सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

महोत्तरीमा पनि लोसपा र गठबन्धनबीच विवाद

शुक्रबार, २८ असोज २०७९, ०७ : ४६
शुक्रबार, २८ असोज २०७९

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको उम्मेदवार र सत्ता गठबन्धनको उम्मेदवारबीच महोत्तरीमा पनि विवाद उत्पन्न भएको छ । 

सर्लाही २ नम्बर क्षेत्रको जस्तै महोत्तरी २ मा पनि विवाद उत्पन्न भएको छ । नेकपा एकीकृत समाजवादी पार्टीकी मञ्जु यादव र लोकतान्त्रिक समाजवादी पार्टीका जयनुल राइनबीच गठबन्धनको आधारिक उम्मेदवारको विषयमा विवाद सुरु भएको छ । 

दुवैजनाले आआफ्नो पार्टीबाट महोत्तरी २ (क) मा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । र, दुवैजनाले गठबन्धनको आधिकारिक उम्मेदवार रहेको दाबी गरेका छन् । सत्ता गठबन्धन दलको नेतृत्व गरेका कांग्रेससँग लोसपाले गरेको सहमति अनुसार महोत्तरी २ (क) मा लोसपाले उम्मेदार दिनेछ । 

तर सत्ता गठबन्धनमा रहेका चार दलबीच भएका सहमतिमा महोत्तरी २ (क) मा नेकपा एकीकृत समाजवादी पार्टीले उम्मेदवारी दिइने उल्लेख छ । यी दुई सहमतिका कारण दुवै पार्टीले आआफ्नो उम्मेदवारी दिएर गठबन्धनको आधिकारिक उम्मेदवार भन्दै प्रचार प्रसारमा लागेका छन् । 

सर्लाहीको विषयमा गठबन्धनले हिजो विज्ञप्ति जारी गरेर प्रष्ट पारेपनि महोत्तरी २ को बारेमा केही बोलेको छैन । तर लोसपाले आज विज्ञप्ति जारी गरेर महोत्तरी २ (क) आफूहरुको भागमा परेको दावी प्रष्ट पारेको छ । 

लोसपाबाट उम्मेदवार बनेका जयनुल राइनले यो विवाद चार दलीय सत्ता गठबन्धनले गराएको दाबी गरे । उनले भने, ‘हामीसँग एउटा सहमति गर्ने र गठबन्धनभित्र अर्को सहमति गर्ने, यही दोहोरो तेहरो सहमतिका कारण यो विवाद उत्पन्न भएको हो ।’

चार दलीय सत्ता गठबन्धनमा रहेका दलबीच सहमति हुँदा महोत्तरी २ (क) नेकपा (एस) को भागमा परेको छ, त्यसपछि आफूहरुको दल लोसपासँग सहमति गर्दा त्यो क्षेत्र आफूहरुको भागमा परेको उनले बताए । यो विवाद शीर्ष नेताहरुले नै मिलाउने उनले बताए । 

महोत्तरी २ का प्रतिनिधिसभातर्फ गठबन्धनका साझा उम्मेदवार शरतसिंह भण्डारी र सोही क्षेत्रका (क) मा आफू र (ख) मा काँग्रेसका नागेश्वर यादव रहेको र सोही अनुसार पोस्टरहरु बनाएर प्रचार प्रचारमा लागि सकेको उनले बताए । 

यता नेकपा एकीकृत समाजवादी पार्टीबाट उम्मेदवार बनेकी मञ्जु यादव भन्छिन्, ‘गठबन्धनको आधिकारिक भन्दै पार्टीले मलाई उम्मेदवारी दर्ता गराउन भनेको आधार नै मैले उम्मेदवारी दिएको हुँ ।’ कुन दलसँग कुन दलले के सहमति गरे त्यो आफ्नो जानकारीमा नरहेको बताउँदै उनले आफूले गठबन्धनको निर्णयलाई आधिकारीक मानेको र सोही अनुसार आफूले उम्मेदवारी दिएको बताइन् । 

जयनुल राइन यसअघि सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा चुनाव जितेका थिए भने मञ्जु सोही क्षेत्रबाट प्रदेशसभाका समानुपातिक सांसद थिइन् । दुवैजना आआफ्नो अडानमा कायम छन् । दुवैजनामध्ये कसैले पनि उम्मेदवारी फिर्ता लिने पक्षमा छैनन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप