सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नुहाउँदै गर्दा किन फुर्छ नयाँ ‘आइडिया’ ? अनुसन्धानमा खुलासा

सोमबार, २४ असोज २०७९, ११ : ०५
सोमबार, २४ असोज २०७९

के गर्मीमा चिसो पानी र चिसोमा शावरबाट बग्ने तातो पानीले तपाईंको दिमागमा नयाँ ‘आइडिया’ फुर्न सहयोग गर्छ ? दशकौँदेखि यसलाई वैज्ञानिकले शावर इफेक्ट भन्दै आएका छन् । अब दुई नयाँ अनुसन्धान गरिएको छ ता कि बाथरुममा नै किन उत्कृष्ट आइडिया फुर्छ भनेर पत्ता लगाउन सकियोस् । पहिलो अनुसन्धानबारे कुरा गरौँ । यसलाई भर्जिनिया युनिभर्सिटीमा फिलोसोफी र कग्निटिभ साइन्सका अनुसन्धाता ज्याक इरविङले गरेका हुन् ।

ज्याकका अनुसार अनावश्यकको एकाग्रता तपाईंको कल्पनाशीलता वा रचनात्मकताको दुश्मन हुन्छ । कुनै एक समस्याको समाधान खोज्नका लागि लगातार काम गर्नुको साटो ब्रेक लिनुहोस् वा केही समयका लागि अर्को काम गर्नुहोस् । जस्तै कि बाथरुममा नुहाउनु । बाथरुमको वातावरणले तपाईंको दिमागलाई खुल्ला राख्छ । तपाईं भिन्न तरिकाले सोच्न सुरु गर्नुहुन्छ । तर कुनै एकाग्रता बिना । कुनै बाधा बिना । तपाईं विचारको छालमा पौडिन थाल्नुहुन्छ । भिन्न खालका विचार । विभिन्न विषयमा । त्यसैले त्यहाँबाट एउटा उत्कृष्ट आइडिया फुर्ने सम्भावना बढी रहन्छ ।

यदि तपाईं असाध्यै बोरिङ काम लगातार गर्नुहुन्छ भने तपाईंको क्रिएटिभिटी र नयाँ आइडिया समस्त हुन थाल्छ । तपाईंको समस्या वास्तविक समस्याबाट हट्नेछ । तपाईं एउटै मात्र समस्यामा अड्किरहनुहुन्छ । कसैले भित्तामा पेन्ट लगाइरहेको हेर्नु बोरिङ काम हो वा एकै खालको काम एउटै रुटिनमा गर्दा पनि बोरिङ हुन्छ । यस्ता काममा तपाईं आफैँ संलग्न हुनुहुन्नँ, त्यसैले पनि बोर लाग्छ । पैदल हिँड्नु, बगैँचामा काम गर्नु वा नुहाउनु । यसले तपाईंलाई कम लेभलमा व्यस्त राख्छ । यसले क्रिएटिभिटी बढाउँछ ।

इतिहास यो कुराको साक्षी छ कि शावर इफेक्टमाथि गरिएको अनुसन्धानको नतिजा एकै खालका थिएनन् । एकाग्रता नचाहिने, गल्ती होला कि भनेर डराउनु नपर्ने काम जस्तै, नुहाउने, शौचालय जाने जस्ता काम गर्दा तपाईंको दिमाग बन्धनबाट मुक्त हुन्छ । त्यसपछि विभिन्न खालका कुराहरु दिमागमा घुम्छन् तर यो कुरा अन्य थुप्रै अनुसन्धानले प्रमाणित गर्न चुकेका छन् ।

ज्याक इरविङले पुराना एक्सपेरिमेन्टको डिजाइनमा पनि गल्ती हुनसक्ने बताएका छन् । उनी भन्छन्, ‘त्यसैले पुराना अनुसन्धानले यो पत्ता लगाउन सकेको थिएन कि फ्रि थिङ्किङ र फोकस्ड थिङ्किङमा सन्तुलन राख्नुपर्छ । पुराना अनुसन्धानले नुहाउँदै गर्दा दिमाग यति फ्रि किन हुन्छ भनेर बताउन सकेको थिएन जबकी उनीहरुले दिमागको ध्यान कसरी बाँडिन्छ भनेर अनुसन्धान गरिरहेका थिए ।’

सन् २०१५ मा एउटा अनुसन्धान भएको थियो जसले के भनेको थियो भने, मानिसले आफ्नो कामभन्दा बाहेकको कुरा सोच्छ भने उनले क्रियटिभ आइडिया ल्याउन सक्दैन । अर्थात्, फोकस बिनाको विचार बेकारका हुन्छन् ।

त्यसैले ज्याक इरविङ र उनका साथीहरुले दुईवटा एक्सपेरिमेन्ट डिजाइन गरे । पहिलो शोधमा २२२ जनाले भाग लिएका थिए । यसमा धेरैजसो महिला थिए । सुरुमा उनीहरुलाई ९० सेकेन्ड भित्रै ईंट वा पेपर क्लिपबारे कुनै सटिक आइडिया लिएर आउन भनियो, जुन प्रयोगमा आइरहेको थिएन । त्यसपछि प्रयोगमा भाग लिने मानिसहरुलाई १ देखि २ हप्ताको एउटा टास्क दिइयो । पहिलो समूहलाई ‘ह्यारी मेट सेली’ को तीन मिनेटको एउटा दृश्य हेर्न भनियो । दोस्रो ग्रुपलाई तीन मिनेटको दृश्य हेर्न भनियो जसमा एक व्यक्ति धुने कपडा लिएर उभिइरहेका छन् ।

भिडियो हेरेपछि दुबै समूहलाई आफ्नो पुरानो टास्कमा कुनै नयाँ आइडिया आउँछ कि भनेर सोच्नका लागि ४५ मिनेटको समय दिइयो । त्यसपछि सहभागीलाई ‘भिडियो सेगमेन्टका बेला तपाईंहरुको दिमाग कति चल्यो ?’ भनेर प्रश्न सोधियो । त्यसपछि के पत्ता लाग्यो भने जसले धुने कपडा लिएर उभिएका मानिसको भिडियो हेरे, उनीहरु बोर भए । तर यसैबीच उनीहरुको दिमागमा उत्कृष्ट आइडिया फुरे । जबकी जसले फिल्मको दृश्य हेरिरहेका थिए, उनीहरुको दिमागमा राम्रो आइडिया आएन । अर्को अनुसन्धानको नतिजा पनि त्यस्तै आयो ।

अनुसन्धानको नतिजाले के भन्यो भने, जब तपाईंको दिमाग फ्रि हुन्छ तब तपाईं उत्कृष्ट आइडियासहित आउन सक्नुहुन्छ । चाहे त्यो बोरिङ भिडियो हेरेर आओस् वा बाथरुममा आओस् । यो अनुसन्धान हालै साइकोलोजी अफ एस्थेटिक्स, क्रिएटिभिटी एन्ड द आर्टस्मा प्रकाशित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप