आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

झुपडीमा पुगेर विनोद चौधरीको कविता :  पिएको पानीको मूल्य चुकाउनु छ !

सोमबार, ३१ असोज २०७९, १० : ०८
सोमबार, ३१ असोज २०७९

काठमाडौँ । अर्बपति व्यवसायी तथा सत्ता गठबन्धनका तर्फबाट नवलपरासी पश्चिम–१ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका विनोद चौधरी यतिबेला चुनावी प्रचारप्रसारमा व्यस्त छन् । उनले श्रमजीवीको झुपडीमा पुगेको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । 

यसअघि प्राय टाइसुटमा सजिएर चिल्ला गाडीमा देखिने चौधरीले पोष्ट गरेको पछिल्लो तस्बिरमा चौधरीका नजिक ५ जना सर्वसाधारण देखिन्छन् । काठले बनेको सानो झुपडीको छेवैमा बसेर उनले सर्वसाधारणसँग कुरा गरिरहेको तस्बिरले देखाउँछ । उक्त तस्बिरसँगै चौधरीले कवितात्मक शैलीमा मेहनत र लगनशीलता र परिश्रमले आफ्नो उद्देश्य र लक्ष्य प्राप्त गर्न सफल भएको भन्दै सबै जनतालाई आफूजस्तै अर्बपति बनाउने आफ्नो लक्ष्य रहेको बताएका छन् । साथै उनले जनताको सुखदुखमा हातेमालो गर्दै, भोलि उदाउने घामका नौला किरण धर्तीमा ठोकिनु अघि नै देशको मुहार फेर्नु आफ्नो जिम्मेवारी रहेको जनाएका छन् । 

यस्तो छ चौधरीको कविता 

जिन्दगीको..

कालखण्डमा मैले देखेका भोगेका र हासिल गरेका

उपलब्धिहरू सजिला थिएनन् !

दिन रातको मेहनत , लगनशीलता र परिश्रमले गर्दा नै आफ्नो उद्देश्य र लक्ष्य प्राप्त गरे !

जुन देशको पानी पिएँ

जुन देशको माटोमा टेकेर म उभिएँ 

जुन देशको शीतल हावा पिएर म बाचेँ 

आज म त्यहीँ देशको ऋणी बन्न पुगेको छु,

पिएको पानीको मूल्य चुकाउनु छ !

टेकेको माटोमा समृद्धिको मूल फुटाउनु छ!

विकास र समृद्धिको बतास देश भर बहाउनु छ,

आज म जुन धरातलमा उभिएको छु

उहीँ धरातलमा आफ्ना जनतालाई सँगै उभाउनु छ !

जनताको सुख दुखमा हातेमालो गर्दै 

भोलि उदाउने घामका नौला किरण धर्तीमा

ठोकिनु अघि नै देशको मुहार फेर्नु छ !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप