सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाली मूलकी परिजिता ‘द भोइस’ को ब्याटल राउन्डबाट नकआउटमा छानिइन्

बुधबार, ०२ कात्तिक २०७९, १२ : ५८
बुधबार, ०२ कात्तिक २०७९

अमेरिकन रियालिटी टेलिभिजन सिरिज द भोइसको ब्याटल राउन्डमा नेपाली मूलकी परिजिता बाँस्तोलाले जित हासिल गरेकी छिन् । यससँगै उनी द भोइसको नकआउटमा प्रवेश गरेकी छिन् ।

नेपाली समय अनुसार बुधबार बिहान भएको प्रतिस्पर्धामा उनले ‘हाउ डिप इज योर लभ’ मा आफ्नो प्रस्तुती दिएकी थिइन् । यसमा उनले दुई प्रतिस्पर्धी केसी र लिन्जीलाई हराएकी छिन् । यो दुईको जोडीलाई मेरिलियन्ड्स भनिएको छ ।

कोच जोन लिजेन्डको समूहबाट उनीहरुबीच प्रतिस्पर्धा भएको थियो ।

प्रस्तुती पछि परिजिताका लागि टिप्पणी दिँदै कोच ब्लेक सेल्टनले भने, ‘परिजिता १७ वर्षकी हुन् । तिम्रो भोइस यति युनिक र असाध्यै पावरफुल छ । परिजिता यहाँ यत्तिको आत्मविश्वासी भएर आएको नै मलाई मनपर्यो । मलाई तिम्रो प्रस्तुती र भोइस दुबै असाध्यै मनपर्यो  । यदि मैले छान्नुपर्यो भने मैले परिजितालाई नै छान्नेछु । ’

अर्की कोच क्यामिला क्याबेलोले पनि परिजिताको स्वरको असाध्यै तारिफ गरिन् । उनले भनिन्, ‘तिमी यो उमेरमा नै आफ्नो स्वरको मास्टर भइसकेकी छौ । तिमीले निकै सहज तरिकाले गाएको जस्तो सुनिन्छ । तिम्रो स्वर असाध्यै राम्रो छ । ’

यस्तै अर्की कोच ग्वेन स्टेफनीले परिजिताले प्रस्तुती दिइरहँदा उनको व्यक्तित्व पनि बाहिर आइरहेको जुन असाध्यै राम्रो भएको बताइन् । उनले भनिन्, ‘तिम्रो स्वर निकै युनिक पनि छ । यसले मलाई ७० को दशकको सिङ्गर–सङ राइटरको याद दिलाइरहेको थियो । मलाई असाध्यै मनपर्यो । ’

यस्तै अन्तिममा उनका आफ्नै कोच जोन लजेन्डले थपे, ‘परिजिता तिमी को हौ, त्यसमा तिमी राम्रोसँग कनेक्टेड भएको जस्तो देखिन्छ । यो उमेरमा तिम्रो यो परिपक्वता निकै अद्भूत छ ।  तिम्रो स्वर असाध्यै  मिठो छ । तिम्रो स्वर आकर्षित गर्ने खालको छ ।’

त्यसपछि उद्घोषकले ‘जोन, यो ब्याटलको बिजेता को हो त ? ’ भनेर सोधे । यसको जवाफमा उनले भने, ‘यो ब्याटलकी बिजेता हुन् परिजिता ।’

त्यसपछि सबैले उनलाई भने, ‘परिजिता तिमी नकआटमा पुग्यौ । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप