सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रुपन्देही- २ : उम्मेदवारी खारेजी भएपछि सर्वोच्च जाने गुरुङको तयारी

बुधबार, २६ असोज २०७९, ०७ : ५७
बुधबार, २६ असोज २०७९

आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका सत्तारुढ गठबन्धनका नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उनी सर्वाेच्च जाने तयारी गरेका छन् । 

समाजवादीका जिल्ला अध्यक्ष अविराम विकले उम्मेदवारी खारेजीको विषयलाई लिएर सर्वोच्च जाने तयारी भएको जानकारी दिए । गुरुङसँग भने सम्पर्क हुन सकेन । बैंकिङ कसुर देखाएर गुरुङको उम्मेदवारी खारेज गरिएको भएपनि कसुर देखाइएको कम्पनी राजु गुरुङको मात्र नभएर शेयर सदस्य मात्र भएको विकले बताए । निर्वाचन आयोगले राजनीतिक पूर्वाग्रह राखेर उम्मेदवारी खारेज गरेकोले यसको विकल्पमा सर्वोच्च जाने तयारी भएको उल्लेख गरे । बैंकिङ कसुर गरेको भनिएको कम्पनीले तिर्नुपर्ने रकम तिर्न खोज्दा पनि नदिइएको विकले दावी गरे ।  

निर्वाचन कार्यालय रुपन्देहीका सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले मंगलबार राति ११ बजे सूचना जारी गर्दै गुरुङको उम्मेदवारी खारेज भएको जनाकारी गराएका थिए । 

गुरुङविरुद्ध उनी अध्यक्ष रहेको नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिले गौतमबुद्ध विमानस्थल निर्माणको ठेक्कामा सामान आपूर्ति गरेको बेस्ट प्रोजेक्ट म्यानेजमेन्ट एण्ड सप्लायर्स प्रालिलाई तिर्नुपर्ने २ करोड ५० लाख बराबरको रकमका लागि विभिन्न मितिमा काटिएका ८ वटा चेक बाउन्स भएपछि गुरुङको कम्पनीलाई सिद्धार्थ बैंकले कालोसूचीमा राखेको थियो ।

स्वतन्त्र उम्मेदवार हिमाल बस्याल, हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवार बनेका डा. कमल भुसाल (निकोलस)को उम्मेदवारी पनि खारेज भएको छ । गुरुङसहित तीनैजना रुपन्देही २ मा एमालेका उपाध्यक्ष विष्णु पौडेलसँग प्रतिस्पर्धामा थिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप