मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

प्रचण्डको ‘मर्निङ वाक कल्चर’, सन्देश के ?

शनिबार, ०८ पुस २०७४, १२ : ११
शनिबार, ०८ पुस २०७४

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक मनहरी तिमिल्सनाले शुक्रवार साँझ र शनिवार विहान गरी सामाजिक संजाल फेसवुकमा दुई वटा स्टाट्स राखे ।

केही तस्वीरसहित शनिवार विहान राखिएको स्टाट्समा थियो– ‘राजमार्गमा प्रचण्डको पाँच किमी लामो मर्निङ वाक ! नेपाल जेसिसको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्न चितवनबाट भैरहवाका लागि निस्कुभएका प्रचण्डले शनिबार बिहान पुल्चोकदेखि गैडाकोटको थुम्सीको जङ्गलअघिसम्म राजमार्गमा पाँच किमी लामो मर्निङ वाक गर्नुभएको छ । स्वास्थ्यलाई सन्तुलित राख्न अध्यक्ष प्रचण्डले सम्भव भएसम्म मर्निङ वाक र नभए टेबुल टेनिस खेल्ने गर्नुहुन्छ ।’

यसै गरी शुक्रवार साँझको स्टाट्समा थियो, ‘शुक्रबार साँझ परेपछि माओवादी केन्द्रका अध्यक्ष नारायणीको तिरमा निस्किए । परिवारसहित नारायणीको तिरमा इभिनिङ वाकमा निस्किएका प्रचण्डले आफ्ना बाल्यकालका दिन सम्झिए ।

‘हामी पहिले यहीनेर पौडी खेल्थ्यौं, अलि पर ढुङ्गै ढुङ्गाको खोच थियो’ प्रचण्डले आफ्ना पूराना दिन सम्झँदै भने । मतदातालाई धन्यवाद दिन भरतपुर आएका प्रचण्डले नारायणीको तिरमा डुलेर नदी र आसपासका दृश्यहरु अवलोकन गरे ।’

यस अघि प्रचण्डका ‘इभिनिङ वाक’ का तस्वीर सम्भवतः कहिल्यै बाहिर आएका थिएनन् ।

चुनाव सकेपछि उनी पहिलो पटक चितवन गएका हुन् । साँझको समय नारायणी नदीको किनारमा उनले परिवारका अन्य सदस्यसँग विताए ।
 
‘मर्निङ वाक’ र ‘इभिनिङ वाक’ का तस्वीर सामाजिक संजालमार्फत बाहिर ल्याएर प्रचण्डले के सन्देश दिन खोजेका हुन् ?
 
यो विषयमा मैले प्रचण्डका पूर्वस्वकीय सचिव विकेश श्रेष्ठसँग जान्न खोजेँ । उनले यसमा कुनै सन्देश नरहेको बरु प्रचण्डको बानीमात्र देखिएको बताए ।

२०५७ सालदेखि नै प्रचण्ड निटक रहेर काम गरेका श्रेष्ठ प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा स्वकीय सचिव पनि थिए । उनले माओवादीको केन्द्रीय कार्यलयमा बसेर पनि केही बर्ष काम गरे ।


 
प्रचण्डको ‘मर्निङ वाक’ र ‘इभिनिङ वाक’ वारे श्रेष्ठले भने, ‘यसमा कुनै राजनीतिक सन्देश छैन । यो उहाँको रुचि र बानी हो । उहाँ निस्क्रिय भएर बस्न सक्नुहुन्न । भेटघाट, छलफल वा वैठक नभएको बेला केही न केही गर्ने वानी छ । उहाँ जतिबेला पनि गतिशिल हुन चाहनुहुन्छ । चुनावको बेला मर्निङवाकमा निस्कनुभयो । त्यसपछि त्यो उहाँको काठमाडौ बाहिर जाँदाको रुटिङजस्तो भयो । जहाँ बसेपनि क्रियाशील हुने र खाली नबस्ने वानीका रुपमा यसलाई हेर्नुपर्छ । अरु सन्देश हो जस्ता मलाई लाग्दैन ।’


 
प्रचण्डको ‘मर्निङ वाक’ कथा
 
स्थानीय तहको चुनावी प्रचारमा प्रचण्ड तराई–मधेशका जिल्लामा गएका थिए । त्यहीँबाट उनले चुनावी राजनीतिका रुपमा ‘मर्निङ वाक’ संस्कृति शुरु गरे ।
खासमा मतदातासँग निकटता बनाउने र मधेशमा पार्टीको पक्षमा माहौल तयार गर्न प्रचण्डले यसो गरेका थिए ।
 
दुई नम्बर प्रदेशको स्थानीय तहको चुनावमा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने प्रचण्डको एक सूत्रीय एजेन्डा थियो । चुनावी प्रचारका हरेक कार्यक्रम तथा मिडिया विफ्रिङमा प्रचण्डले यसपाली मधेशमा माओवादी एक नम्वरको पार्टी बन्ने दावी गरिरहेका थिए ।


 
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको तराई–मधेशसँग आफ्नो ‘लभ’ परेको अभिव्यक्तिले कुनै बेला हलचल मच्चाएको थियो । ‘लभ’ परेको भूमिमा स्थानीय तहको चुनावमा प्रचण्ड ‘डेरा’ जमाएर बसेका थिए । आफू मात्र होइन, उनले पार्टीको केन्द्रीय तहको सम्पूर्ण नेतृत्वलाई तराई–मधेशमा परिचालन गरेका थिए ।
 
प्रचण्ड भदौ १२ गते तराई–मधेशको चुनावी प्रचारका लागि विराटनगर गएका थिए । त्यहाँबाट शुरु भएको उनको दुई नम्वर प्रदेशको चुनावी यात्रा भदौ गतेसम्म जारी थियो । यहीँ मधेश यात्राका क्रममा प्रचण्डले ‘मर्निङ वाक’ शुरु गरेका हुन् ।


 
प्रचण्ड पहिलो पटक धनुषामा ‘मर्निङ वाक’ मा देखिएका थिए र यो मिति थियो २०७४ भदौ १३ गते । त्यस दिन उनले सुरक्षाको खासै ध्यान नदिइ ‘मर्निङ वाक’ गर्दै रमानन्द चौकमा एउटा सामान्य पसलमा चिया खाएर सल्फी खिचाएका थिए । त्यसपछि उनी सप्तरीमा ‘मर्निङ वाक’मा देखिए ।
 
यी सवै तस्वीर तत्कालीन स्वकीय सचिव एवं प्रचण्डका पुत्र प्रकाशले सामाजिक संजालमा राखे । तुरन्तै न्यूजरुमले समाचार बनाए । प्रचण्डका ‘मर्निङ वाक’ का तस्वीर एका–एक भाइरल बने । आ–आफ्नो सुविधामा मानिसले प्रचण्डको ‘मर्निङ वाक’ ब्याख्या गर्न थाले । तर, प्रचण्ड र उनको सचिवालयले चाहिँ ‘मर्निङ वाक’ राम्रो रेस्पोन्स पायो ।


 
ठूलो दलबलसहित हिँड्ने र सकेसम्म जनतासँग केही दुरीमै बसेर संवाद गर्ने प्रचण्डको सचिवालयको नियमित व्यवस्थापन हो । अझ ‘सुरक्षा थ्रेट’ देखाएर अधिकतम् सुरक्षाकर्मीको घेरामा प्रचण्डलाई हिँडाइन्थ्यो । जनतासँग ‘वान टू वान’ करिव–करिव असम्भव हुन्थ्यो ।
 
स्थानीय तहको चुनाव अगाडि दुई नम्वर प्रदेशबाट जे जस्ता तस्वीरहरु बाहिर आएका थिए, ती हेर्दा लाग्थ्यो राई–मधेशमा प्रचण्डले चुनाव प्रचारको नयाँ शैली अपनाएका थिए । स्थानीय तहको दुई नम्वर प्रदेशको चुनावी प्रचारमा प्रचण्डले परम्परागत रुटिङ फलो गरेनन् ।
 
मधेशका जनतासँग सामान्य चियापसलमा बसेर चिया पिइरहेका हुन्थे । ठाँउ ठाँउमा सेल्फी लिनेहरुसँग पनि उभिएका हुन्थे । ‘मर्निङ वाक’ मा मधेशका बस्तीतिर पनि देखिएका थिए । चुनाव प्रचारलाई जनतासँग जोड्न खोजेका थिए ।  कतै उनी कुर्ता पाइजामामा देखिएका थिए । चियाँ पसलमा घण्टौ बसेर संवाद गरेका छन् ।


 
प्रधानमन्त्री हुँदापनि प्रचण्डले तराई–मधेशमा ध्यान दिएका थिए । राजीनामापछि पनि उनी मधेशमा सन्देश दिन तराई–काठमाडौ जोड्ने फास्टट्रयाक सडक निर्माणको शिल्यायास गर्न बारा पुगेका थिए ।
 
शिल्यान्यासपछि उनले फास्ट ट्रयाक निर्माणले तराई–मधेश र काठमाडौं बीचको दुरी र समय त घटाउने नै यसबाहेक तराई–मधेश र काठमाडौं बीचको भावनात्मक दुरी घटाउने तथा देशलाई एकतावद्ध गर्ने, राष्ट्रिय एकतालाई बलियो बनाउने र सिंगो देशलाई समृद्धिको दिशामा लैजाने विश्वास व्यक्त गरेका थिए । यो चुनावी राजनीतिकै मेसो थियो ।
 
असोज २ मा दुई नम्वर प्रदेशमा भएको चुनावमा माओवादी चौथो शक्ति भएको थियो । माओवादीका लागि यो राहत थियो कि उ एमालेभन्दा अगाडि आयो ।
पहिलो र दोस्रो तहको स्थानीय तहको चुनावमा माओवादी तेस्रो स्थानमा थियो, जहाँ प्रचण्डले माओवादी एजेन्डाको जीत भएको भन्दै चिक्त बुझाए ।
 
मधेशबाट शुरु भएको चुनाव प्रचारको नयाँ तरिकालाई प्रचण्डले अन्य जिल्लामा पनि लागु गर्न खोजे । त्यसपछि अरु जिल्लामा पनि उनी ‘मर्निङ वाक’ मा देखिन थाले । चुनावी प्रचार शैली नयाँ र विगतको भन्दा फरक ।
 
प्रचण्डले सामाजिक संजालदेखि मिडियासम्म राम्रो रेस्पोन्स पाए । त्यसपछि काठमाडौं बाहिर जाँदा उनले ‘मार्निङवाक कल्चर’ बनाए ।


 
प्रतिनीधिसभाका लागि उनी चितवन–३ बाट लडेका थिए । यहाँको चुनावी प्रचारमा पनि उनले ‘मार्निङवाक’ गरे । मंसिर १२ र १३ गते उनले चितवनमा गरेको ‘मर्निङ वाक’ चाहिँ चर्चामा थियो । प्रचण्डसँग आफन्त र छिमेकीहरुले खुवै कुरा गरेका थिए ।  
 
अरु जिल्लामा भन्दा चितवनको ‘मार्निङवाक’ चाहिँ प्रचण्डका लागि बढो सन्तोषजनक हुन्थ्यो । बाल्यकालका साथी र छिमेकीहरु भेटिन्थे । कसैलाई अंगालो मार्थे भने कसैसँग पुराना दिन सम्झेर निकै खुसी हुन्थे ।

केही घटना सम्झेर भावुक बन्थे । करिव एक घण्टाको ‘मर्निङवाक’ ले प्रचण्डलाई बढो सन्तुष्टी दिन्छ ।
 
चितवनमा उनले ‘मार्निङवाक’ मै मतदातालाई भेटे । यो चुनावमा उनीसँग छोरा प्रकाश चाहिँ थिएनन् । पुत्रवियोगका वीच उनले चुनाव लडेका थिए । प्रकाशको आकस्मिक हृदयघातका कारण मंसिर ३ गते निधन भएको थियो ।
 
छोरा गुमाएपछि प्रचण्डले काठमाडौं बाहिरका सवै कार्यक्रममा पत्नी सीतालाई लिएर जान्छन् । पुत्र वियोगको पीडाले सीता अझै तंग्रिेकी छैनन् । पति प्रचण्ड र परिवारका अन्यसदस्यसँगै ‘मर्निङ वाक’ र ‘इभिनिङ वाक’ जाँदा सीता पनि पीडालाई कम गर्ने कोशिष गर्छिन ।
 
पुस ५ गते प्रचण्ड अचानक धुलिखेल गए । त्यहाँ उनले धुलिखेलस्थित भट्टेडाँडाका शारदाप्रसाद आचार्यको स्याउ बगैँचा र फुलबारीमा केही समय विताए । पत्नी सीता पनि साथमा थिइन् ।


 
तर, काठमाडौंमा गर्दैनन् ‘मर्निङवाक’
प्रचण्ड काठमाडौं बस्दा कहिल्यै मर्निङवाक गर्दैनन् । उनी विहान साढे पाँच बजे उठ्छन र झन्डै ४० मिनेट कहिले ब्याटमिन्टन त कहिले टुवुलटेनिस खेल्छन् । काठमाडौंमा ठाँउको अभाव र भीडभाडका कारण उनलाई ‘मर्निङवाक’ जान सम्भव हुँदैन ।

प्रचण्डको सचिवालयमा बसेर काम गरेका माओवादीका अर्का एक नेता भन्छन्, ‘विहान ४० मिनेटजति खेल्नुहुन्छ । यो शरीर चुस्त राख्ने उहाँको सूत्र हो । खेल्न थालेको लामो समय भयो ।’

तर, भूमिगतकालमा पनि प्रचण्ड हिड्न मन पराउथे । पूर्वस्वकीय सचिव श्रेष्ठ भन्छन्, ‘भूगिमत कालमा पनि सम्भव भएसम्म साँझ विहान हिड्नुहुन्थ्यो । तर, सुरक्षालगायतका कारण हिड्डुल सजिलो भने थिएन ।’
 
‘मर्निक वाक’ का के फाइदा ?

विशेषज्ञहरु बिहानको हिँडाइ शरीरका लागि सबैभन्दा सहज व्यायाम मान्छन् । उनीहरुका अनुसार यसले तौल कम गर्न र तन्दुरुस्त रहन मद्दत गर्छ ।
यसबाहेक ‘मर्निक वाक’ ले तनाव, चिन्ता, भय र उदासीनता हटाएर मुड फ्रेस गराइदिन्छ । यसै गरी मुटुलाई बलियो बनाउँछ ।

यसबाहेक ‘मर्निक वाक’ ले रोगको जोखिमलाई कम गर्छ । भिटामिन ‘डी’को मात्रा बढाउँछ ।

यसै गरी ‘मर्निक वाक’ ले हानिकारक कोलेस्ट्रोल एलडिएल घटाउँछ । राम्रो कोलेस्ट्रोल एचडिएल बढाउँछ । उच्च रक्तचाप घटाउन सहयोग गर्छ । मधुमेह नियन्त्रण गर्न सहयोग गर्छ । हड्डी तथा मांसपेशी बलियो बनाउँछ । यौन क्षमतालाई तन्दुरुस्त पार्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेत्र पन्थी
नेत्र पन्थी
लेखकबाट थप