरण थपलिया, विनोद पन्त, प्रमिला सिंह डंगोल, दयाराम पाण्डे, नीलकाजी शाक्य र दक्ष पौेडलको नाम सिफारिस गरेको छ । सिफारिस भएकामध्ये सुशील भट्ट उमेर समूहमा सबैभन्दा युवा हुन् । पछिल्लो समय युवाको पक्षमा सकारात्मक माहोल रहेकाले उनले टिकट पाएका खण्डमा पार्टीलाई सहज हुन सक्ने क्षेत्र नम्बर ७ का कांग्रेस नेताहरु बताउँछन् । 

कांग्रेसको सशक्त दाबेदारीका बीच सत्ता गठबन्धनबाट सो क्षेत्र जसपाले पनि दाबी गरेको छ । जसपाबाट नेता राजेन्द्र श्रेष्ठले आफूले सो क्षेत्र पाउनुपर्ने भन्दै शीर्ष तहमा लबिङ गरिरहेका हुन् । यद्यपि गत स्थानीय तहको मत हेर्ने हो भने जसपा भन्दा कांग्रेस निकै अगाडि छ । आन्तरिक समीकरण मिलाउने क्रममा जसपाले टिकट पाएमा फेरि सो क्षेत्रमा पार्टी उम्मेदवार विहीन हुने हो कि भन्ने भय कांग्रेस नेता कार्यकर्तामा छ ।

त्यसो त सत्ता गठबन्धनकै माओवादीले पनि सो क्षेत्रमा दाबी गर्दै उम्मेदवार सिफारिस गरेको छ । माओवादीको काठमाडौं क्षेत्र नम्बर ७ का इन्चार्ज दीपक सिलवालको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधिसभा सदस्यमा मुक्ति प्रधानको नाम सिफारिस गरेको हो । 

यस्तै एमालेले रघुजी पन्त र विद्यासुन्दर शाक्यलगायतका नेताहरुको नाम सिफारिस भएको छ । गठबन्धनबाट जसले टिकट पाएपनि सो क्षेत्रमा एमाले भर्सेस गठबन्धन नै हुने देखिन्छ । यो क्षेत्रबाट अघिल्लो निर्वाचन एमालेबाट रामवीर मानन्धरले जित हासिल गरेका थिए । तर, स्थानीय निर्वाचनमा रामवीर मानन्धर काठमाडौंको मेयरमा विद्यासुन्दरलाई हराउन खुलेआम लागेकाले उनीप्रति एमाले सकारात्मक छैन । सोही कारण उनको नाम सिफारिस समेत भएको छैन । 

क्षेत्र नम्बर ७ अन्तर्गत काठमाडौं महानगरपालिका अन्तर्गतका वडा नम्बर १६, १७, १८ र २५ र नागार्जुन तथा तारकेश्वर नगरपालिकाका ३–३ वडाहरु पर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप