मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

लघुकथा : कविको श्रद्धाञ्जली सभा र खुईली दिदी

शनिबार, २२ असोज २०७९, ०८ : २१
शनिबार, २२ असोज २०७९

गएको शुक्रबार त हो, पुरा जिल्लै हल्लाएका नामी कवि सरस्वती प्रसाद ‘घायल’ले संसार छोडे ।  घायल, अभागी, कङ्गाल, दुःखी, बैरागी आदि उपनाम कविहरुकै लागि आरक्षित टाईटल हुन् ।

कविजीलाई कलेजोले धोका दिएको खबर गाइँगुइँ छ । (हुन त कवि र कलेजोको दुश्मनी प्राचीन हो ।) त्यसो त उहाँको स्वास्थ्य बिग्रेको देशको चिन्ताले पनि हो । साँझमा झोल पदार्थले जिब्रो भिजाएपछि ‘देश सिद्धियो, देश बर्बाद भयो’ भनेर भुट्भुटिइ रहनुहुन्थ्यो । (हामीले पिर नलिनोस् भन्दा माने पो ?)

उहाँको नामको पछाडिको टाइटल ‘घायल’को नामकरणबारे पनि रोचक कथा छ । आफ्नै घरकीले उहाँलाई दिनरात लाछी, उद्यमहीन भनी चोट पुर्याएपछि उहाँ लामिछानेबाट ‘घायल’ हुनु भएको हो ।

(यो कुरा उहाँले सूर्यास्त पछिको विशेष सत्संगमा ‘मुड फ्रेस’ भएको बेला गोजीका खास खास साथीहरुलाई भन्नुभएको हो ।)

अनियन्त्रित कवि भावनाझैं, अनुहारको आँगन र भित्ताभरि बेफिक्री र स्वच्छन्द झुण्डिएका वहाँका अग्र्यानिक रेशमी दाह्रीसँग अब हावाले पिङ खेल्न पाउनेछैन । काँधमा खाँडीको फुर्के झोला (कविजी झोलाभित्र सपनाहरुको संग्रहालय छ भन्नुुहुन्थ्यो) भिरेर र खाँडीकै कुर्ता सुरुवालमा सजिएर परैबाट जम्लाहात गर्दै उहाँ अब आउनु हुनेछैन । युवा मन र बाल मुस्कान भएका ती प्रौढ कविका कोमल ओठहरुबाट प्रस्फुटित नव जागरण र नव चेतनाका मन्त्रलहरी अब हामी सुन्न पाउनेछैनौं ।

साँच्चै भन्ने हो भने कवि ‘घायल’ले पुरै जिल्लालाई नै घायल पारेर जानुभयो ।

हिजै त हो, दिवङ्गत कवि ‘घायल’को श्रद्धान्जली सभामा धेरै पढेलेखेका र नाम चलेका मान्छे खचाखच थिए । 

‘घायल’जीको तस्बिरमा अबिर छर्केर नमस्कार गर्दै सबैले पालैपालो भने, ‘भाषा, साहित्यको क्षेत्रमा उहाँको योगदान अतुलनीय थियो । उहाँको अभावमा साहित्यले अपूरणीय क्षति ब्यहोर्ने निश्चित छ ।’

भाषणपछि उहाँको सम्झना र सम्मानमा उहाँले नै लेख्नु भएको एउटा कविता कसैले सुनाएः

हामी मानिस हौं,

आफ्नो कल्पनाले सधैँ सताएको हुन्छ

माया मायाले जेलिएको संसार छ ।

यसपछि एकजना भलाद्मी र खाइलाग्दा साहित्यकारले औधी नै जोशिदै राज्य र सरकारले कवि कलाकारहरुको संरक्षण र ईज्जत गर्न नसकेकोमा आगो नै ओकले । 

भेलाले ‘घायल स्मृति प्रतिष्ठान’को स्थापना गर्ने सर्वसम्मत निर्णय गर्यो । तर यसैबिच यहाँ एउटा भन्न अलि नमिल्ने अप्ठ्यारो कुरा पर्न गयो ।

कुरा के भने, भेलाको पछाडिपट्टि बसेकी कविजीकै छिमेकी खुइली दिदी छेउछाउका मानिसहरुसित खासखुस गर्दै थिइन्, ‘त्यसका कविताले के खुल्क्यायो र ? न त्यसलाई चपाएर भोक मर्ने, न जिउमा टाँसेर आङ छोप्न मिल्ने, न निधारमा दलेर ओखती नै हुने ।’

‘असत्ती गतिछाडाले स्वास्नी र छोरीहरुलाई कहिल्यै सुख दिएन । न सच्चा लोग्ने बन्न सक्यो, न बाबु बन्न सक्यो । आधा रातमा कुकुरको मुत पिएर हल्लिदै आउँथ्यो र भित्ता समाउँदै घरभित्र पस्थ्यो । घरबेभार, रिनपान, पाउनापात, चाडवाड, छोरीहरुको हेरबिचार बिचरी साईंलीले कसरी एक्लै थामिहोलि ?’

यो कुरा यहाँ भेला भएका गफका भकारीहरुलाई के थाहा ? कठैबरा, साईंली उमेरमै चाउरी परि । ग्यास्टिकले जान आँटेकी छ बरा । 

अगाडि मञ्चमा औपचारिक कार्यक्रम भैरहेको थियो । भाषण, कविता वाचन, श्रद्धान्जली अर्पण चलिरहेको थियो भने यता खुईली दिदीको भूमिगत प्रवचन पनि सुटुक्क चलिरहेकै थियो । 

–‘ठूली छोरी डाईबरसँग हिँडी । कान्छी छोरी मामलमा बसेर पढ्दैछ ।’

–‘ढुक्क भयो, अब साईंलीले मध्यरातमा गलेको ज्यान बोकेर भान्सामा त जानुपर्दैन । त्यसको खप्की खानु त पर्दैन ।’

खुईली दिदीले अलि चर्कै बोलिछन् कि क्या हो, अगाडि बस्ने पढेलेखेका र नाम चलेका मान्छेहरुले उनलाई खाउँला झैं हेरे ।

खुईली दिदीलाई अलि अलि डर लागेजस्तो भयो । र, फुत्त त्यहाँबाट निस्केर घरतिर हिँडिन् । 

हालः लन्डन, बेलायत

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप