सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

देउवामाथि दबाब : काङ्ग्रेसमा एकैपटक ‘आक्रमण’ र ‘प्रतिरक्षा’ शृङ्खला

बिहीबार, ०६ पुस २०७४, १३ : ३२
बिहीबार, ०६ पुस २०७४

काठमाडौं– प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्मनाक हार व्यहोरेपछि नेपाली कांग्रेसमा आन्तरिक विवाद फेरि बल्झिएको छ । 

पछिल्लो समय पार्टीभित्र बल्झिएको किचलो व्यवस्थापनमा नेतृत्व पक्ष बेलैमा सचेत नभए पार्टी गम्भीर दुर्घटनामा पर्ने नेताहरुले नै बताउन थालेका छन् । 

निर्वाचनअघि पार्टी एकढिक्का भएको भन्दै निर्वाचनमा होमिएका कांग्रेसका शीर्ष नेताहरुल सोचेअनुरुप चुनावको नतिजा नआएपछि एकपक्षले अर्को पक्षलाई दोषारोपण गर्ने र आफू पानीमाथिको ओभानो हुने प्रयासलाई पनि निरन्तरता दिन थालेका छन् । त्यसमा फरक समूहका नेताहरुबीच  लगातार ‘वाकयुद्ध’ नै चलिरहेको छ । 

कांग्रेसभित्र यसअघि नै विकसित भएको तर, बीचमा निश्कृय जस्तै बनेको गुटगत समूह (शेरबहादुर देउवा समूह, कृष्ण सिटौला समूह र रामचन्द्र पौडेल समूह) अहिले हारको मुद्दा बोकेर फेरि सक्रिय बन्दै आ–आफ्ना पक्षका भेला, छलफल र रणनीति बनाउन सक्रिय छन् ।

 ती भेला र छलफल खासगरी पार्टी सभापति एवम् कांग्रेस सभापति शेरबहादुर देउवा लक्षित रहने गरेका छन् । 

देउवा समर्थकले उनको बचाउ गर्ने रणनीति अख्तियारको नीति लिएका छन् भने विपक्षीले देउवामाथि आक्रमणको नीति बनाइरहेको छन् । 

जसमा देउवाको राजीनामा, विशेष महाधिवेशन, संसदीय दलको नेता परिवर्तन लगायतका मुद्दालाई प्रमुख विषय बनाइएको छ । 

बिहीबार विहान देउवा पक्षका बालकृष्ण खाड, ज्ञानेन्द्र बहादुर कार्कीसहितका नेताहरुको गोप्य बैठक बसेर ‘देउवा बचाउ’ अभियान सशक्त पार्ने निर्णय भएको एक नेताले रातोपार्टीलाई बताए । 

त्यस्तै देउवाका विपक्षमा रहेको अर्को समूहले नेता एनपी साउद लगायतसँग भेट गरेर देउवा खेमा विरोधी अभियानलाई साथ दिन आग्रह गरेका थिए ।

यसअघि हिजो पनि देउवा समूह र अर्का नेता कृष्ण सिटौला समूहको राजधानीमा छुट्टाछुट्टै भेला बसेर देउवाको पक्ष र विपक्षमा उभिने निर्णय भए । यसअघि देउवालाई चुनौती दिँदै आएको रामचन्द्र पौडेल समुह भने अहिले सिटौला समूहसँगको सहकार्यमा अघि बढेको देखिएको छ । 

के हो विवादको चुरो ?
कांग्रेस महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएलगत्तैबाट कांग्रेसमा पुरानो कोइराला समूहको नेतृत्व गरेका रामचन्द्र पौडेल केन्द्रीय समिति विस्तारदेखि सांगठानिक काममा देउवाले गरेको कामप्रति सन्तुष्ट बन्न सकेको थिएनन् । त्यसपछि देउवा सरकारमा जाने निश्चित भयो । यसमा पौडेल समूहले आफ्ना समूहका नेता मन्त्री नबनाएर देउवालाई प्रधानमन्त्रीको सपथ नै खान नदिने सम्मको योजनामा लाग्यो ।

देउवाले पौडेल समूह असन्तुष्ट बनेको थाहा पाएपछि पौडेल समूहका केही मन्त्रीलाई समेत सँगै सपथ खुवाउने सर्तमा त्यसवेलाको विवाद केही मत्थर भयो । तर, त्यसको तुष नेताहरुमा मेटिएन । 

जब निर्वाचनमा टिकट वितरणको बेला भयो फेरि समूहगत झगडा बल्झियो । त्यसमा पनि नेताहरुले लेनदेनका आधारमा कुरा मिलाए र कांग्रेस एक ढिक्का भएर चुनावमा होमियो भनेर नेताहरुले सार्वजनिक रुपमै घोषणा गरे । तर, त्यो घोषणा निर्वाचनको नतिजा नआउँदासम्ममात्रै कायम भयो । 

८५ को दाबी आयो २३
मंसिर १० र २१ मा भएको निर्वाचनमा कांग्रेसले ८० देखि ८५ निर्वाचन क्षेत्र जित्ने पुर्वअनुमान गरेको थियो । त्यसैअनुसार टिकट वितरण र चुनावी रणनीति बनाएको कांग्रेको नतिजा भने त्यसको ठिक विपरित आयो  । अर्थात प्रतिनिधि सभामा ८५ सिट जित्ने दावी गरेको कांग्रेस झण्डै एक चौथाई (२३ सिट)मा चित्त बुझाउन बाध्य बन्यो ।

बाम गठबन्धनले कांग्रेसको उक्त योजना पूर्णत असफल बनाइदिएन मात्रै शीर्ष र प्रभावशाली भनिने नेताहरुलाई नै संसदबाट ‘रिङ आउट’ गराइदियो । 

नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला, विमलेन्द्र निधी, डा. रामशरणमहत जस्ता हस्ती मानिने नेताहरु नै पराजित भएपछि कांग्रेसभित्र आक्रोशको ज्वारभाटा नै पैदा भयो । निर्वाचन हार्नुमा नेतृत्वले प्रमुख कारण बामगठन्धन र सहायक कारणमा नेताकार्यकर्ताबीचकै घातअन्र्तघात, अराजकता र गुटबन्दी रहेको भन्ने गरेपनि समग्र कांग्रेसजन भने नेतृत्वको असक्षमतालाई नै प्रमुख कारण भएको ठान्न थालेका छन् ।   

देउवाको राजीनामा कि विशेष महाधिवेशन ?
मंसिर २२ पछि निर्वाचनको नतिजा आउने क्रम जारी थियो । त्यहि बेलामा नतिजा कांग्रेसको अपेक्षा र दावी विपरित बाम गठबन्धनका उम्मेदवारहरु धमाधम विजयी हुन थाले । 

यसपछि कांग्रेस नेता तथा कार्यकर्तामा स्वभाविक छटपटि सुरु भयो । निर्वाचन परिणाम अन्तिम अवस्थामा पुगेपछि कतिपय नेता तथा कार्यकर्ताहरुले नेतृत्वको गलत रणनीति, कार्यशैलीका कारण कांग्रेसले पराजय भोग्नुपरेको भन्दै प्रतिकृयाहरु दिन थाले । यसक्रममा नेता प्रकाशमानसिंह र गगन थापा अगाडि थिए । पछि रामचन्द्र पौडेल, कृष्ण सिटौला, धनराज गुरुङ, प्रदिप पौडेललगायतका नेताहरु थपिदै गए । उनीहरुले सभापति देउवाकै कारण पाटीले हारेको र उनले नैतिक जिम्मेवारी लिएर राजीनामा गर्नुपर्नेसम्मको अभिव्यक्तिहरु दिन थाले । 

तर, देउवा टसको मस भएनन् बरु, आफ्ना पक्षाका युवा नेताहरुलाई आफ्नो बचाउमा लाग्न निर्देशन दिए । त्यहि निर्देशनअनुसार बुधबार पार्टीका भातृसंगठनका देउवापक्षिय नेताहरुको गोप्य भेला नै भयो । 

उक्त भेलाले देउवाको राजीनमा त के विशेष महाधिबेसन पनि आवश्यक नरहेको ठहर गर्यो । त्यसैदिन सिटौला र पौडेल समूहको छुट्टै बैठक बसेर संसदीय दलको नेताबाट देउवालाई हटाएर गगन थापालाई अघि सार्ने निर्णय नै गरियो । यो बैठकमा नेताहरु चन्द्रभण्डारी, बद्री पाण्डे, गुरुराज घिमिरे, महादेव गुरुङ, उमेशजंग रायमाझी, रामहरी खतिवडा लगायत सहभागि थिए । 

असन्तुष्टलाई देउवाको जवाफ
निर्वाचन परिणाम आइसक्दा पनि कांङग्रेस पार्टीले निर्वाचनको समिक्षा गर्न ढिलाइ गरेको भन्दै केही नेता तथा कार्यकर्ता  बिहीबार विहान बालुवाटर पुगेर सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । 

सरकारका मन्त्री, विभिन्न भातृसंगठनका अध्यक्ष, महासमिति सदस्य, पार्टी केन्द्रीय सदस्य लगायतको टोली बिहान ११ बजे बालुवाटर पुगेर पार्टीभित्र निर्वाचनको समिक्षा गर्न ढिलाइ गर्न नहुने बताएका हुन् । 

जवाफमा देउवाले टिकट वितरण गर्दा आफूले मात्रै नगरेको भन्दै रामचन्द्र पौडेल, कृष्ण सिटौला, खुमबहादुर खड्का सवैले मिलेर गरेकाले हारको जिम्मेवारी आफूले मात्रै लिन नसक्ने बताएको कांग्रेस नेता रामहरी खतिवडाले बताए । 

खतिवडाका अनुसार देउवाले आफैंमाथि मात्र दोष थोपर्ने काम भएको भन्दै त्यसो नगर्न र सामूहिक रुपमा चलेको कांग्रेस जिम्मेवारी पनि सामुहिक नै हुनुपर्ने बताएका थिए । 

त्यसक्रममा सभापति देउवाले तत्काल महाधिवेश बोलाउन असम्भव भएको संकेत गर्दै तत्काल केन्द्रीय समिति बैठक डाक्ने बताएका थिए । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप