मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नेपाल–बङ्गलादेश स्रष्टा सम्मिलन सम्पन्न

सोमबार, २७ भदौ २०७९, १४ : ३८
सोमबार, २७ भदौ २०७९

अन्तरदेशीय साहित्यिक भेटघाट तथा अन्तक्रिर्याका लागि आएको बङ्गलादेशको साहित्यिक टोली आज स्वदेश फर्किएको छ । ‘अभिव्यक्ति’ द्वैमासिक साहित्यिक पत्रिकाको निमन्त्रणामा नेपाल भ्रमणमा आएका उनीहरू छ दिने कार्यक्रम समापन गरी आज स्वदेश फर्किएका छन् । 

बङ्गलादेश–नेपाल मैत्री समाजका अध्यक्ष लायन मोसियुर अहमदको नेतृत्वमा साहित्यकारहरू डा. अन्वारा सैयद हक, प्रा.डा. दिलारा हाफिज, मोहम्मद मोसियुर रहमान, प्रा. सेलिसेन गुप्ता, गायक काजलकुमार बेनर्जी र सल्लाउद्दिन कुटु नेपाल आएका थिए । उनीहरुले काठमाडौँ, ललितपुर, भक्तपुर र पोखराका पर्यटकीय तथा ऐतिहासिक सम्पदाहरूको भ्रमण गरेका थिए । सो क्रममा उनीहरुले शताब्दी पुरुष सत्यमोहन जोशीसँग पनि भेट गरेका थिए । उनीहरुको सम्मानमा काठमाडौँमा नेपाल बङ्गलादेश स्रष्टा सम्मिलन समारोहको आयोजना गरिएको थियो । 

उक्त समारोहमा ‘अभिव्यक्ति’ साहित्यिक पत्रिकाका संस्थापक तथा संरक्षक नगेन्द्रराज शर्माले स्रष्टाहरूमा हुने गरेको आपसी भ्रमणले दुवै देशको साहित्य बलियो हुने बताए । उनले बङ्गलादेशका सातै जना स्रष्टालाई सम्मानपत्र प्रदान गरेका थिए । ‘अभिव्यक्ति’का प्रधान सम्पादक पवन आलोकको सभापतित्वमा भएको सो समारोहमा साहित्यकार रोचक घिमिरे, रामप्रसाद पन्त, प्रतीक ढकाल, प्राडा. लक्ष्मणप्रसाद गौतम, शङ्कर भारती, श्रीओम श्रेष्ठ ‘रोदन’ र यादव भट्टराईले नेपाल र बङ्गलादेशबीचको साहित्यिक तथा सांस्कृतिक सम्बन्धको बारेमा प्रकाश पारेका थिए । कवि उमेश राई अकिञ्चनले कविता वाचन गरेका थिए । 

बङ्गलादेशका मोसियुर अहमद, सलाउद्दिन कुटुले नेपाल प्राकृतिक रूपले मात्र नभएर सांस्कृतिक र साहित्यिक दृष्टिले पनि महत्त्वपूर्ण भएको विचार व्यक्त गरेका थिए । सो अवसरमा प्रसिद्ध गायक काजलकुमार मुखर्र्जीले रवीन्द्रनाथ ठाकुरको प्रसिद्ध गीत ‘एक्ला चलो ...’ गाएका थिए । 

बङ्गलादेशी स्रष्टाहरूको सम्मानमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरमा, भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले भक्तपुरमा, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यबहादुर विखर्ची, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, पृथ्वीनारायण क्याम्पस, नेपाली विभागका प्रमुख प्राडा कुसुमाकर न्यौपानेले पोखरामा र लायन्स क्लब अफ खानीखोलाले पनि बङ्गलादेशबाट आएका साहित्यकार तथा कलाकारको स्वागतमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप