सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ट्रम्पको समाजिक सञ्जाल ‘ट्रुथ सोसल’ अब गुगल प्ले स्टोरमा पनि भेटिने

बिहीबार, २७ असोज २०७९, २१ : १७
बिहीबार, २७ असोज २०७९

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वामित्वमा रहेको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’को एपलाई ‘गुगल प्ले स्टोर’ले स्वीकृति दिएको छ । बुधबार गुगल आफैले यसको जानकारी दिएको हो । 

यस निर्णयपछि ‘ट्रूथ सोसल’ एन्ड्रोइड फोनहरूमा डाउनलोड गर्न सकिनेछ । ट्रुथ सोसलले थप मजबुत सामग्री मध्यस्थता नीतिहरू लागू गरेपछि गुगल एप स्टोरले यस्तो निर्णय लिएको हो । ​गुगलले यसअघि ‘ट्रुथ सोसल’ले हिंसा उक्साहट तथा धम्कीसम्बन्धी विषयलाई पूर्णतः सम्बोधन नगरेसम्म सो सामाजिक सञ्जालको एप उसको आधिकारिक एप स्टोरमा नदेखिने बताएको थियो । 

गुगलले उसको प्ले स्टोरमा रहेका सामाजिक सञ्जाल एपहरूले ‘आपत्तिजनक सामग्री’विरुद्ध रिपोर्ट गर्न सकिने एपभित्रै एक प्रणाली उपलब्ध गराउन पनि ट्रुथ सोसललाई भनेको थियो । विश्वका झण्डै ७५ प्रतिशत मोबाइल एन्ड्रोइड अपरेटिङ प्रणालीबाट चल्ने भएकाले गुगलको आधिकारिक एप स्टोर ‘गुगल प्ले स्टोर’मा नहुँदा ट्रुथ सोसलको विस्तारलाई असर गरिरहेको थियो । 

तथापि स्यामसङ ग्यालेक्सी स्टोरहरूमार्फत केही एन्ड्रोइड मोबाइलमा डाउनलोड गर्न सकिन्थ्यो । बुधबार गुगलका प्रवक्ताले मिडियाहरूलाई बताए अनुसार अहिले ट्रुथ सोसलले हिंसा मत्थर बनाउने र आपत्तिजनक सामाग्रीहरूबारे रिपोर्ट गर्न भित्री प्रणालीको मापदण्ड पुरा गरेको बताएका छन् । 

‘हाम्रो प्रयोगकर्ता निर्देशिकाहरू पालना भएकाले एप अब गुगल प्ले स्टोरमा उपलब्ध हुनेछ ,’ गुगलका प्रवक्ताले भने ।​ ट्रुथ सोसलको नीति अनुसार अब जुन पोस्टहरूले हिंसाको लागि आह्वान गर्छन्, या त ती सामाग्री हटाइनेछ या त्यस्तो सामाग्री पोष्ट गर्नेको एकाउन्ट हटाइनेछ । 

सन् २०२१ जनवरी ६ मा अमेरिकाको संसद्‍मा भएको दङ्गापछि त्यसमा ट्रम्पको उक्साहटलाई जिम्मेवार देखाउँदै ट्वीटर, फेसबुक र युट्युबले उनलाई प्रतिबन्ध लगाए ।  सबै प्रमुख प्ल्याटफर्मको पहुँच गुमेको एक वर्षपछि ट्रम्पले सामाजिक सञ्जालमा उपस्थिति जनाउन उनको आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ खोलेका थिए । 

ट्रम्पले उनले खोल्ने सामाजिक सञ्जालमा कुनै ‘सेन्सरसिप नहुने’ बताएका थिए । त्यही कुरालाई मध्यनजर गर्दै एपले भड्काउपूर्ण सामाग्री नियन्त्रणसम्बन्धी नीतिहरू अङ्गीकार गरेको थिएन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप