५८ वर्षका राजु श्रीवास्तवको कार्डियक अरेस्टका कारण निधन, यी संकेतलाई बेवास्ता नगर्नुहोस्
हास्यकलाकार राजु श्रीवास्तवको आज ५८ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो थुप्रै दिनदेखि उनी दिल्लीको एम्स अस्पतालमा भर्ना भएका थिए । अघिल्लो महिना राजु श्रीवास्तवको अचानक स्वास्थ्य अवस्था बिग्रिएको थियो । त्यसपछि नै उनलाई अस्पताल भर्ना गरिएको थियो ।
वास्तवमा राजु श्रीवास्तव होटलको जिममा वर्कआउट गरिरहेका थिए । ट्रेडमिलमा व्यायाम गर्दागर्दैै उनलाई छाती दुख्यो र उनी एक्कासी ढले । त्यसपछि राजुलाई उनका जिम ट्रेनरले तत्काल अस्पताल लगे । डाक्टरका अनुसार व्यायाम गर्नेबेला राजु श्रीवास्तवलाई कार्डियक अरेस्ट भएको थियो । भारतका चर्चित गायक केकेको पनि केही समय अघि कार्डियक अरेस्टका कारण निधन भएको थियो ।
आजको समयमा कम उमेरका मानिसहरुलाई पनि कार्डियक अरेस्टको जोखिम बढेको छ । कार्डियक अरेस्टको लक्षणलाई सामान्य ठानेर थुप्रै पटक बेवास्ता गर्नु खतरनाक हुनसक्छ । कार्डियक अरेस्ट के हो ? कार्डियक अरेस्टका लक्षण के हो ? यसबारे थाहा पाउन निकै आवश्यक छ ।
कार्डियक अरेस्ट के हो ?
क्लिभल्याण्डक्लिनिकका अनुसार कार्डियक अरेस्ट एक घातक स्थिति हो जसमा हृदयले अचानक काम गर्न बन्द गर्छ । यदि मुटुले काम गर्न बन्द गर्छ भने त्यसले रगतलाई पम्प गर्न सक्दैन र केही समयमा नै शरीरभरी यसको असर देखिन थाल्छ ।
आपतकालीन स्थितिमा कार्डियोपल्मोनरी रिससिटेशन र डिफिब्रिलेशनमार्फत् कार्डियक अरेस्ट हुँदा मद्दत पाउन सकिन्छ । सिपिआरले तपाईंको फोक्सोलाई पर्याप्त अक्सिजन प्रदान गर्छ । यदि समयमा नै सिपिआर र डिफाइब्रिलेटर पाइन्ट भने कार्डियक अरेस्टबाट ज्यान बचाउन सकिन्छ ।
कार्डियक अरेस्टका लक्षण के हुन् ?
क्लिभएन्डक्लिनिकका अनुसार कार्डियक अरेस्टका लक्षण पहिलादेखि नै देखिन थाल्छ । तर पनि तल उल्लेखित लक्षण कार्डियक अरेस्टका लक्षण हुनसक्छन् । यदि कसैमा तपाईं यो लक्षण देख्नुहुन्छ भने तपाईंले उसलाई सिपिआर र डिफाइब्रिलेटर दिन सक्नुहुन्छ र तुरुन्त मेडिकल सहायताका लागि पठाउनुहोस् ।
– बेहोसी
– हृदयको गती तीब्र हुनु
– छाती दुख्नु
– रिँगटा लाग्नु
– सास फेर्न समस्या हुनु
– बान्ता हुनु
– पेट र छाती एकैपटक दुख्नु
यी सबै लक्षणको अर्थ यो हो कि तपाईंको मुटुले राम्रोसँग काम गरिरहेको छैन र यसले तपाईंको जीवनलाई खतरा पनि हुनसक्छ ।
किन अचानक हुन्छ कार्डियक अरेस्ट
अचानक कार्डियक अरेस्टमा मुटुले काम गर्न बन्द गर्छ । सास फेर्न समस्या हुन थाल्छ र मानिस बेहोस हुने गर्दछ । मुटुको इलेक्ट्रिक सिस्टममा गडबडी भएपछि यस्तो स्थिति निम्तिन सक्छ । यसका कारण मुटुको रगत पम्प गर्ने प्रक्रियामा बाधा उत्पन्न हुन्छ र शरीरमा ब्लड फ्लो रोकिने गर्छ ।
कार्डियक अरेस्ट हृदयाघातभन्दा भिन्न हो । हृदयाघातमा मुटुको एउटा हिस्सामा रगत पुग्दैन जबकी कार्डियक अरेस्टमा मुटुले अचानक काम गर्न बन्द गरिदिन्छ । यद्यपि, हृदयघातले जतिसुकै बेला इलेक्ट्रिकल सिस्टममा गडबडीलाई निम्त्याउन सक्छ जसका कारण अचानक कार्डियक अरेस्ट हुने गर्छ ।
कसलाई छ कार्डियक अरेस्टको खतरा ?
भारतको बत्रा हार्ट सेन्टरका अध्यक्ष तथा डाक्टर उपेन्द्र कलका अनुसार यस्ता घटना ३५–४० को उमेर पनि देख्न सकिन्छ । तल उल्लेखित बुँदा कार्डियक अरेस्टका लागि जिम्मेवार हुनसक्छन् ।
१. धुम्रपान
२. खराब कोलेस्ट्रोल
३. उच्च रक्तचाप
४. मधुमेह
५. मानसिक तथा सामाजिक तनाव
६. व्यायाम नगर्नु
७. मोटोपना
८. सागसब्जी र फलफूल असाध्यै कम खानु
९. मद्यपान
यी ९ ठूला कारक हुन् जसले ९० प्रतिशत हृदयाघात र कार्डियक अरेस्टका लागि जिम्मेवार हुन्छन् । यीमध्ये दुई वा दुईभन्दा बढी रिस्क फ्याक्टर हुँदा हृदयाघात र कार्डियक अरेस्टको खतरा बढ्ने गर्छ ।
कार्डियक अरेस्टको संकेत देखिने बित्तिकै यी काम गर्नुहोस्
यदि कसैमा कार्डियक अरेस्टको संकेत देखियो भने उसको ज्यान बचाउन सिपिआरको सहारा लिन सक्नुहुन्छ । सिपिआरको पूरा अर्थ कार्डियोपल्मोनरी रिससिटेशन हो । सिपिआर एउटा यस्तो प्रक्रिया हो जसमा छातीमा दुबै हातले एक नियन्त्रित प्रेशर दिने गरिन्छ । यस्तो गर्दा कोही व्यक्तिको रोकिएको मुटु पुनः सक्रिय हुनसक्छ ।
यदि कसैको मुटु धड्किन बन्द हुन्छ भने मुटुले रगत सञ्चार गर्न सक्दैन र केही समयमा नै ती व्यक्तिको मृत्यु हुनसक्छ । विशेषज्ञका अनुसार यदि कार्डियक अरेस्टको संकेत देखिनेबित्तिकै बिरामीलाई तुरुन्त सिपिआर दिने हो भने उसलाई बचाउने सम्भावना दोब्बर हुनसक्छ ।