सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘कहिले तपाईंले नमस्ते गर्ने कहिले मैले, यही लोकतान्त्रिक प्रक्रिया हो’

सोमबार, ३१ असोज २०७९, १० : २५
सोमबार, ३१ असोज २०७९

म वास्तवमा व्यापारी हुँ, व्यापारमा अपार सफलतापछि अहिले म राजनीतिमा आउँदैछु । हुन त, व्यापार छद्म रुपमा राजनीति नै हो । यो देशको राजनीति नबुझी र राजनीतिको मुख अलिकति नबुजी व्यापारमा सफलता हासिल गर्न मुस्किलै पर्छ ।  

मानिसहरू भन्छन्, व्यापारीहरू फाइदा मात्रै हेर्छन् । मान्छेहरू के कुरा गरेका होलान् ! जोगी हुन कसैले व्यापार गर्दैन, न राजनीति नै गर्छ । हिजो ‘वस्तु’ बेचेर नाफा खाएँ र खाइरहेछु, अब ‘विचार’ बेचेर नाफा कमाउँछु । नाफा सधैँ पैसाको मात्रै हुँदैन, सत्ता र शक्तिमा पनि नाफा र घाटा हुन्छ । कुरा स्पष्ट छ– पदमा पुगे शक्ति बढ्यो नाफा भयो, पद खुस्के शक्ति घट्यो घाटा भयो । 

अँ, मसँग यो देशका सबै नागरिकलाई दुई छाक आरामले खान दिने ‘विचार’ छ । यसका लागि लगानी गर्न सक्ने केही मानिस व्यापारी–व्यवसायी हुनुपर्छ, उनीहरूले अन्य मानिसका लागि रोजगारी सिर्जना गर्नुपर्छ, अनि उनीहरू नै संसद् र सरकारमा पुगेर नियम–कानुन, नीति कार्यक्रम बनाउन पाउनुपर्छ । हेर्नुस्, यो देश व्यापारीले चलायो भने आफ्ना वस्तु बेचेर नाफा त खान्छ, तर भ्रष्टाचार गर्दैन । हो, नाफा खानका लागि वस्तुको उत्पादन गर्दा नै केही तल–माथि गर्नुपर्ला । भोलि यहाँहरू व्यापारी–व्यवसायी भइहाले गर्ने यही हो । अहिले मलाई निर्धक्क यस्तै काम गर्न दिन तपाईंहरूले भोट दिएर जिताउनुस् । अहिले म यहाँहरूलाई नमस्ते गर्दै भोट माग्न आएको छु । हिजो तपाईंहरू जागिर माग्न, ऋण माग्न नमस्ते गर्दै मकहाँ आउनुहुन्थ्यो । भोलि पनि तपाईंहरू उसरी नै नमस्ते गर्दैै मकहाँ आउनैपर्छ, यो सामान्य प्रक्रिया हो । कहिले तपाईंले नमस्ते गर्ने, कहिले मैले– यही नै लोकतान्त्रिक प्रक्रिया हो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप