आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वर्षाबाट भएको क्षतिबारे प्रतिवेदन प्रस्तुत गर्न गृहमन्त्रीको निर्देशन

हरेक जिल्लामा विशेष सुरक्षा योजना बनाएर पठाइयो
बुधबार, २६ असोज २०७९, २० : २७
बुधबार, २६ असोज २०७९

गृहमन्त्री बालकृष्ण खाणले अविरल वर्षाबाट भएको क्षतिबारे तथ्य सङ्कलन गरी तत्काल प्रस्तुत गर्न निर्देशन दिएका छन् । बुधवार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणीन्द्रमणि पोखरेलले गृहमन्त्री खाणले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका बाँके, बर्दिया र दाङ लगायतका जिल्लामा पछिल्लो समय आएको अविरल वर्षाका कारण पुगेको जनधनको क्षतिबारे अध्ययन गरी तत्काल रिपोर्ट प्रस्तुत गर्न निर्देशन दिएको जानकारी दिएका हुन् । 

उनका अनुसार गृहमन्त्री खाणले बिहीबार नै घटनास्थलको निरीक्षण गरी प्रतिवेदन प्रस्तुत गर्न र आवश्यक राहत उपलब्ध गराउन निर्देशन दिए । प्रवक्ता पोखरेलले अपुग ठाउँमा राहत लैजान पनि निर्देशन दिनुभएको बताए । उनले भने, ‘कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा, बाँके, बर्दिया र दाङमा बाढी पहिरोका कारण भएको क्षतिबारे छलफल भयो । बाढी, पहिरोबाट क्षति पुगेको स्थानमा राहत उपलब्ध गराउन विपद् व्यवस्थापनले के गर्नुपर्छ भन्ने विषयमा छलफल भयो । केही जिल्लामा ठुलो क्षति भएको छ । त्यसलाई सम्बोधन गर्न सम्भवतः भोलि नै हाम्रो टिम त्यता जानेछ । त्यो टिमले जे देख्छ त्यो विषयको रिपोर्ट पेस गर्नेछ ।’

प्रवक्ता पोखरेलले आसन्न निर्वाचनमा पनि आउन सक्ने विपद्को सम्भाव्यता अध्ययन गर्न र त्यसको लागि उचित व्यवस्थापन मिलाउन निर्वाचन आयोगसँग समन्वय गर्ने बारेमा छलफल भएको बताए । उनले आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित बनाउने बारेमा सबै सुरक्षा निकायसँग छलफल गरेको बताए । उनले भने, ‘आसन्न निर्वाचन अब ३९ दिन मात्रै बाँकी छ, त्यसलाई कसरी निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित बनाउने ? भन्ने सन्दर्भमा सबै सुरक्षा निकायबीच विभिन्न कुराहरू आए । त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा आएको छ । सबै सुरक्षा निकाय आफ्नो नियमअनुसार परिचालित हुनेछ । उपलब्ध श्रोत, साधन केही कमी भए त्यसको व्यवस्थापन गर्ने, अर्थ मन्त्रालय, निर्वाचन आयोगसँग समन्वय गरी आवश्यक सामग्री परिपूर्ति गरी सुरक्षालाई चुस्त र दुरुस्त बनाउने बारेमा छलफल भयो । निर्वाचनमा आचारसंहिताको पूर्णरुपमा पालना गर्न सबै सुरक्षा निकायलाई मन्त्रीज्यूले निर्देशन दिनुभएको छ ।’ 

प्रवक्ता पोखरेलले निर्वाचनका लागि हरेक जिल्लामा विशेष सुरक्षा योजना बनाएर पठाएको र त्यसै अन्तर्गत सुरक्षा योजना तयार गर्न निर्देशन भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप