गजल : जिन्दगीमा अँधेरी देखिन्छ
शनिबार, ०८ असोज २०७९, ०६ : ४९
कपाल फुल्यो मन भने तन्नेरी देखिन्छ
कहिले शान्त कहिले आँधिबेरी देखिन्छ
न उमेरले छेक्न सक्छ, न त बुढेसकालले
रहर भने बच्चा जस्तो फेरि देखिन्छ
उज्यालोको आसमा देश विदेश पुगियो
घाम लागेन जिन्दगीमा अँधेरी देखिन्छ
पैसा त कमायौ मान्छे कति कमाएछौ ?
मृत्युपछि मलामी जाँदाखेरि देखिन्छ
तिम्रो माया कति छ दिलको मझेरीमा
किन हेर्छेउ ती आँखाले नहेरी देखिन्छ ।
बर्दिया, हालः साउदी