सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कास्कीमा २ बागी, गठबन्धनलाई भारी

शुक्रबार, २८ असोज २०७९, ०७ : ३०
शुक्रबार, २८ असोज २०७९

कास्कीमा प्रतिनिधिसभा तर्फ ३ निर्वाचन क्षेत्र छन् । तीन निर्वाचन क्षेत्रका लागि ४८ जनाको उम्मेदवारी दर्ता भएको छ । यसमध्ये २ जनाले आफ्नौ पार्टी उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएका छन् । जसले आफ्नै पार्टी उम्मेदवारलाई चुनौती थपिएको छ । कास्की क्षेत्र नम्बर २ र ३ मा सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको हो ।

कास्की क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका श्रीनाथ बरालले चुनावी मैदानमा छन् । बरालविरुद्ध कांग्रेसका पुराना नेता महादेव गुरुङले उम्मेदवारी दिएका छन् । उनले आफूलाई प्रधानमन्त्री शेरबहादुर देउवाको फोन आउँदा समेत ब्याक नभएको बताए । ‘उम्मेदवारी फिर्ता लिएर गठबन्धनका उम्मेदवारलाई सघाउन प्रधानमन्त्री ज्यूको फोन आएको थियो । मैले उहाँलाई उम्मेदवारी फिर्ता नलिने जवाफ दिएँ,’ महादेवले भने । आफ्नो उम्मेदवारी कसैलाई हराउन र जिताउन नभएको महादेवको दाबी छ । 

उनले आफू चुनाव जित्न उम्मेदवारी दिएकाले पछि नहट्ने बताए । ‘मैले राजनीति गरेको ५२ वर्ष भयो । हिजोसम्म इमान्दार कार्याकर्ताको भूमिका निभाए । आजसम्म अवसर पाइनँ,’ उनले भने, ‘टिकट वितरणमा यो गठबन्धले गर्दा झनै अन्याय भयो । यसपछि मैले उम्मेदवार दिएर चुनाव लड्ने निधो लिएको हुँ ।’ गुरुङले अब चुनाव केन्द्रित अभियानमा लाग्ने बताए । ‘यहाँ पैसा र पावर भएकाले मात्र टिकट पाउने प्रचलन हावी भयो । हामी जस्तो सोझो बाटो अपनाएर राजनीति गर्नेहरु सधैं पछिको पछि पर्यौं,’ उनले भने, ‘सोझा र पैसा नभएकाले पनि चुनाव लड्न सक्छन् भनेर मैले विद्रोह गरेको हुँ ।’  चुनाव लड्ने आफूले चन्दा संकलन गर्ने उनको भनाइ छ । ‘मसँग चुनाव लड्ने पैसा छैन । बुधबार नयाँ बैंक खाता खोलेको छु । सबैले १० रुपैयाँसँगै मत दिएर मलाई जिताउनुहुन्छ भन्ने आशा छ,’ उनले भने ।  

गठबन्धनकै उम्मेदवार माओवादी केन्द्रका रामजीप्रसाद बरालविरुद्ध पनि बागी उम्मेदवारी परेको छ । कास्की क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रको तर्फबाट बराले चुनावी मैदानमा छन् । बरालविरुद्ध माओवादीकी अनिता भुर्तेलले उम्मेदवारी दिएकी हुन् । आफूले स्वतन्त्र भएर उम्मेदवारी दर्ता गरेकाले पछि नहट्ने उनले बताइन् । ‘अब म स्वतन्त्र उम्मेदवारी दिएको हुँ । मेरो उम्मेदवारी कुनै नेत विरुद्ध होइन् । कसैलाई हराउने भन्दापछि मैले जित्न चुनाव लड्ने निधो लिएको हुँ,’ उनले भनिन् । उम्मेदवारी दर्ता गर्दै उनले सहिद परिवारको अपमान भएकाले आफूले उम्मेदवारी बताएकी थिइन् । चुनाव जितेर सहिद परिवारको याद पुनः नेतृत्वलाई दिलाउने उनको दाबी छ । 

नेकपा माओवादी केन्द्रका तत्कालीन कास्की इन्चार्ज राजविक्रम भुर्तेल र उनकी श्रीमतीलाई २०६१ मा तत्कालीन शाही नेपाली सेनाले हत्या गरेको थियो । जनयुद्धमा आफ्ना बुबाआमा गुमाए पनि पार्टी नेतृत्वले उपेक्षा गरेको उनको तर्क छ । तर, अनिताले अन्तिमसम्म पार्टी नेतृत्वलाई सघाउने माओवादी नेताहरुको विश्वास छ । 

क्षेत्र  नम्बर ३ मै एमाले उम्मेदवार दामोदर पौडेल बैरागीविरुद्ध बागी दिएका नेता जगन्नाथ बास्तोलाले बुधबार उम्मेदवारी फिर्ता लिएका छन् । एमाले पार्टी अध्यक्ष केपी ओलीको फोन  संवादपछि पौडेलले उम्मेदवारी फिर्ता लिएका हुन् । ‘अध्यक्ष कमरेडले फोन गर्नुभयो । आगामी दिनमा पार्टीमा उचित जिम्मेवार दिने बताएपछि उम्मेदवारी फिर्ता लिएको हुँ,’ पौडेलले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप