मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

निरोलाको ‘एटलान्टिकदेखि प्रशान्त महासागरसम्म’ विमोचन

मङ्गलबार, ०१ कात्तिक २०७९, १३ : २०
मङ्गलबार, ०१ कात्तिक २०७९

नियात्राकार शरद निरोलाको एटलान्टिकदेखि प्रशान्त महासागरसम्म कृतिको विमोचन गरिएको छ । नियात्रा समाजका अध्यक्ष प्रतीक ढकालको अध्यक्षतामा निम्तो रेस्टुरेन्ट, अनामनगरमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष प्रतीक ढकाल, वरिष्ठ साहित्यकारहरू मञ्जु निरौला, इल्या भट्टराई, राधेश्याम लेकाली, श्रीओम श्रेष्ठ रोदन, पवन आलोक, रामप्रसाद पन्त, प्रभा बराललगायतले सो कृतिको संयुक्त रूपमा विमोचन गरेका थिए ।    
कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष राधेश्याम लेकालीले अमेरिकामा बसेर त्यहाँको जनजीवनमा भिजेर आफ्ना अनुभवहरुलाई लेखक निरोलाले यस कृतिमा उतारेको बताए । 

यसैगरी नियात्राकार श्रीओम श्रेष्ठ रोदनले लेखक शरद निरोला नेपालमा रहँदा जासुसी उपन्यास सुलसुले लेखेर चर्चा कामाएको बताए । तर पत्रकारिता र प्राध्यापन पेसामा अनुभव बटुलेर अमेरिका पुगेपछि कविका रूपमा उदाएको उनले चर्चा गरे । उनले भने, “अमेरिकाको संस्कृति, त्यहाँको परम्परा, त्यहाँको जीवनशैलीलाई मिहीन रूपमा यस कृतिमा उतारिएको छ ।” यस कृतिले शरद निरोलालाई नियात्राकारको रुपमा परिचित मात्र होइन स्थापित गरेको समेत रोदनले बताए ।  

नियात्राकार युवराज नयाँघरेले भ्रमणमा गएका, नातिनातिना हेर्न छोराछोरीले बोलाएकाहरू लेखेको नियात्राभन्दा यसरी त्यहाँको जीवनमा भिजेर आफ्ना अनुभवमार्फत जीवन्त नियात्रा सिर्जना गर्न लेखक सफल भएको बताए ।  उनले भने, “भ्रमणमा जानेहरूले त्यहाँको भौतिक विकास र प्रशासनिक व्यवस्थापनका बारेमा मात्र ज्ञान हासिल गर्ने भएकाले त्यहाँको जनजीवन आउँदैन, अनुभव आउँदैन ।” युरोप र अमेरिका भ्रमण गरेर आफूले लेखेका कृतिमा पनि भौतिक कुरा नै बढी लेखिएको र यस एटलान्टिकदेखि प्रशान्त महासागरसम्म कृतिमा सङ्कलित नियात्राहरुले त्यहाँको समाजसँगको अनुभूति लेखक निरोलाले उतारेको उनले बताए । 

प्रमुख वक्ताका रूपमा आमन्त्रित साहित्यकार इल्या भट्टराईले लेखक शरद निरोलाको लेखनशैली र भाषाशैलीको तारिफ गरिन् । खासगरी लेखक तारानाथ शर्माको झर्रो नेपालीबाट लेखक प्रभावित भएको र त्यो उनले अमेरिका गएर पनि नभुलेको बताइन् । उनले भनिन्, “अमेरिका भ्रमण गरेर धेरैले नियात्रा लेखेका छन्, तर आफ्ना अनुभूतिलाई निकै आकर्षक शैलीमा लेखिएको छ । यसले हरेक व्यक्तिका अनुभूति फरक फरक हुने भएकाले यो कृति अध्ययनमा गर्दा घुमेकै ठाउँको पनि फरक अनुभूति आउने रहेछ ।” लेखक निरोलाको पहिलो पाठक भएर त्यसको सम्पादन र प्रकाशन जस्तो गहन जिम्मावारी पूरा गरी नेपाल आएर त्यसको विमोचन गराउने मञ्जु निरौला जस्तो श्रीमती पाउनु पनि लेखको भाग्य भएको उनले बताइन् । 

यसैरी लेखककी श्रीमती साहित्यकार मञ्जु निरौलाले लेखक शरद निरोला र आफूलाई अमेरिकामा रहँदा कवि वसन्त श्रेष्ठले साहित्यमा पुनः प्रेरित गरेका र त्यहीँबाट नै आफूहरूको साहित्यिक पुनर्जागरण सुरु भएको बताइन् । कार्यक्रमा पवन आलोक, रामप्रसाद पन्तलगायतले आआफ्नो धारणा व्यक्त गरेका थिए । 

साहित्यकार प्रभा बरालले सञ्चालन गरेको सो कार्यक्रममा साहित्यकारहरु गीता रेग्मी, मोहन चापागाईं, तेजप्रकाश श्रेष्ठ, सुशीला देउजा, चन्द्राकान्ता आचार्य, ध्रुव मधिकर्मी, भागीरथी श्रेष्ठ, किशोर पहाडी, रमेश दाहाल, खेमनाथ दाहाल, अश्विनी कोइराला, प्रमोद प्रधान, जलेश्वरी श्रेष्ठ, बिक्रमभक्त जोशी डिल्लीरमण सुवेदी, राजेश खनाल, श्रीराम राईलगायतको उपस्थिति थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप