सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एमाले–माओवादी एकताबारे पाँच शीर्ष नेताको यस्तो छ धारणा

शुक्रबार, ०७ पुस २०७४, ११ : ०५
शुक्रबार, ०७ पुस २०७४


काठमाडौँ– निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने सहमति गरेका एमाले–माओवादी केन्द्रले पार्टी एकताका लागि गृहकार्य तीव्र बनाएका छन् । सोही गृहकार्यअनुसार माओवादी केन्द्रले तीन दिनअघि पार्टीको बैठक राखेर एकताका विषयमा आफ्नो धारणा तय गरेको छ भने एमालेले शुक्रबार (आज) को स्थायी कमिटी बैठकमार्फत एकताको एजेन्डा तय गर्ने बताएको छ ।

एकतासँग जोडिएका मुख्य विषय अध्यक्षलगायतको पद कसले लिने र तलैसम्मका साङ्गठानिक संरचनाको मिलानमा कुन विधि अपनाउने भन्नेमा दुवै दल स्पष्ट भइसकेका छैनन् ।

संयुक्त चुनावी घोषणापत्र बनाएर चुनावमा गएका यी दलले बहुमत ल्याएपछि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मध्ये कसले पार्टी र कसले सरकारको नेतृत्त्व गर्ने भन्नेमा दुवै अध्यक्षबीच ठोस छलफल भइसकेको छैन ।

चुनावअघि ६० र ४० प्रतिशतको अनुपातमा उम्मेदवारी तय गरेर अघि बढेका एमाले माओवादीले अब सङ्गठनात्मक संरचनामा पनि त्यही विधि अपनाउने हो कि भन्ने सामान्य छलफल भए पनि ठोस सहमति बनिसकेको छैन ।

‘महाधिवेशनसम्मका लागि केही सैद्धान्तिक र वैचारिक असमझदारीलाई पनि एकरूपता दिनुपर्नेछ । ती विषयमा हाम्रो गृहकार्य भइरहेको छ’ पार्टी एकता संयोजन समितिका सदस्य एवम् माओवादी नेता नारायणकाजी श्रेष्ठले रातोपाटीलाई भने, ‘पहिला खाका बन्नुपर्यो त्यसपछि एजेन्डा तय गरेर छलफल गरी निष्कर्षमा पुग्ने हो ।’
माओवादीभित्रबाट प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पद आफूले पाउनुपर्ने धारणा आइरहेको छ भने एमालेबाट प्रधानमन्त्री, पार्टी अध्यक्ष र संसदीय दलको नेता पनि एउटै हुनुपर्ने धारणा आइरहेका छन् ।

ठूलो पार्टी भएकाले तत्काल एमालेबाट प्रधानमन्त्री र माओवादीले पार्टीको नेतृत्व गर्नुपर्नेबीचको बाटोका बारेमा पनि ओली र प्रचण्डबीच छलफल भए पनि त्यसबारे अरू नेतालाई केही बताइएको छैन । यो विषयमा अध्यक्ष दाहाल र एमाले अध्यक्ष ओलीले सार्वजनिक रूपमा भने केही बोलेका छैनन् ।

हामीले पार्टी एकता प्रकृयाको मोडल, वैचारिक–राजनीतिक दृष्टिकोण र साङ्गठानिक संरचनाको मिलान के हुने ? भनेर पार्टी एकता संयोजन समितिका सदस्य नारायकाजी श्रेष्ठ, माओवादी नेता देव गुरुङ, एमालेका नेता भीम रावल, सुवासचन्द्र नेम्वाङ र सुरेन्द्र पाण्डेलाई सोधेका छौँ । उनीहरूले हाम्रा प्रश्नको यस्तो जवाफ दिएका छन् ।
 

नारायणकाजी श्रेष्ठ– शुक्रबारबाट पार्टी एकता प्रकृया सुरु हुने होइन, हामीले शुक्रबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने भनेका हौँ । त्यो बैठकमा दुवैपक्षबाट पार्टी एकता गर्दा वैचारिक र साङ्गठानिक लाइनका बारेमा भइरहेका अस्पष्टता हटाउने र साझा विन्दुको खोजी गरिन्छ । त्यसअघि दुवै पार्टीभित्र आआफ्नै ढङ्गले एकता गर्दाका बखत अपनाउनुपर्ने विधि र मूल एजेन्डाका बारेमा छलफल गरिरहेका छौँ । ती एजेन्डाहरू तय भइसकेपछि बल्ल छलफलमा लैजान्छाँै । मूल त दुवै पार्टीको एजेन्डा वैचारिक र साङ्गठानिक नै हो । यसैलाई कसरी र कुन माध्यमबाट टुङ्ग्याउने भन्ने मुख्य प्रश्न हो । 

सुवास नेम्वाङ– चाँडै एमाले स्थायी समिति बैठक बस्छ । त्यसले आफ्नो तर्फबाट एकताका लागि न्यूनतम खाका तय गर्छ । माओवादीको अस्ती नै बस्यो उसले पनि खाका तयार गर्दै होला । दुवैको खाका पार्टी एकता संयोजन समितिमा टेबल गरिन्छ र निष्कर्षमा पुगिन्छ ।

भीम रावल– आजबाट एकता प्रकृया सुरु हुन्छ, पद बाँडफाड, साङ्गठानिक स्वरूप सबै विषय बैठकमा नै टुङ्ग्याइन्छ । विधि प्रकृया के हुने भन्ने बैठकमा छलफल भएपछि मात्रै भन्न सकिन्छ । तर, राष्ट्रिय हित सर्वोपरि ठानेर दुवै पक्षले एकताको गृहकार्य गर्ने भनेर यसअघि नै सहमति भइसकेको छ ।

देव गुरुङ– पार्टी एकता गर्ने विषय निर्वाचनअघि नै दुवैपार्टीका बीचमा सहमति भइसकेको हो । त्यसका लागि अहिले आआफ्नो पार्टीमा गृहकार्य भइरहेको छ । त्यसका लागि दस्तावेज तयार गर्नेलगायतका काम भइरहेका छन् । धेरै कुरा त महाधिवेशनले नै छिनोफानो गर्ने नै छ । तर त्यसअघि सैद्धान्तिक र साङ्गठनिक विषयलाई कसरी व्यवस्थापन गर्ने भन्ने नै हो । मैले सुनेअनुसार पार्टी एकता संयोजन समितिको बैठक शुक्रबार राखिएकाले त्यो बैठकले नै धेरै कुरा निर्धारण गर्नेछ ।

सुरेन्द्र पाण्डे– पहिला हाम्रो स्थायी कमिटी बैठक बस्छ, त्यो बैठकले पार्टी एकता गर्दा साङ्गठानिक र सैद्धान्तिक विषयलाई कसरी व्यवस्थापन गर्ने भन्ने आफ्नो धारणा तय गर्छ । मूलतः सङ्गठनको तलदेखि माथिसम्मको नेतृत्वको व्यवस्थापन कसरी गर्ने भन्ने नै प्रमुख विषय हुनसक्छ । त्यसमा महाधिवेशनसम्मलाई कसरी अघि बढ्ने भन्ने नै हो । त्यो विषयमा एउटा अन्डरस्ट्यान्डिङ हुन जरुरी छ । अर्को सैद्धान्तिक विषयमा प्रतिस्पर्धाको राजनीति स्वीकार गर्ने भन्नेमा दुवै पक्ष सहमत छौँ । अबको बाटो पनि त्यो नै हो । हाम्रो झापा आन्दोलन र माओवादीको सशस्त्र आन्दोलनजस्तो अब सम्भव छैन । तेस्रो कुरा, कामको बाँडफाँट हो । कामको बाँडफाँट सरकार र पार्टी दुुवैमा हुनुपर्छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप