सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पुरुष फुटबलमा एनआरएनए र बागमतीको विजयी सुरुवात

बिहीबार, २७ असोज २०७९, २० : २६
बिहीबार, २७ असोज २०७९

गण्डकी प्रदेशमा भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबल खेलमा शुक्रवार गैरआवासीय नेपाली संघ (एनआरएनए) र बागमती प्रदेशले विजयी सुरुवात गरेका छन् । 

 पोखराको याम्दीस्थित गोष्तेघाट खेल मैदानमा बिहीबारदेखि सुरु भएको खेलमा एनआरएनएले प्रदेश १ लाई २–० अन्तरले पराजित गर्दा दिनको दोस्रो खेलमा बागमती प्रदेशले पनि मधेस प्रदेशमाथि समान २–० को जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेका हुन् ।

एनआरएनएको जितमा विमल घर्तीमगर र सञ्जोग राईले समान एक÷एक गोल गरे । एनआरएनमा राष्ट्रिय खेलाडी समावेश गरिएको भन्दै प्रदेश १ ले विरोध जनाएपछि केही ढिला गरी सुरु भएको खेलमा सञ्जोगले नवौँ मिनेटमा गोल गर्दै एनआरएनएको खाता खोलेका थिए । ३५ मिनेटमा खेलाइएको खेलको ४५ औँ मिनेटमा विमलले एनआरएनएका लागि दोस्रो गोल गरेका थिए ।

सुरुवातमा गोल खान पुगेको प्रदेश १ त्यसपछि दबाबमा परेको थियो । पहिलो हाफमा लिएको अग्रतासँगै उच्च मनोबलका साथ खेलेको एनआरएनएविरुद्ध दोस्रो हाफमा प्रदेश १ खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन र नतिजा सुम्पिन बाध्य बन्यो । यससँगै एनआरएनएले पुरुष फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । उता पराजित प्रदेश १ ले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

बागमतीले मधेस प्रदेशलाई २–० गोल अन्तरले पराजित गर्ने क्रममा सुनिल बल र अञ्जन विष्टले समान एक/एक गोल गरे । ७० मिनेटमा छोट्याइएको खेलमा सुनिल बलले ३९ औँ मिनेटमा पहिलो गोल गरेका थिए । यस्तै अञ्जन विष्टले ४५ औँ मिनेटमा अञ्जन विष्टले पेनाल्टीबाट टोलीका लागि दोस्रो गोल गरेका थिए ।

प्रतियोगितामा शुक्रवार पनि दुई खेल हुनेछन् । दिनको पहिलो खेल लुम्बिनी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी तथा दोस्रो खेल कर्णाली र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप