मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भारती खरेल स्मृति पुरस्कारबाट ३ जना सम्मानित हुँदै

शुक्रबार, २८ असोज २०७९, १८ : २४
शुक्रबार, २८ असोज २०७९

कोभिड–१९ का कारण ३ वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार यो वर्ष वितरण गरिने भएको छ । वि.सं. २०७७ सालदेखि स्थगित भएको पुरस्कार यस वर्ष आगामी मंसिरमा ३ जना स्रष्टा र समाजसेवीलाई प्रदान गरिने भएको हो । 

वरिष्ठ गीतकार किरण खरेल, माइती नेपालका संस्थापक अनुराधा कोइराला र वरिष्ठ समालोचक वासुदेव त्रिपाठीलाई उक्त पुरस्कारबाट सम्मानित गरिने भएको छ । क्रमशः वि.स. २०७७ बाट खरेल २०७८ बाट कोइराला र २०७९ सालको पुरस्कार त्रिपाठीलाई प्रदान गर्न लागिएको भारती खरेल प्रतिष्ठानका सदस्य सचिव प्रयागराज भट्टराई वाशिष्ठले जानकारी दिए । 

भारती खरेल पुरस्कारको राशि ५१ हजार रुपैयाँ रहेको छ भने सम्मानित व्यक्तिलाई सम्मानपत्रसहित नगद प्रदान गरिने छ । भक्तिमती एवं विशिष्ठ साहित्य साधिका स्व. भारती खरेलको ८५ औं जयन्तीका अवसरमा यो पुरस्कार वितरण गर्न लागिएको सचिव वाशिष्ठले जानकारी दिए ।   

भक्तिमती एवं विशीष्ठ साहित्य साधिका स्व. भारती खरेलको स्मृतिमा वरिष्ठ समाजसेवी चन्द्रिकानन्द खरेल (पति) , वरिष्ठ गायक दीपक खरेल (छोरा) लगायतले स्थापना गरेको प्रतिष्ठानले हरेक वर्ष मंसिर १६ गते यस्तो समारोह गर्दै आएको छ । यो प्रतिष्ठान वि.सं. २०४९ सालमा स्थापना भएको हो । 

प्रतिष्ठानले साहित्य साधिका तथा भक्तिमती भारती खरेलको जन्म जयन्तीको अवसरमा साहित्य, समाजसेवा, भक्ति लगायत विभिन्न क्षेत्रमा आवद्ध विशिष्ठ व्यक्ति एवं संस्थालाई पुरस्कृत गर्दै आएको छ । २०४९ सालमा भारती खरेल प्रतिष्ठान स्थापना भएदेखि प्रदान गर्न सुरु गरिएको यस पुरस्कार स्वामी प्रपन्नाचार्य, दयारवीर सिंह कंसकार, भीमबहादुर अधिकारी, साहित्यकार एवं समाजसेवी भद्रकुमारी घलेलगायत व्यक्ति र स्वर्गद्वारी आश्रम, जाउलाखेल सत्संग परिवार, अद्वैत संस्था, महेश गुरुकुल सन्याश्रम लगायत संस्थाहरुलाई समेत प्रदान गरिसकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप